युरोपको सबैभन्दा अग्लो हिमाल ११७ पटक चढ्ने नेपाली को होला ?

Advertisement

काठमाडौं । रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) पाँच–दश पटक होइन्, ११७ पटक सफलतापूर्वक आरोहण गर्नेको नाम कमै चर्चामा छ । उनी हुन् चतुर तामाङ । 

पर्वतारोही तथा माउन्टेन गाइड तामाङले अहिलेसम्म ११७ पटक एल्ब्रस हिमाल चढिसकेका छन् । यति धेरै हिमाल चढ्ने नेपाली कमै होलान् । उनले गएको शनिबार दिउँसो ३ बजेर १५ मिनेटमा एल्ब्रस हिमालको ११७ औं आरोहण गरेका थिए । 

Advertisement

उनीसँगै विश्व कीर्तिमानको लक्ष्यसहित निस्किएका एकै परिवारका तीन नेपाली दिदीबहिनी पनि एल्ब्रस हिमाल चढेका थिए । 

सोलुखुम्बु मापिया दुधखोसी गाउँपालिका जन्मेका चतुर तामाङको बाल्यकाल घाँसदाउरामै बित्यो । सामान्य परिवारमा जन्मिएका उनले एसएलसीसम्मको अध्ययन गाउँमै पूरा गरे । त्यसपछिको पढाइका लागि तामाङलाई आर्थिक अभाव भयो । 

काम खोज्दै काठमाडौं आएका उनले सुरुमा पर्वतारोहणमा जानेहरुको भारी बोक्ने काम गरे । भारी बोक्दै बिस्तारै पर्वतारोहण यात्रामा तामाङले अरु कामहरु पनि सिक्दै गए । उनले सन् १९९५ बाट पर्वतारोहणको यात्रा सुरु गरेका थिए । २००२ देखि युरोपमा पर्ने रुसतर्फ बस्दै आएका तामाङ एल्ब्रस हिमाल दुई सय पटक आरोहण गर्ने योजनामा छन् । 

उनले भने, ‘यो हिमाल आरोहण गर्न गाह्रो नै छ ।’ एल्ब्रसमा आफूले जस्तो अहिलेसम्म कसैले रेकर्ड नबनाएको बताउँदै तामाङ आफूले सुरुदेखि कै आरोहणको रेकर्ड राखेको बताए । विश्व कीर्तिमान बनाउने योजना पनि उनले सुनाए । 

नेपालमा पनि आउने मन रहेको उनले बताए । तामाङले बरुनचे, आइलन पिकहरु, चो ओयु लगायतका आठ हजार मिटर अग्ला हिमालहरु एक–दुई पटक आरोहण गरेको स्मरण गरे ।  

उनले भने, ‘मैले रसियाबाट एक–दुई जना क्लाइन्ट लिएर नेपालमा आउँदा नेपाली दाजुभाईलाई रोजगारी पनि हुन्छ । मलाई हिमाल चढ्ने अवसर पनि मिल्छ । नेपाल आउन पनि पाइयो । सरकारलाई पनि रोयल्टी हुन्छ । मैले रसियाबाट सिर्जनमा विभिन्न हिमाल आरोहणको लागि क्लाइन्ट ल्याउने पनि गरेको छु ।’

हालसम्म तामाङले सगरमाथा ५ पटक, ल्होत्से २ पटक, कञ्चनजंघा, चोयु, मनास्लु ७–७ पटक, अमादब्लम ३ पटक, बरुन्ट्से १ पटक, आइसल्यान्ड पिक १६ पटक, मेरा पिक १७ पटक आरोहण गरेका छन् । उनले २००१ देखि २००२ सम्म दार्जेलिङमा आधारभूत र माउन्टेरिङ कोर्स पनि गरेको सुनाए । साथै, तामाङको आफ्नै चतुर्स ट्रेक एण्ड एक्स्पिडिसन कम्पनी पनि छ । उक्त कम्पनीमा १२ जना कामदारहरु रहेका छन् । नेपालमा वार्षिक सरदर ५० जना पर्यटक उक्त कम्पनीमार्फत नेपाल आउने गरेको उनले बताए । 

Advertisement

Advertisement