ब्याजदर स्थिर राख्ने कुरामा बीमा कम्पनीहरुको असन्तुष्टि, प्राधिकरण भन्छ- 'बैंकहरुसँग कुरा गरौंला'

Advertisement

काठमाडौं । निक्षेपको ब्याजदर स्थिर राख्ने बैंकिङ क्षेत्रको निर्णयप्रति बीमा कम्पनीहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले यसबाट आफूहरुको व्यवसाय प्रभावित हुने तर्क गरेका छन् । 

लगानी विविधिकरण गरी नयाँ नयाँ क्षेत्रमा लगानी गर्ने भन्दा पनि बैंकको मुद्दती निक्षेपमा रकम राखेर आम्दानी गर्न केन्द्रीत रहँदै आएका बीमा कम्पनीहरु बैंकले निक्षेपमा थप ब्याजदर नदिने भएपछि निराश भएका हुन् । 

Advertisement

उनीहरुले लगानीको ठूलो हिस्सा मुद्दती निक्षेपमा राख्ने भएकाले ब्याजदर स्थिर हुँदा त्यसको प्रत्यक्ष प्रभाव आफूहरुको व्यवसायमा पर्ने बताउँछन् । यस्तो चिन्ता विशेषगरी जीवन बीमा कम्पनीहरुमा देखिन्छ । 

यता बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधिकरणले ब्याजदर स्थिर राख्ने नेपाल बैंकर्स संघ र  बैंकरहरुसँग लबिङ गरिदिने आश्वासन दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘हामीले बीमा कम्पनीहरुसँग सल्लाह गरिरहेका छौं । जीवन बीमा कम्पनीहरुलाई बैंकर्स एशोसियसनसँग लविङ गर्न पनि सुझाव दिएका छौं । बैंकको ब्याजदर र बीमाको आम्दानीमा सिधा सम्बन्ध हुने भएकाले यसमा हुने घटबढले ठूलो प्रभाव पार्छ । ब्याजदर स्थिर हुँदा कम्पनीहरुले थप नाफा पाउने अवस्था रहन्न ।’ 

के भन्छन् रिलायबल नेपाल लाइफका सीईओ राकेश पोखरेल ? 
व्याजदर स्थिर राख्ने कुरा आएको छ । प्राविधिक रुपमा हेर्दा स्प्रेड दर घटाइएको छ । स्प्रेड दर बाणिज्य बैंकको चार दशमलव चार प्रतिशत हुनुपर्नेमा प्वाइन्ट फोर प्रतिशतले घटाइएको छ । त्यस्तै, विकास बैंकका लागि पाँच प्रतिशत हुनपर्ने ठाउँमा चार दमलव छ प्रतिशत कायम हुने भएको छ । 

यसरी प्वाइन्ट फोर प्रतिशतले स्प्रेड दर घटाएको हुनाले अब बैंकहरुलाई आफ्नो व्याजदर तथा स्प्रेड दर दुवै व्यवस्थापन गर्न आवश्यक हुन्छ । अब बैंकले कि त ऋणको व्याजदर घटाउनुपर्छ । होइन भने डिपोजिटको व्याजदर बढाउनुपर्छ ।  बैंकले ऋणतर्फको व्याजदर घटायो भने बीमा कम्पनीहरुलाई धेरै नकारात्मक प्रभाव पर्दैन । तर, यदी डिपोजिटको व्याजदर बढाउने र ऋणतर्फको चाहिं व्याजदर जस्ताको त्यस्तै राख्ने हो भने बीमा कम्पनीहरुमा प्रभाव पर्छ ।

अहिलेको अवस्थामा व्याजदर स्थिर राख्ने भन्नुको अर्थ त्यही स्प्रेड दर घटाउन लागिएको हो । नेपाल राष्ट्र बैंकले पनि व्याजदर घटाउनु बढाउनु नभनी स्प्रेड दर घटाउनु भनेको छ र त्यही स्प्रेड दर घटाउँदा अब बैंकहरुको व्याजदर स्थिर रहन्छ । 

सिधै ऋणको व्याजदर नबढाउनु नभने पनि अप्रत्यक्ष रुपमा भन्न खोजिएको छ । हुने कुरा त्यही हो । यो अहिलेको स्प्रेड दरको एउटा प्राविधिक विश्लेषण हो । राष्ट्र बैंकले नै निर्देशन दिइसकेको अवस्थामा बैंकहरुले अब व्याजदरको व्यवस्थापन गर्छन् । तर बीमा कम्पनीहरुको मुख्य लगानी बैंकमा नै जम्मा हुने भएकाले बैंकको व्याजदर स्थिर भएमा त्यसको असर जीवन बीमा कम्पनीहरुमो ठूलो मात्रामा पर्ने देखिन्छ । 

Advertisement

Advertisement