सामाजिक सुरक्षा कोषमा रोजगारदाता र योगदानकर्ता बढ्दै, तर दावी भुक्तानीमा कन्जुस्याइँ

Advertisement

काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म १७ हजार ४८३ जना सूचीकृत रोजगारदाता पुगेका छन् सूचीकृत योगदानकर्ता तीन लाख ७३ हजार १११ पुगेको छ । हालसम्म कोषमा कुल योगदान भएको रकम २५ अर्ब ५७ करोड रुपियाँ पुगेको छ । अहिलेसम्मको कुल दाबी भुक्तानी दुई अर्ब ५७ करोड रुपियाँ रहेको कोषले जानकारी दिएको छ । 

जसअन्तर्गत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम ३० करोड ३२ लाख रुपियाँ, दुर्घटना तथा अशक्तता सुरक्षा दावी रकम तीन करोड ३८ लाख रुपियाँ, आश्रित परिवार सुरक्षा दावी रकम चार करोड ७७ लाख रुपियाँ, अवकाश दावी रकम दुई अर्ब १८ करोड रुपियाँ रहेको छ । 

Advertisement

कोषमा आवद्ध हुने रोजगारदाता र योगदानकर्ताको संख्या बढ्दै गए पनि कोषले सरकारी अस्पतालमै गरेको उपचारको पैसामा समेत ठगी गर्ने गरेको, योगदानकर्ताको आश्रित परिवार सबैलाई सुविधा दिन आनाकानी गरेको भन्दै आलोचना हुने गरेको छ । निजी अस्पतालमा उपचार दर्ताको बिलमा सीमा तोक्नु स्वाभाविक भए पनि सरकारी अस्पतालमै उपचार गरेको रकममा समेत सीमा तोकेर त्यसको ८० प्रतिशत मात्रै भुक्तानी दिने गरेबाट योगदानकर्तामा आक्रोस बढ्र्दै गएको हो । यस्तो व्यवस्था विदेशी संस्थाले गरिदिएको र सफ्टवयर पनि उसैले बनाइदिएकोले आफूहरुले केही गर्न नसक्ने कोषका कर्मचारीले बताउने गरेका छन् । 

अर्कोतर्फ योगदानकर्ताको श्रीमती छोरोछोरीको उपचार खर्चसमेत कोषले व्यहोर्ने सुरुमा बताइए पनि हालसम्म त्यो सुविधा दिइएको छैन् । कोषले आफ्ना योगदानकर्तालाई सहुलियत ब्याजदरमा ऋण दिनुपर्नेमा ९ प्रतिशत कायम गरेको भन्दै योगदानकर्ताले यो निकै महंगो भएको बताउने गरेका छन् । 

कोषले सबै रोजगारदाता अनिवार्य कोषमा आवद्ध हुनुपर्ने बताए पनि बैंकहरुसहित थुप्रै क्षेत्र अझै आवद्ध गराउन सकेको छैन् । साथै, कर्मचारी सञ्चय कोष र प्रतिस्थानस्तरका कल्याणकारी कोषलाई सामाजिक सुरक्षा कोषमा गाभ्ने भनिए पनि कोषले त्यसमा ठोस पहल गर्न सकेको छैन् । कोषको सेवा विस्तार गर्न क्षेत्रीय तथा जिल्लास्तरमा पनि कार्यालय खोल्नुपर्ने आवाज उठे पनि खासै पहल गरेको देखिएको छैन् । त्यसका लागि कोषले सरकारसँग बजेट माग गर्नुपर्ने हुन्छ । 

बचत तथा सुरक्षण दुवै सेवा दिने कोषले अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई अझै समेट्न सकेको छैन् । बचत तथा रक्षावरणको सुविधा प्रदान गर्ने कोषले अनलाइन सेवालाई भने सहज बनाउँदै लगेको छ । कोषमा संस्थागत र व्यक्तिगत रुपमा रोजगारदाता आवद्ध हुनसक्ने कोषले दिने सुविधा सबै अस्पतालहरुमा पुर्याउन र सब्मिशन नम्बर भनेपछि सहजरुपमा सेवा प्राप्त हुन योगदानकर्ताले माग गर्दै आएका छन् । 

Advertisement

Advertisement