अष्ट्रेलिया जानेले नक्कली विवाह गरे जस्तै बीमामा नक्कली इच्छाएको व्यक्ति राख्ने प्रवृत्ति

काठमाडौं । नेपाल बीमा प्राधिकरणले २५ लाख रुपियाँभन्दा बढी रकमको जीवन बीमा गर्दा इच्छाइएको व्यक्तिको समेत विवरण माग गरेको छ । यसअघि इच्छाएको व्यक्तिको नाम मात्रै राख्दा पुग्नेमा अब विस्तृत विवरण पनि भर्नुपर्ने व्यवस्था गरेको हो । 

प्राधिकरणले यस्तो व्यवस्था गर्नुको विशेष कारण रहेको बताएको छ । इच्छाएको व्यक्तिको नाम दुरुपयोग गर्दै ठगी धन्दा मौलाएको भन्दै प्राधिकरणले यस्तो निर्णय गर्नुपरेको बताएको हो । प्राधिकरणका कानुन हेर्ने उपनिर्देशक साम्बाराज लामिछानेले भने, ‘आतंकवादी क्रियाकलापमा समेत बीमालाई जोडन थालिएको छ । यस्ता घट्ना कम गराउन खोजेका हौं । जस्तो अष्ट्रेलिया जाने भन्दै नक्कली विवाह गर्ने प्रवृत्ति छ नि त्यस्तै बीमितको नक्कली इच्छाएको व्यक्ति राख्ने प्रवृत्ति देखिएको छ । यसलाई हटाउन नयाँ व्यवस्था ल्याइएको हो ।’ 

Advertisement

पच्चिस लाख रुपियाँभन्दा कमको बीमामा यस्तो विवरण भर्नुनपरे पनि बढीको बीमा गराउँदा कम्पनीहरुले बीमितले इच्छाएको व्यक्तिको सम्पूर्ण विवरण राख्नुपर्ने हुन्छ । यसले बीमालाई थप विश्वसनीय बनाउने र कानुनी रुपमा पनि बीमा बलियो बन्ने लामिछानेको भनाई छ । 

केही महिनाअघि समग्र बीमा क्षेत्रलाई झस्काउने किसिमले घटेको साजन विक हत्याकाण्डपछि ठूला खालमा बीमामा निगरानी र कडाई गर्नुपर्ने निचोडमा आफूहरु पुगेको बताउँदै उनले त्यस्तो घट्ना नदोहोरियोस भनेर इच्छाएको व्यक्तिको हकमा विस्तृत विवरण माग गर्नुपर्ने व्यवस्था गरिएको बताए । 

Advertisement

साजन हत्याकाण्डमा नक्कली विवाह गरी करोडौं रकमको बीमा गरेपछि इच्छाएको व्यक्तिको रुपमा रहेकी नक्कली श्रीमतीले विभिन्न व्यक्तिहरुसँग मिलेर बीमितको हत्या भएको थियो । लामिछानेले बीमा कम्पनीहरुले दाबी भूक्तानी दिने बेलामा सधै कडाई गर्ने गरेको र त्यस्तो कडाई उल्टो हुने गरेको बताए । 

उनले भने, ‘बीमा कम्पनीहरुले बीमा गराउने बेलामा बीमितको विवरणहरु राम्रोसँग जाच्नुपर्छ र बीमाको दाबी परेको बेलामा तुरुन्तै भुक्तानी दिनुपर्छ । यहाँ त अझै पनि हतार हतारमा बीमा गराईन्छ अनि भुक्तानी दिने बेलामा अलिकती भए पनि ढिलासुस्ती भएकै हुन्छ । खासमा यस्तो गर्नु त उल्टो भयो नी ।’

पछिल्लो समय बीमा क्षेत्रका घटनाक्रममा नै प्राधिकरण, पुनर्बीमा कम्पनी, बीमा कम्पनी तथा अभिकर्ताहरुको कार्यक्षमतामाथि प्रश्न उठेको स्वीकार गर्दै उनले बीमाको कारोबारलाई सहजसँगै सुरक्षित पनि बनाउनुपर्ने चुनौति रहेको बताए । 

यता, एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलपी दासले यसअघि कर्पोरेट नेपालसँगको कुराकानीमा इच्छाएको व्यक्ति राख्ने विद्यमान व्यवस्थामा समस्या रहेकोले यसलाई प्राधिकरणले समाधान गर्नुपर्ने बताएका थिए । उनले भनेका थिए, ‘कुनै बीमितको दुई जना छोरा वा दुई श्रीमती छन् भने दाबी भुक्तानी दिने बेलामा दुवैले आफू नजिकको आफन्त भनेर सावित गर्न आउने अवस्था रहन्छ । यस्ता कुरामा कम्पनी र बीमितका आफन्तबीच विवाद नहुने अवस्था बनाउन बीमाको नियामकले कुनै पनि बीमितको नोमिनि राख्दा उसको विवरण गहिराईमा गएर राख्नुपर्छ ।’ 

अहिलेसम्म कुनै बीमितले जाहेर गरेको इच्छालाई मात्रै बीमालेखमा टिप्ने गरिन्छ । इच्छाएको व्यक्तिको सम्वन्धमा दावी भुक्तानी दिने लिने दुवै पक्षले असहज महशुस गर्ने अवस्था बनाउन नहुने उनको भनाई थियो । दासले बीमा प्रक्रियालाई थप विश्वसनीय बनाउन यस्तो सुधार आवश्यक रहेको बताएका थिए । 

Advertisement