प्राधिकरणलाई घिमिरेको प्रश्न– के तपाईंहरुलाई नेपाल पुनर्बीमा घाँडो भएको हो ? विघटन गर्दिनु

Advertisement

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)का अध्यक्ष तथा बीमा विज्ञ डा. रवीन्द्र घिमिरेले पछिल्लो समय नेपाल पुनर्बीमा घाडो भएको हिसावले नेपाल बीमा प्राधिकरणले व्यवहार गर्न थालेको गुनासो गरेका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले राव्यको नियामक निकायले कुनै कम्पनी विशेषसँग त्यस्तो व्यवहार गर्न नमिल्ने बताए । कोरोना बीमाको दावी भुक्तानीका लागि थप एक अर्ब रुपियाँ नदिए कारवाही गर्ने भन्दै नेपाल पुनर्बीमालाई दबाब दिएपछि घिमिरेको यस्तो प्रतिक्रिया आएको हो । 

Advertisement

प्राधिकरणले सबै कम्पनीप्रति समाधान व्यवहार गर्दै अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा नेपाल पुनर्बीमाप्रति बढी नै पूर्वाग्रही देखिन थालेको भन्दै घिमिरेले कोरोना बीमाको पैसा भुक्तानी गरिसकेपछि थप रकम दिन शर्त राख्ने र नदिने बीमा ऐनको दफा लगाएर कारबाही गर्ने चेतावनी दिनु न्यायसँगत नभएको बताए । 

उनले भने, ‘नेपाल पुनर्बीमा कम्पनी पनि आफैमा व्यवसायिक कम्पनी हो । सरकारदेखि सर्वसाधारण जनतासम्मको लगानी भएको कम्पनी हो । व्यवसायिक संस्था भएकै नाताले हामीले पनि व्यवसाय गर्ने र त्यसैबाट मुनाफा आर्जन गर्ने हो । कुनै दान दक्षिणा दिन वा लिन मिल्ने खालको कम्पनी यो होइन । नेपाल पुनर्बीमा कम्पनीले पनि के को आधारमा कोरोना बीमाको थप पैसा तिर्ने ? भन्न त पर्यो नि। हामीले पनि कोरोना बीमा जारी गरेको होइन । कुनै पनि आधार बिना नै प्राधिकरणले हामीलाई ‘कोरोना बीमाको पैसा तिर’ भन्न कुन दफा वा कुन ऐनले समर्थन गरेको छ ? त्यो पाटोबाट पनि सोच्न जरुरी छ ।’

घिमिरेले नेपाल पुनर्बीमा कम्पनीका हजारौं लगानीकर्ता रहेको र उनीहरुले पनि लगानीको प्रतिफल खोज्ने बताउँदै थपे, यसरी अर्बपछि फेरि अर्को एक अर्ब रुपियाँ कसैले माग्न थाल्यो भने त यो कम्पनी डुब्छ । हामी टाट पल्टिने अवस्था आउँछ । नेपाल पुनर्बीमा कम्पनीलाई नै टाट पल्टाएर कसैलाई केही फाइदा होला जस्तो मलाई त लाग्दैन ।’ 

उनले नेपाली बीमा कम्पनीहरुबाट प्रत्यक्षरुपमा पाउने व्यवसाय पनि प्राधिकरणले घटाउने काम गरेको स्मरण गर्दै त्यसमा पनि आफूहरुप्रति विभेद भएको बताए । घिमिरेले  बीमाको आधार र सिद्धान्तबाहिर गएर कुनै पनि कम्पनीले पैसा दिँदैन र दिन मिल्दैन भन्दै कोरोना बीमाको हकमा पनि त्यस्तो आधार र सिद्धान्त बाहिर गएर पैसा दिन नसकिने स्पष्ट पारे । 

उनले भने, ‘तपाईंहरुले हेर्नुस् न दाबी परेको ठाउँमा त हाम्रोतर्फबाट तत्कालै भुक्तानी भइरहेकै छ । परेको दावी नतिरेको अवस्थामा प्राधिकरणले भन्नु स्वाभाविक पनि हुन्थ्यो । हाम्रो जहाँ जहाँ कारोबार भएको छ, जहाँ जहाँ हाम्रो दायित्व सिर्जना भएको छ, त्यस्तो ठाउँमा त हामीले तुरुन्तै भुक्तानी गरिरहेका छौं । दायित्व सिर्जना नभएको ठाउँमा हामीले पैसा तिर्न सक्दैनौ । यसरी दिँदा भोलि आम लगानीकर्ताले सोधे भने वा राज्यको छानविन गर्ने निकायले सोध्यो भने के जवाफ दिने ?’

अहिले प्राधिकरणले कानुनी आधारबिना हचुवाको भरमा आफूहरुसँग पैसा मागेको उनले बताए । घिमिरेले यदि जवरजस्ती गरेर प्राधिकरणले कारवाही गरे त्यो भोग्न आफूहरु तयार रहेको बताए । उनले भने, ‘गल्ती नगरेको ठाउँमा कारबाही गर्छौं भनिन्छ भने कारबाही भोग्न हामीलाई खासै ठूलो चिन्ता लागेको छैन् । तर बिना कानुनी आधार र बीमाको सिद्धान्तभन्दा बाहिर गएर भुक्तानी चाहिं दिन सकिन्न ।’ 

घिमिरेले बीमा प्राधिकरणले कुनै पनि कम्पनी डुबाउने नियतले काम गर्न नहुने बताए । उनले भने, ‘यहाँ त यसो हेर्दा नेपाल पुनर्बीमालाई विघटन नै गर्न लागेको जस्तो देखिन्छ । नेपाल पुनर्बीमा के घाँडो भएको हो र तपाईंहरुलाई ? त्यस्तै हो भने त नेपाल पुनर्बीमाको भएभरको सम्पत्ति बेचेर कोरोना बीमाको दायित्व तिर्दा हुन्छ । स्थिति हेर्दा नेपाल पुनर्बीमालाई हटाउन खोजेको जस्तो देखिन्छ ।’ 

Advertisement

Advertisement