महाकालीमा भारतीय अतिक्रमणको विरोध  बढ्दै गएपछि सरकारले पठायो कुटनीतिक नोट

Advertisement

काठमाडौं । सरकारले महाकाली नदी अतिक्रमण गरी एकतर्फी रुपमा भइरहेको तटबन्ध निर्माण रोक्न आग्रह गर्दै भारतलाई कुटनीतिक नोट पठाएको छ ।

महाकाली सन्धीको आधारमा भारतीय पक्षले नदी अतिक्रमण गरी तटवन्ध निर्माण गरेपछि विरोध बढ्दै गएको थियो । उक्त विरोधपछि सरकार कुटनीतिक नोट पठाउन बाध्य भएको हो । सुगौली सन्धीअनुसार महाकाली नदी पूरै नेपालको भए पनि महाकाली सन्धी गर्दा नदी नेपाल र भारतको साझा नदी कायम गर्ने काम भएको थियो । 

Advertisement

परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय दूतावासमार्फत सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी भइरहेको तटबन्ध निर्माण र सोही विषयलाई लिएर वारी दार्चुलामा रहेका नेपालीहरूमाथि भारतीय पक्षबाट भएको ज्यादतीलाई लिएर कुटनीतिक नोट पठाएको हो ।

सोमबार गृहमन्त्रालयले दार्चुलाको सीमा क्षेत्रमा भइरहेका घटनाबारे तयार पारेको स्थलगत प्रतिवेदन परराष्ट्रलाई बुझाएपछि आज कुटनीतिक नोट पठाइएको हो ।

नोटमा नेपालले भारतलाई सीमानदी महाकालीमा एकतर्फी रुपमा भइरहेको तटबन्ध निर्माण कार्य रोक्न, सीमाक्षेत्रमा निर्माण कार्य गर्दा नेपालसँग पहिले सल्लाह गरेर सहमति लिन र सीमाक्षेत्रमा शान्ति व्यवस्था खलबलिने गरी यस्ता घटना दोहोरिन नदिन सचेत गराइएको छ । 

सीमा पारीको धार्चुला र नेपालको दार्चुलाको बीचमा महाकालीमा भारतले एकतर्फी रुपमा विगत एक वर्षदेखि तटबन्ध निर्माण गरिरहेको छ । केही दिनअघि तटबन्ध निर्माणको विरोधमा उत्रिएका नेपालीमाथि भारतीय पक्षले ढुंगा हान्दा तीनजना बालकसहित केही घाइते भएका थिए । 

Advertisement

Advertisement