राष्ट्र बैंकको नीतिमा हस्तक्षेप गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषदमा, गभर्नरको आलोचना

Advertisement

काठमाडौं । मन्त्रिपरिषदको मंगलबारको बैठकमा नेपाल राष्ट्र बैंकले लिएको नीतिको आलोचना भएको छ । राष्ट्र बैंकको मौद्रिक नीतिका कारण अर्थतन्त्र र उद्योगी व्यवसायीलाई समस्या भएको भन्दै मन्त्रीहरुले हस्तक्षेप गर्नुपर्ने आवाज उठाएका हुन् । 

उनीहरुले बैंकको ब्याजदर चर्को हुँदा उद्योगहरु सञ्चालनमा समस्या आएको भन्दै यसको पनि निकास निकाल्नुपर्ने बताएका थिए । कतिपय मन्त्रीहरुले आर्थिक समस्या समाधान गर्न भन्दा पनि बढाउन गभर्नर महाप्रसाद अधिकारीले भूमिका खेलेको भन्दै आलोचनासमेत गरेको स्रोतको भनाई छ । 

Advertisement

बैठकमा गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले अहिलेको मौद्रिक नीति र बैंकहरूले तोकेको ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या आउने भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने बताएका थिए । उनीहरुले त्यसो भन्दा प्रधानमन्त्री शेरबहादुर देउवा मौन थिए । 

मन्त्रिहरुले बैंकको ब्याजदर र राष्ट्र बैंकको नीतिका विषयमा निकास ननिकाले उद्योग व्यवसाय र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्ने भन्दै राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जासम्वन्धी नीतिको समेत चर्चा भएको थियो । उक्त नीतिको ठूला व्यवसायीहरुले बढी आलोचना गर्दै आएका छन् । सो नीति खारेज गर्न उनीहरुले आग्रह गर्दै आए पनि राष्ट्र बैंकले अस्वीकार गर्दै आएको छ । 

मौद्रिक नीति र बैंकको ब्याजदरका कारण सञ्चालन गर्न नसक्ने अवस्था आएको भन्दै पछिल्ला दिनमा व्यवसायीहरुले मन्त्री र नेताहरुको ध्यानाकर्षण समेत गराउँदै आएका छन् । आजकै बैठकले महंगा गाडी, मदिरा र मोवाइल आयातमा लाग्दै आएको प्रतिवन्ध फुकुवा गर्ने निर्णय पनि भएको छ । 

Advertisement

Advertisement