राजधानीका तीनै जिल्लामा यसैवर्ष एफटिटीएच सेवा पुर्याइने

Advertisement

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको अन्त्यअर्थात् असार मसान्तसम्म काठमाडौँ उपत्यकाका तीनै जिल्लामा फाइबर टु द होम (एफटिटीएच) सेवा पुर्याउने भएको छ । 

राजधानीका मुख्य सहरी भागमा अहिले पनि एफटिटीएच सेवा पुगेकामा चालु आवको असारसम्म भने काँठ र ग्रामीण भेगमा लैजाने गरी तयारी गरिएको हो ।  टेलिकमले सन् २०१५ जनवरीदेखि पाइलट प्रोजेक्टका रूपमा एफटिटीएच सेवा सुरु गरेको थियो । सन् २०१७ देखि भने व्यावसायिकरूपमा यो सेवा आरम्भ भएको नेपाल टेलिकमका सहायक प्रवक्ता रञ्जित लोहियाले जानकारी दिए । घरघरमा फाइबर पु¥याउने उद्देश्यले यो सेवा सुरु गरिएको हो । 

Advertisement

हालसम्म ६८ जिल्लाका मुख्य मुख्य सहरमा फाइबर सेवा पुगेको छ । गत वर्षमात्र एफटिटीएचको दुई लाख २६ हजार पोइन्ट जोडिएको उनले बताए । चालु आवमा एफटिटीएचका तीन लाख पोइन्ट जोड्ने कार्यक्रम छ । हालसम्म एफटिटीएच सेवाका लागि देशभर नौ लाख ५५ हजार छ सय ६६ पोइन्ट जोडिएको छ । हाल यो सेवाका ग्राहक भने दुई लाख ८६ हजार छन् । जति पनि ग्राहकका घरमा एफटिटीएच सेवा जोड्न सक्ने गरी पोइन्ट बनाइएको छ ।

एफटिटीएच सेवाका लागि पोइन्ट जोड्न भौतिकरूपमा काम गर्नुपर्ने भएकाले व्यावसायिक सेवा सुरु गरेको पाँच वर्षमा पनि देशभर सेवा विस्तार गर्न नसकिएको सहायक प्रवक्ता लोहिया स्वीकार गर्नुहुन्छ । कोरोना महामारीका कारण दुई वर्ष विदेशबाट सामग्री ल्याउन नसकिएकाले पनि एफटिटीएच सेवा विस्तारको काममा ढिलाइ भएको हो । अहिले सामग्री आइसकेकाले विस्तारको काम मात्र बाँकी रहेको छ । यो काम काठमाडौँ उपत्यकाकामा भने २०८० साल असारसम्ममा सक्ने लक्ष्य राखिएको छ ।

हालसम्म डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, रुकुम पूर्व, रुकुम पश्चिम, बझाङ र बाजुरामा एफटिटीएच सेवा पुग्न सकेको छैन । यसबाहेकका ६८ जिल्लामा यो सेवा पुगेको छ । यसमध्ये जुम्लामा भने चालु आर्थिक वर्षमा केही काम भइरहेको टेलिकमले जनाएको छ । एफटिटीएच सेवा लैजान घरअघि बक्स राखिन्छ । तार भूमिगतरूपमा लगिन्छ । बक्सबाट भने पोलबाट पनि तार लगिने जनाइएको छ । 

तामाको तारमा आधारित प्रणालीमा रहेको एडिएसएल सेवाको इन्टरनेटलाई अप्टिकल फाइबर प्रणालीमा आधारित प्रविधिमा रुपान्तरण गर्न एफटिटीएच सेवा विस्तारलाई प्राथमिकतामा राखिएको हो । सबैतिर अप्टिकल फाइबर पुगेपछि तामाको तारमा आधारित प्रविधि बन्द गर्ने टेलिकमको तयारी छ । 

एफटिटीएच प्रविधिबाट इन्टरनेटका साथै टेलिभिजन र टेलिफोन सेवा पनि ग्राहकले पाउने छन् । यी तीनै सेवा प्रदान गर्ने अरु इन्टरनेट प्रदायक संस्था नेपालमा छैनन् । यो प्रविधि जोड्नेले एक महिनामा मोबाइलमा १०६ जिबी डाटा पनि निःशुल्क पाउने व्यवस्था गरिएको छ । रासस

Advertisement

Advertisement