प्राधिकरणको नेपाल रिलाई जवाफ- 'बिना कारण किन रिसाएको ? निर्देशन नमाने कारवाही गर्छौं'

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)ले कुनै पनि हालतमा कोरोना बीमाको बाँकी भुक्तानी दिनुपर्ने प्रतिक्रिया दिएको छ । 

नेपाल पुनर्बीमाले आफूहरुले दिनुपर्ने एक अर्ब रुपियाँ भुक्तानी दिइसकेकाले अब दिन नसक्ने स्पष्ट पारेको भोलिपल्ट प्राधिकरणले थप रकम दिनैपर्ने बताएको हो । 

Advertisement

कुनै पनि कम्पनीले आफ्नो निर्देशन नमाने कारवाही गर्नसक्ने अधिकार आफूमा सुरक्षित रहेको भन्दै प्राधिकरणले नेपाल पुनर्बीमालाई चेतावनी पनि दिएको छ । कम्पनीले आफूहरुको निर्देशन नमान्नु गैरकानुनी भएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । 

उनले नेपाल पुनर्बीमा बिना कारण रिसाएको भन्दैभने, ‘नेपाल पुनर्बीमा कम्पनी किन रिसाएको हो ? हामीलाई जानकारी छैन् । समाचारमा नेपाल पुनर्बीमाले कोरोना बीमाको पैसा तिर्दिन भन्ने कुरा सुन्यौं । पुनर्बीमाले आफ्नो खुशीले मन लागे पैसा तिर्ने, नलागे नतिर्ने कुरा मान्य हुँदैन । पुनर्बीमाले त्यस्तो बाटो अपनाउँछ भने हामीले पनि ऐन अनुसार कारबाही गर्नुपर्छ ।’

बिहीबार नेपाल पुनर्बीमाका सीईओ शंकर रायमाझीले आफूहरुले तिर्नुपर्ने रकम भुक्तानी दिइसकेको र सो कुरा सञ्चालक समितिबाट समेत स्वीकृत भई प्राधिकरणलाई जानकारी दिइएको बताउँदै तर अहिले थप रकम चाहिन्छ भनेर पेल्ने काम गरेको गुनासो गरेका थिए । 

यता पौडेलले नेपाल पुनर्बीमाले आफ्नो जिम्मेवारी पूरा नगरेको जिकिर गरे । उनले भने, ‘यसरी नियामक निकायको विरुद्धमा जान उसले मिल्दैन् । पुनर्बीमाका लागि एक अर्ब नभई दुई अर्ब रुपियाँसम्म कोरोना बीमाको रकम तिर्नु पर्छ उसले । त्यति हामीले उसलाई छुट्टाएको हो । त्यति बेला नेपाल पुनर्बीमाले पनि स्वीकार गरेको हो । तर अहिले आएर आफ्नो निर्णय परिवर्तन गरेको सुन्दा आश्चर्य लाग्यो । यस्तो अवस्थामा नियामकले कानुनका दफा पल्टाउन बाध्य हुन्छ ।’ 

प्राधिकरणले पेल्यो भन्ने नेपाल पुनर्बीमाको आरोपमा सत्यता नरहेको पौडेलले बताए । उनले भने, ‘हामीले त कुनै पनि बीमा कम्पनीलाई बजार सुहाउने हिसाबले काम गराउने हो । नेपालमा हामीले कुनै पनि कम्पनीहरुलाई पेल्ने काम गरेको छैन् । तर जनु किसिमले नेपाल पुनर्बीमाका सीईओले प्राधिकरण विरुद्ध बोल्नु भएको छ, त्यो एउटा नचाहिने आरोप मात्र हो ।’ 

आफूहरुले जहिले पनि नेपाल पुनर्बीमालाई समस्या के के छन् ? लिएर आउनु भन्ने गरेको उनले बताए । पौडेलले नेपाल पुनर्बीमालाई अहिले पनि कुनै समस्या भए सहयोग गर्न तयार रहेको बताए । तर, कम्पनीका समस्या वास्तविक हुनुपर्ने उनको भनाई छ । प्राधिकरणको निर्देशन नमाने नयाँ बीमा ऐनले नेपाल पुनर्बीमालाई अप्ठ्यारो पर्ने पौडेलको चेतावनी थियो । 

Advertisement

Advertisement