यात्रा फाक्दिङसम्मको, सपना सगरमाथासम्मको

Advertisement

काठमाडौं । घुम्न कसलाई मन पर्दैन् ? नयाँ नयाँ गन्तव्यमा जाने, फोटो खिच्ने, रमाइलो गर्ने प्रायः सबैको इच्छा हुन्छ । त्यसमाथि सर्वोच्च शिखर सगरमाथा नजिक पुग्ने रहर नहुने कुरै हुँदैन् । नयाँ नयाँ ठाउँ, विशेषगरी हिमाली क्षेत्रका घुम्ने र त्यस क्षेत्रको समाचार लेख्ने मेरो पनि इच्छा हो । 

नेपाल प्राकृतिक विविधताको मुलुक पनि हो । विश्वका १४ अग्ला शिखरमध्ये आठ यहीं छन् । अरु धेरै हिमशिखर पनि छन् । मैले पर्यटन विधामध्ये विशेषगरी हिमाली पर्यटन क्षेत्रबारे कलम चलाउन थालेको धेरै नै समय पनि भइसकेको छ । 

Advertisement

हिमाल आरोहण र आरोहीहरुका समाचार लेख्ने क्रममा मलाई पनि सर्वोच्च शिखर सगरमाथा नजिक पुग्ने लामो समयदेखि इच्छा थियो । तर कार्यव्यस्तता र समय जुराउन नसक्दा ढिलो हुँदै आएको थियो । म शेर्पा समुदायको भएकाले पनि कतिपयले ‘हिमाल पुगेको छैन् ?’ भनेर आश्चर्य प्रकट गर्ने गर्थे । यद्यपि म सिन्धुपाल्चोकमा जन्मेर काठमाडौंमा हुर्किएकी शेर्पा परें । 

सोलुखुम्बु जाने, आफ्नै आँखाले सगरमाथालाई नियाल्ने र अनुकुलता मिल्यो भने हिमाल नै चढ्ने मेरो इच्छा हो । समाचारमा त धेरै हिमाल र हिमाल आरोहीहरुका लागि शब्द खर्च गरियो । तर,  त्यसको प्रत्यक्ष अनुभूति गर्न नपाउँदा मभित्र छटपटी बढ्दै गएको थियो । त्यसमाथि भेट्नेहरुले सुरुमै ‘तपाईं सोलुको हो ?’ भनेर सोध्ने तर आफू एक पटक पनि सोलु पुगेको छैन् भन्नुपर्दा साह्रै 
खल्लो महशुस हुँदै आएको थियो । यसै क्रममा मलाई सोलु जाने साइत जुर्यो । 

कम्तिमा पनि सगरमाथा आधार शिविरसम्म पुग्ने इच्छा हो । तर सगरमाथा नजिकै फाक्दिङमा २० करोड रुपियाँ लगानीमा निर्मित ‘हिमालयन शेर्पा हस्पिटल’ कार्यक्रममा समाचार संकलनका लागि सहभागी हुने अवसर मिल्यो । यद्यपि आफै खर्च गरेर यो ठाउँसम्म पुग्न मलाई कठिन थियो । फाक्दिङसम्मको यात्रा मेरो लागि निकै स्मरणीय रह्यो । 

अस्पतालको उद्घाटन गत कात्तिक २० मा राष्ट्रपति विद्या भण्डारीबाट हुने कार्यक्रम थियो । हामी अघिल्ला दिन शनिबार बिहानै ट्वीनअटर जहाजबाट लुक्ला विमानस्थल पुग्यौं । आयोजकले मसहित अरु पत्रकार तथा सञ्चारकर्मीलाई फाक्दिङ लैजाने प्रवन्ध मिलाएको थियो । हिमाली दृश्यावलोकन गर्दै जाने क्रममा मनभित्र डर र कौतुहलता पनि सँगसँगै थिए र मनमा एक किसिमको उर्जा पनि ।   

सोलु जानुअघि बेलुकी सुत्ने बेलामा मनमा धेरै खालको कुराहरु खेलेको थियो । विश्वको सबैभन्दा खतरनाक लुक्ला विमानस्थल कस्तो होला ? भन्ने एक किसिमको भय मनभित्र थियो भने धेरै उचाईमा लेक लागेर बिरामी पर्ने हो कि भने चिन्ता पनि उत्पन्न भइरहेको थियो । सोच्दासोच्दै निदाइएछ । बिहान अर्लाम बजेसँगै हतार हतार त्रिभुवन विमानस्थल पुगेर तारा एयरको जहाजमार्फत लुक्ला प्रस्थान गरियो । करिव आधा घण्टामा नै लुक्लामा सुरक्षित अवतरण गरियो । अवतरण भइसकेपछि भने आत्मबल बढेर आयो । 

लुक्ला झरेसँगै विमानस्थल र हिमालको आकर्षण दृश्यले मलाई लट्ठ बनायो । लुक्ला पुगेर पहिलो स्वाद मःमःको लिने अवसर 
 मिल्यो । लुक्लाको मःमःको स्वाद नै फरक, जति खाए पनि खाउँखाउँ लाग्ने । त्यसपछि फाक्दिङका लागि हिंड्न थालेको, पुग्न पाँच घण्टा लाग्यो । बाटोमा फोटो खिच्दै, गफ गर्दै जाँदा थकाई कम महशुस भयो । पर्यटकीय सिजनले हेला, बाटोमा पर्यटकहरुको चहलपहल निकै देखिन्थ्यो । प्रकृतिको मनोरम दृश्यहरु हेर्दै जाँदा अर्कै लोकमा आएको महशुस भइरहेको थियो । लाग्या, म यस्तो सुन्दर  देशमा पो जन्मिएको रहेछु । 

लामो हिंडाईले थकित र निकै भोक पनि लागिरहेको थियो । फाक्दिङस्थित ‘हिमालयन शेर्पा हस्पिटल’ खाजा खाएपछि भोक र थकाानमा केही राहत महशुस भयो तर के गर्ने सोलुखुम्बुको चिसोले टाउको निकै दुखायो । करिव एक घण्टा सुतेपछि पनि दुःखाइ कम भएन । त्यसपछि बेलुकीको तातो खाना खाए । सुधार भएन् । तातो पानी र लसुन खाँदा पनि दुखाई कम नभएपछि सोही अस्पतालका डाक्टरले लेखिदिएको औषधि खाएपछि केही कम भयो । 

भोलिपल्ट अस्पतालको उद्घाटन राष्ट्रपतिबाट भयो । सोही अवसरमा राष्ट्रपति भण्डारीसँग पहिलोपटक प्रत्यक्ष भेट्ने र कुरा गर्ने मौका समेत मिल्यो । यो अवसर मेरो लागि अविश्मरणीय र निकै रमाइलो पनि रहयो । अहिलेलाई यात्रा फाक्दिङसम्म मात्रै भए पनि सगरमाथा नजिक अझै उचाईमा जाने अठोट कायमै छ । अहिलेलाई फाक्दिङसम्मको यात्रा गराउने हिमालयन फाउण्डेशन तथा हिमालयन शेर्पा हस्पिटलका अध्यक्ष फुर्वा ग्याल्जे शेर्पालाई धन्यवाद ।

Advertisement

Advertisement