नदी अतिक्रमण गरी बसेका सुकुम्वासीको चेतावनीः विकल्पबिनाको उठिवास सैह्य हुन्न

Advertisement

काठमाडौं । वागमती नदी किनार अतिक्रमण गरी बसेका सुकुम्वासीहरुले सोमबार पनि बिरोध प्रदर्शन गरेका छन् । यसअघि पनि उनीहरुले काठमाडौं महानगरपालिका अगाडि धर्ना दिएका थिए । 

आज सुकुम्वासीहरुले माईतीघरदेखि नयाँ बानेश्वर चोकसम्म र्यालीसहित बिरोध प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारसँग सामाजिक न्याय, जमिनमाथिको अधिकार सुनिश्चतता, भूमिहीनहरुको सुरक्षित बसोवास व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखेर बिरोध जनाए । 

Advertisement

दलनिकट संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा र नेपाल महिला एकता समाजको आयोजनामा सुकुम्वासीहरुको माग पूरा गर्नुपर्ने शर्तसहित आन्दोलनमा उत्रिएका उनीहरुले वैकल्पिक व्यवस्था बिना गरिएको उठिवास सैह्य नहुने चेतावनी पनि दिएका थिए । 

र्यालीपछि कुरा गर्दै मोर्चाका अध्यक्ष कुमार कार्कीले वर्षौंदेखि बसोवास गरिरहेको जमिनमा वैकल्पिक व्यवस्था बिना गरिएको उठिवास सैह्य नहुने चेतावनी दिए । उनले वैकल्पिक बसोवास बिनाको उठिवास नागरिक अधिकारमाथिको हनन भएको दावी गर्दै सुकम्म्वासी बिध्वंसकारी नभएको पनि जिकिर गरे । 

देश विकास र निर्माणका शक्ति सुकुम्वासी भएको कार्कीको तर्क छ । उनले जोखिममुक्त बसोवास गरेका सुकुम्वासीलाई बसोवास गरेकै ठाउँमा र जोखिमयुक्त ठाउँमा बसोवास गरेकाहरुलाई त्यही वडाभित्र स्थानान्तरण गर्न माग गरे । सरकारले सुकुम्वासीहरुको वार्ता र सहमतिको ढोका बन्द गरेको कार्कीको भनाई छ । 

सुकुम्वासीहरुले र्यालीका क्रममा बिना विकल्प उठिवास बन्द गर्, वार्ता र संवादको ढोका खुला गर्, भूमि अभियन्तामाथिको जाहेरी फिर्ता गर्, उठिवासको त्रास बन्द गर्, नागरिकको अधिकार सुनिश्चित गर् लगायतका नारा लगाएर बिरोध प्रदर्शन गरेका थिए । 

सार्वजनिक सुचना जारी गर्दा पनि अतिक्रमणस्थल खाली नगरेपछि गत मंसिर १२ गते अधिकार सम्पन्न वागमती एकीकृत विकास समितिको पहलमा काठमाडौं महानगरपालिका डोजर लिएर घर टहरा भत्काउन जाँदा सुकुम्वासीहरुबाट हिंसात्मक आक्रमण भएको थियो । आक्रमणको क्रममा गृह मन्त्रालय प्रहरी परिचालन गर्न अटेर गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तत्कालै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर असन्तुष्टि समेत जनाएका थिए । त्यसपछि महानगरपालिकाले आक्रमणमा संलग्नहरुविरुद्ध किटानी जाहेरी दिएको थियो । 
 

Advertisement

Advertisement