डेनमार्कलाई हराउँदै अष्ट्रेलिया समूह चरण पार, ट्युनिसियासँग हारे पनि फ्रान्स अन्तिम १६ मा

Advertisement

काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत गए राति भएका खेलमा अष्ट्रेलिया र फ्रान्स १६ मा प्रवेश गरेका छन् । अष्ट्रेलियाले कुनै समयको विश्वकप विजेता फ्रान्सलाई हराउँदै समूह चरण पार गरेको हो । 

समूह डी को अन्तिम खेलमा डेनमार्कलाई १–० ले हराउँदै अष्ट्रेलिया उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । अष्ट्रेलियाका लागि म्याथ्यु लेकीले खेलको ६०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यसअघि सन् २००६ को विश्वकपमा अष्ट्रलिया अन्तिम १६ मा पुगेको थियो । 

Advertisement

जारी विश्वकपमा समूह डी मा अष्ट्रेलिया र साविक विजेता फ्रान्सले समान ६ अंक जोडे पनि गोलअन्तरमा फ्रान्स अघि रहेको छ भने अष्ट्रेलिया पछि रहेको छ । यसअघि समूह चरणको पहिलो खेलमा फ्रान्ससँग पाराजित भए पनि अष्ट्रेलियाले दोस्रो खेलमा ट्युनिसियालाई हराएको थियो । अब उसले समूह सी को विजेतासँग अन्तिम १६ मा खेल्नेछ । 

त्यस्तै, समूह चरणको अन्तिम खेलमा साविक विजेता फ्रान्स ट्युनिसियासँग पराजित भए पनि समूह चरण पार गर्न सफल भएको छ । गए रातिको खेलमा फ्रान्स ट्युनिसियासँग १–० ले पराजित भएको हो । 

यसअघि समूह चरणका दुई खेल जितेर अन्तिम १६ मा स्थान पक्का गरिसकेको फ्रान्सले यस खेलमा नौ खेलाडी परिवर्तन गरेर मैदानमा उतार्दा नतिजा प्रतिउत्पादक भएको हो । 

खेलको ५८औं मिनेटमा ट्युनिसियाका वाहबी खाजरीले गरेको गोल नै निर्णायक भयो । फ्रान्स जस्तो शक्तिशाली टिमलाई पराजित गरे पनि ट्युनिसिया समूह चरण पार गर्न सकेन् । उसले ४ अंक जोडे पनि फ्रान्स र अष्ट्रेलियाले ६–६ जोडेकाले उनीहरु अन्तिम १६ मा प्रवेश गरेका हुन् । 

Advertisement

Advertisement