काठमाडौं । अनामनगरस्थित् क्विन्स किचन प्रा.लि.का सञ्चालक धिरज सापकोटाले घरबेटी शैलेन्द्र गुरागाईं र उनका छोरा श्रीजेस गुरागाईंले आफ्नो होलट तोडफोड गरेको भन्दै तत्काल उनीहरुलाई पक्राउ गरी क्षतिपूर्तिसहित न्याय दिन माग गरेका छन् ।
गुरागाईंका बाबु–छोरा मिलेर कानुनी राज्यको उपहास गरेको र अदालतको आदेशलाई अवहेलना गर्दै आफूमाथि अन्याय गरेको होटल सञ्चालक सापकोटाको गुनासो छ । अदालतद्धारा गत २०७९ भदौ ३० गते जारी अन्तरिम आदेशलाई अवहेलना गरी घरबेटीले कानुनी राज्यको उपहास गरेको उनले बताए ।
पीडित पक्षले सोमबार गरेको पत्रकार सम्मेलनको आयोजना गर्दै सापकोटाले आफूहरु न्यायको लागि मिडियामा आएको बताए । उनले भने, ‘घरबेटी शैलेन्द्र गुरागाईं र श्रीजेस गुरागाईंले उनीहरुको कम्पनीको कर्मचारी यज्ञ सुवेदीको समेत संलग्नतामा हाम्रो करोडौंको सामग्री तोडफोड गरेका हुन् । कानूनी राज्यमा यस्तो ज्यादती गर्न पाइन्छ ?’
सापकोटाले घरबेटीले विभिन्न व्यक्तिहरुको प्रयोग गरेर होटल तोडफोड गरी अति मूल्यवान सामग्रीहरु चोरी गरेकोसमेत आरोप लगाए । उनले भने, ‘कर्मचारीका सामग्री र डकुमेन्ट बेपत्ता पारिएको छ । महिला कर्मचारीमाथि अभद्र व्यवहार गरिएको छ ।’
घरबेटी शैलेन्द्र र श्रीजेसको नाममा सिंहदरबार प्रहरी वृत्तबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनीहरु अहिलेसम्म पक्राउ पर्न नसकेको भन्दै सापकोटाले थपे, ‘उनीहरु लुक्दै भाग्दै हिँडेका छन् ।’ होटलको ६० प्रतिशत सामान हराएको र धेरै सामान तोडफोड भएको पीडित पक्षको आरोप छ । सापकोटाले कसैले ती दुई बाबुछोरालाई देखे सूचना दिन आग्रह पनि गरे ।
होटलमा कार्यरत एकाउन्टेन्ट टीका शर्माले घरबेटीले एउटै व्यक्तिहरुलाई समूह–समूह बनाएर मानिसहरु होटलमा पठाएर धम्काउने गरेको सुनाइन् । उनले भनिन्, ‘अदालतको आदेशपछि हामी होटलभित्र जाँदा अवस्था हेर्न नसकिने थियो । उनीहरुले विभिन्न किसिमका व्यक्तिहरु पठाएर खाना खान लगाउने बिल पे गर्नु भन्दा अमानवीय व्यवहार गर्ने गर्थे ।’
होटलकी कर्मचारी उषा दाहालले घरबेटीले होटल र त्यहाँ कार्यरत कमर्चारीमाथि नराम्रो व्यवहार गरेको बताइन् ।