अर्थतन्त्र सुधार गर्न महासंघको आग्रह, ‘अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रनै संकुचित !’

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि मण्डलले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न आग्रह गरेको छ । 

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको टोलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई छुट्टा छुट्टै भेट गरी अर्थतन्त्र जोगाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेको हो । 

Advertisement

महासंघका अध्यक्ष गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले हिजो साँझ पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली र आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई उहाँहरुकै निवासमा भेट गरेको हो । 

सो अवसरमा शीर्ष नेताहरू समक्ष प्रतिनिधिमण्डलले अर्थतन्त्रमा वहुुआयामिक असर परेको र बहुप्रतिक्षित चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ चिन्ता प्रकट गर्दै समस्या समाधानमा सहयोग र समन्वय गरिदिन आग्रह गरेको थियो । 

Advertisement

भेटवार्तामा महासंघका अध्यक्ष गोल्छाले अर्थतन्त्रको संवेदनशीलता बुुझिदिन आग्रह गरे । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको भन्दै मुल्यवृद्धि सात बर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रनै संकुचित हुदै गएकोतर्फ ध्यानाकर्षण गराएका थिए ।

महासंघले प्रस्तुत गरेको सुझावमा निजी क्षेत्रको लगानी संकुचित भै राजस्व समेत निरन्तर घटेर मुलुकको अर्थतन्त्रमा चाप परिरहेको समयमा लागु भएको मार्गदर्शनले व्यवसायमा जटिलता थपेको उल्लेख छ । व्याजदरको उतारचढाव, राष्ट्रिय अन्तराष्ट्रिय आर्थिक असहजता, अन्तराष्ट्रियरुपमा आकाशिएको इन्धन एवं कच्चा पदार्थको मूल्य तथा लजिष्टिक्स र फ्रेट शुल्कमा समेत बृद्धि भएको छ । यसले गर्दा अनुमानित वित्तीय विवरण निर्धारण र चालु पूँजीको वास्तविक आवश्यक सीमा निर्धारण बीच तादाम्यता नमिल्ने र चालु पूँजीको अभावमा उद्योग सञ्चालनमै कठिनाई उत्पन्न भएको छ । दक्षिण एशियामै नेपालको अन्तराष्ट्रिय व्यापारमा लाग्ने समय वढि भएर चौतर्फी समस्या भोगिरहेको अवस्थामा मार्गदर्शन तत्काल कार्यान्वयन गर्न सकिदैन् । उद्योगहरूलाई यसले थप प्रभावित पारेको उल्लेख छ ।

चालु पूँजी मार्गदर्शन २०७९ को कार्यान्वयन कम्तीमा दुई बर्ष स्थगन गर्नु पर्ने र दुई बर्षसम्म मार्गदर्शनमा निजी क्षेत्रलाई प्रभाव पार्ने व्यवस्थाको सुधारको पहल पनि जारि राख्नुपर्छ । ती सुधार गर्नुपर्ने बिषय महासंघले केन्द्रिय बैंकमा बुझाइसकेको छ । अहिले अर्थतन्त्रले नियामक निकायबाट दण्डात्मक नभई प्रवर्द्धनात्मक सुधार माग गरिरहेको हुँदा यस बिषयमा केन्द्रीय बैंक सकारात्मक हुने महासंघको विश्वास छ ।

तरलता व्यवस्थापन एवं ब्याजदर स्थायित्व हो । मौद्रिक नीति समिक्षामार्फत वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाले ब्याजदर बढनबाट रोक्ने सम्भावना बलियो देखिएकाले यसकालागि हामी केन्द्रिय बैंकलाई धन्यवाद दिन चाहन्छौ । यसको निर्देशिका चाडै आएर तत्काल कार्यान्वयन हुनुपर्छ ।

यसले तत्काल ब्याजदर घटाउने सम्भावना भने देखिदैन् । यतिले मात्रै मूल समस्या समाधान नगर्ने हुँदा जबसम्म बैंक वित्तीय संस्थाको आधार दर घटदैन, तबसम्म ब्याजदर घटदैन् । ब्याजदर नघटने हो भने अर्थतन्त्र जोगाउन कठिन हुनेछ । त्यसैले तत्काल बजारमा तरलता प्रवाह गर्ने र ब्याजदर घटाउने उपाय सरकार र केन्द्रीय बैंक दुवैले पहिल्याउनु पर्नेमा महासंघको जोड छ । 

सो अवसरमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले अर्थतन्त्र संवेदनशील अवस्थामा रहेकोतर्फ आफूपनि चिन्तित रहेको बताए । अर्थतन्त्रलाई सही दिशामा ल्याउनेतर्फ राजनीतिक दलहरू बढी क्रियाशिल हुनुपर्नेमा निजी क्षेत्रले चिन्ता व्यक्त गर्दै महासंघले अर्थतन्त्र जोगाउन गरेको पहलमा आफ्नो पूरा सहयोग रहने विश्वास दिलाए ।

त्यसैगरी माओवादीका अध्यक्ष प्रचण्डले देशको आर्थिक अवस्थालाई कसरी माथि लैजान सकिन्छ र अहिलेको समस्या समाधान गर्न सकिन्छ भन्ने वारेमा आफूपनि गम्भीर रहेको बताए  । अध्यक्ष प्रचण्डले समस्या समाधानमा सबैको सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्दै राजनीतिक नेतृत्वको हिसावले उद्योग व्यवसाय क्षेत्रको समस्या समाधान र महासंघका सुुझाव कार्यान्वयनमा आफ्नो विशेष सहयोग रहने विश्वास दिलाए । 

गभर्नरसँग रुष्ट रहेका महासंघका पदाधिकारी गुहार माग्दै अर्थमन्त्रीको शरणमा