सरकारविरुद्ध अटोमोवाइल व्यवसायी सडकमा, यस्ता छन् नाडाका मागहरु

Advertisement

काठमाडौं । अटोमोवाइल व्यवसायीहरुले बिहीबार माईतीघर मण्डलामा धर्ना दिएका छन् । नाडा अटोमोबाइल्स एशोसिएशनको आयोजनामा भएको विरोध कार्यक्रममा व्यवसायीहरुले सवारी साधनहरुको आयात खुले पनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको बताए । 

उनीहरुले सरकारसँग व्यवसायीमैत्री नीति ल्याउन पनि माग गरे । अटो व्यवसायीहरुले अगाडि सारेका मागहरु सरकार र राष्ट्र बैंकले पूरा नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए । 

Advertisement

धर्ना कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापाले सवारी आयात गर्न खुला भए पनि एलसी खोली गाडी आयात गर्न ५० प्रतिशत नगद मार्जिन कायम रहेकाले मार्जिन हटाउनुपर्ने बताए । उनले गाडी आयात खुला गरे पनि ५० प्रतिशत मार्जिन राख्नुपर्ने, ५० प्रतिशत मात्रै फाइनान्सिङ गर्न पाइने व्यवस्थाले अटो व्यवसायीहरु मारमा परेको बताए । 

थापाले सरकार र राष्ट्र बैंकले ५० प्रतिशत नगद मार्जिनलाई पूरानै अवस्थामा ल्याउनुपर्ने, ५० प्रतिशत मात्रै फाइनान्सिङ गर्न पाउने व्यवस्थालाई ८० प्रतिशत बनाउनुपर्ने माग रहेको बताए । सरकारले गाडी आयात गर्न दिने निर्णय भए पनि प्रतिवन्ध गर्नुभन्दा पहिला लागू गरिएका सबै व्यवस्था हटाउनुपर्ने उनको भनाई छ । 

अध्यक्ष थापाले सरकाले गाडीको आयात खुले पनि अहिलेकै बैंक ब्याजदरमा कसैले गाडी खरिद नगर्ने बताए । उनले ब्याजदर उच्च रहेको र ५० प्रतिशत मात्रै फाइनान्सिङ हुने अवस्थामा गाडी बिक्री नै नहुने बताए । थापाले आयात खुल्ला भएपनि तत्काल गाडी ल्याउनसक्ने अवस्था नभएको बताए । 

उनले शान्तिपूर्ण धर्ना तथा दबाब मुलुक कार्यक्रम गर्दा सरकारले अटो व्यवसायीहरुका मागलाई सम्बोधन नगरे थप आन्दोलन गर्ने चेतावनी पनि दिए । थापाले नाडाले अटो व्यवसायीहरुको हकहीतको लागि चरणवद्ध आन्दोलन गरेको बताए । उनले सरकारको अटो व्यवसायीमैत्री नीति बनाउन नसक्दा गाडीका शोरुमहरुमा हुनुपर्ने व्यवसायीहरु सडकमा आउनुपर्ने अवस्था आएको बताए । 

उनले अटो क्षेत्रका लागि राष्ट्र बैंकले बनाएका नीतिहरु व्यवसायीहरुले गरिखान दिन खालको नभएको बताए । थापाले बजारमा तरलता अभाव, ब्याजदर वृद्धि जस्ता समस्या भएको अवस्थामा सहुलियत दिनुपर्ने ठाउँमा व्यवसाय गर्ने वातावरण नदिएको बताए । 

राष्ट्र बैंकले अटो क्षेत्रको कर्जामा जोखिम भारलाई १५० प्रतिशत पुर्याएको छ । व्यवसायीले भने पुरानै अवस्थामा अर्थात् ७५ प्रतिशत नै कायम गरिनुपर्ने माग गरेका छन् । कोभिड तथा आयात प्रतिवन्धका कारण लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनरतालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने अटो व्यवसायीको माग छ । 

राष्ट्र बैँकद्वारा जारी चालु पुँजी कर्जा मार्गदशर्न, २०७९ तत्कालका लागि स्थगित गर्न माग गरेको छ । सतप्रतिशत नगद मार्जिन र ५० प्रतिशत नगद मार्जिन राखेर प्रतित पत्र खोल्नुपर्ने व्यवस्थालाई पहिलेकै अवस्थामा ल्याउनुपर्ने माग गर्दै व्यवसायीले अटोलोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनुपर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनुपर्ने, बैंकहरुको तरलता अभावलाई सहज बनाउन सिडी रेसियोलाई पुनरवलोकन गर्नुपर्ने, बैकहरुबाट सवारी साधनको हायर प्रचेज लोन स्वीकृत भएपश्चात जारी गरिने डेलिभरी ओर्डर (डीओ) बापतको भुक्तानी समयावधि सवारीसाधन बैंकको नाममा नामसारी भएको एक हप्ताभित्र गरिनुपर्ने माग गरेका छन् । 

त्यस्तै बैकहरुबाट निजी सवारी साधनको हायर प्रचेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टू भ्यालु रेसियोको हालको सीमा ५० प्रतिशतबाट वृद्घि गरी ७० प्रतिशत कायम गर्नुपर्ने, पुनर्कर्जा नवीकरण गर्ने म्याद एक वर्षको लागि थप गरिनुपर्ने, कोभिड तथा आयात प्रतिवन्धका कारण लामो समयदेखि थला परेको अटोमोबाइल व्यवसायको पुनरुत्थानका लागि कर्जामा पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने माग पनि उनीहरुको छ । 

धर्नामा व्यवसायीहरुले जस्ले कर तिर्छ, उसैलाई पेल्छ, बैंकले अपमान गर्छ, सरकार व्याजदर कहिले घट्छ ? जस्ता नारा लेखेका प्लेकार्ड बोकेर विरोधमा उत्रिएका थिए । 

Advertisement

Advertisement