पोखरामा  ‘हट एयर बेलुन’ चढ्ने हो ?

Advertisement

काठमाडौं । पर्यटकीय नगरी पोखरा विशेषगरी साहसिक खेलको लागि स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा पर्ने गरेको छ । पोखराको आकर्षण प्याराग्लाइडिङ, राफ्टिङ, जिपलाइन, बन्जी जम्प, अल्ट्रालाइट, क्यानोनिङले मात्रै नभएर ‘हट एयर बेलुन’ले पनि बढाएको छ । 

पोखरामा सन् २०१८ देखि ‘हट एयर बेलुन’ उडाउन थालिएको हो । बेलुन नेपालका महाप्रबन्धक निर्मल श्रेष्ठका अनुसार हट एयर बेलुन उडान गर्न विभिन्न देशका विदेशीका साथै नेपाली पर्यटकहरु पोखरा आउने गर्छन् । नेपालमा पहिलो पटक सञ्चालनमा ल्याइएको यो नौलो साहसिक खेल हो । 

Advertisement

अहिले पोखरामा विदेशी तथा आन्तरिक पर्यटकहरुको चहल पहल राम्रो छ । हट एयर बेलुनमा उडान भर्नेको संख्या पनि बढ्दो रहेको उनले बताए । विशेषगरी भारतीय भारतीय पर्यटक र नेपालीहरु हट एयर बेलुन चढ्न रुचाउँछन् । 

उनले भने, ‘अहिले हरेक दिन बिहान एउटा र बेलुका एउटा उडान फेवातालको सिरान भाग पामेमा सञ्चालन गरिरहेका छौं । हाम्रो क्षमता नै अहिले प्रतिदिन १६ जनाको छ । त्यही भएर दिनमा १४ देखि १६ जनाको दरले पर्यटकहरुलाई उडाउने गरेका छौं ।’ 

पोखराको विमानस्थलदेखि करिब ८–९ किलोमिटरको दुरीमा उडान हुने गर्ने गरेकाले हवाई उडानमा यसले समस्या नबनाउने श्रेष्ठको दावी छ । बेलुनमा उडानबाट पोखरा, फेवाताल, वन जंगल, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने उनले जनाए । 

हट एयर बेलुनमा ३०–४० मिनेटसम्म हावामा उकालो चढ्दा फेवा तालको मनोरम दृश्यहरू हेन् सकिन्छ । मौसम राम्रो हुने बेला दिनमा २४ जनासम्म पर्यटकलाई सेवा दिने गरेको पनि श्रेष्ठले सुनाए । 

मौसम राम्रो रहेको बेला दिनमा बिहानमा दुई वटा उडान र साँझमा एउटा उडान गर्ने गरेको बताउँदै उनले, ‘दिनमा चार वटासम्म फ्लाइट गर्न सकिन्छ । तर त्यसको लागि मौसम राम्रो हुनुपर्छ ।’  ‘हट एयर बेलुन’ उडान सञ्चालनका लागि १२ जना कर्मचारी कार्यरत रहेको श्रेष्ठले जानकारी दिए । उनले भने, ‘छ जनाको टिम हुन्छ । एक जना चाहिं पाइलट हुन्छ ।’ 

व्यवसायी श्रेष्ठले  ‘हट एयर बेलुन’ सञ्चालन गर्न अरु जिल्लाबाट पनि प्रस्तावहरु आइरहेको सुनाउँदै यदि अरु जिल्लामा पनि यो सेवा सञ्चालन गर्ने हो भने अनुमतिको प्रक्रियामा जानुपर्ने बताए । उनले भने, ‘हामीसँग अहिले हट एयर बेलुन एउटा मात्र छ । कुनै पनि ठाउँमा यस्तो सेवा सञ्चालन गर्ने हो भने स्थानीय निकायबाट र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमनि लिनुपर्ने हुन्छ । त्यसपछि मात्र बेलुन लान र फ्लाइट गर्न मिल्छ ।’ 

उनले  ‘हट एयर बेलुन’ सञ्चालन गर्दा मौसम सफा मात्रै भएर नपुग्ने बताउँदै प्राविधिकरुपमा सुरक्षाको कुरा पनि भरपर्दो हुनुपर्छ भने ।  ‘हट एयर बेलुन’ उडान गर्न त्यति सजिलो नरहेको श्रेष्ठको भनाई छ । उनले भने, ‘किनभने यो बेलुन निकै ठूलो आकारको हुन्छ । त्यसको लागि एक ठाउँबाट अर्को ठाउँमा लान गाह्रो पर्छ । उडान गर्न सम्वन्धित निकायहरुबाट पनि अनुमति लिनुपर्ने हुन्छ ।’ 

यद्यपि श्रेष्ठले अन्य जिल्लामा यस्तो सेवा सञ्चालन गर्ने सोच आफ्नो नरहेको बताए । उनले भने, ‘अहिले पोखरामा नै सिजन चलिरहेको छ । अरु जिल्लामा सञ्चालन गर्ने योजना तत्काल छैन् । भविष्यमा बन्न सक्ला । धेरै जिल्लाबाट अनुरोध आइरहेको छ । नयाँ बेलुन किनेर त्यहाँ सञ्चालन गर्ने होइन् । यहींबाट लगेर एक–दुई दिन सञ्चालन गर्ने हो । कति दिनको कार्यक्रम हुन्छ ? त्यो हिसाबले लाने हो । स्थायीरुपमा सञ्चालन हुने भनेको पोखरामा नै हो ।’ 

‘हट एयर बेलुन’मा विक्रम वादे, दीपक श्रेष्ठ, सविन महर्जनको लगानीमा सञ्चालनमा ल्याइएको हो । सुरुमा  ‘हट एयर बेलुन’ काठमाडौंमा सञ्चालन गर्ने योजना बनाइए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ र अरु विभिन्न कारणले उडान गर्न नमिल्ने भएपछि पोखरामा स्थायीरुपमा सञ्चालनमा ल्याइएको महाप्रवन्धक श्रेष्ठले बताए । 

मानिसहरुमा हट एयर बेलुन उडानको बारेमा जिज्ञासा र डर धेरै हुने गरेको सुनाउँदै उनले सुरक्षाको कुराहरुमा उनीहरुले धेरै चिन्ता जनाउने गरेको बताए । जहाज उडान जस्तै  ‘हट एयर बेलुन’ उडानमा पनि नियम हुने सुनाउँदै श्रेष्ठले भने, ‘यो किसिमले हाम्रा उडानहरु सुरक्षित उडान हुन्छ जसरी जहाजमा यात्रा गर्दा सुरक्षा उपायहरु अपनाएको हुन्छ । यो उडान पनि एर ट्राफिक कन्ट्रोलको मार्गदशन मा नै उडान गर्ने हो ।’ 

कुनै पनि घटना भयो भने यात्रुसँगै पाइलटको समेत जोखिम बहन हुन्छ हुने उनले बताए । श्रेष्ठले थपे, ‘यसमा त्यस्तो कुनै पनि यात्रुहरुले सोचेको जस्तै जोखिम हुँदैन् । भवितव्य भयो भने छुटै कुरा हो । हामीले सुरक्षाका सबै विधि अपनाएर उडान गरिरहेका छौं ।’ उडान गर्नुअघि यात्रुहरुलाई सुरक्षा मापदण्डबारे ब्रिफिङ पनि हुने उनले जानकारी दिए । 

महाप्रवन्धक श्रेष्ठले  ‘हट एयर बेलुन’ चढ्ने यात्रुहरुको मागअनुसार थप बेलुन थप्ने सोच पनि बनाएका छन् । उनले भने, ‘पर्यटकको चाप हेर्दा दुई वटा थप्नु पर्छ जस्तो छ । पोखरा आउने कम्तिमा दुई दिनलाई घुम्न आउँछन् । हाम्रो सिट सीमित छ । त्यो हुँदा बेलुन चढ्न मन भएका धेरै मानिस त्यत्तिकै फर्किनुपर्ने बाध्यता छ । त्यो भएकाले केही बेलुन थप्ने सोचमा छौं । हेरौं के हुन्छ ?’

Advertisement

Advertisement