सत्तारुढ दलहरुको व्याख्या- जनमत गठवन्धनको पक्षमा आयो, हामी नै सरकार बनाउँछौं

Advertisement

काठमाडौं । हालै सम्पन्न निर्वाचनबाट जनमत आफूहरुको पक्षमा आएको व्याख्या गर्दै सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले अहिलेकै गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका छन् । 

चुनावी समीक्षाका लागि सोमबार बालुवाटारमा बसेको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका नेता सहभागी थिए । बैठकपछि संयुक्त प्रेस वक्तव्य जारी गर्दै उनीहरुले निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको व्याख्या गरेका छन् । 

Advertisement

निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमती र सरकार्यका अघि बढनुपर्ने सन्देश दिएको भन्दै उनीहरुले सोही अनुसार अघि बढने सहमती बैठकमा गरिएको बताएका छन् । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार बैठकले निर्वाचनको दौरानमा गठबन्धनको केन्द्रबाट गएको निर्देशन र निर्णयहरु कतिपय निर्वाचन क्षेत्रमा कार्यान्वयन नभएको स्वीकार गरेको छ । त्यसको उचित समीक्षा र सम्बोधन गर्दै अघि बढने निर्णय पनि बैठकले गरेको छ । 

कार्कीले भने, ‘मुलुकका सामू विद्यमान चुनौतिहरुको सामना गर्नुपर्ने आवश्यकताले ‘हालै सम्पन्न निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकर्तालाई पुनः पुष्टि गरेको छ । मुलुकसामु विद्यमान चुनौतिहरुको सामना गर्नुपर्ने आवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिन जरुरी छ । निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमती र सहकार्यका साथ मिलेर अघि बढनुपर्ने स्पष्ट सन्देश दिएको छ ।’ 

उनले थपे, ‘निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिए । निर्वाचनको दौरानमा देखिएका ती असमझदारीहरुको पनि आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिने छ ।’ 

Advertisement

Advertisement