सुकुम्वासीको आक्रमणमा घाइते भएकाहरुलाई भेट्न अस्पताल पुगे बालेन शाह

Advertisement

काठमाडौं । थापाथालीस्थित बागमती नदी अतिक्रमण गरी बसेका सुकुम्वासीहरुको आक्रमणमा परी घाइते भएकाहरु भेटन् काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोल अस्पताल पुगेका छन् । 

नर्भिक अस्पतालमा उपचार गरिरहेका उनीहरुलाई भेटन् सोमबार साँझ अस्पताल पुगेका हुन् । एकीकृत वागमती सभ्यता विकास समितिको सुचनाका आधारमा अतिक्रमित घरटहरा हटाउन महानगरको टोली डोजरसहित थालाथली पुगेपछि सुकुम्वासीहरुले आक्रमण गरेका थिए । त्यस क्रममा महानगरका प्रहरी प्रमुख राजु पाण्डेसहित ३४ जना घाइते भएका हुन् । 

Advertisement

आन्दोलनकारीले हतियारसहित प्रदर्शन गर्नुका साथै सडकमा टायर बालेर विरोध गरेका थिए । त्यस क्रममा घाइते भएकाहरु भेट्न बालेन शाह अस्पताल पुगेका हुन् । उनले चिकित्सकहरुसँग घाइतेहरुको स्वास्थ्य अवस्था बुझ्नुका साथै आक्रमणप्रति चिन्ता प्रकट गरेका थिए । 

नर्भिक अस्पतालका इमेरजेन्सी इञ्चार्ज डा. ओमर प्रधानले घाइतेमध्ये तीन जनाको टाउकोमा गहिरो चोट रहेका कारण अब्जरभेसनमा राखिएको जानकारी दिएका थिए । उनले घाइतेमध्ये ३१ जना उपचार गरेर घर फर्किसकेको जानकारी पनि दिए । 

मेयर शाहले नर्भिकमा गम्भीर चोट लागेर उपचार गराइरहेका आफ्ना ३ नगर प्रहरी र उनका परिवारजनसँग पनि स्वास्थ्य अवस्थाको विषयमा कुराकानी गरेका थिए । 

Advertisement

Advertisement