सरकारले अटो व्यवसायीलाई गरिखान नदिएकाले सडकमा आउनुपर्योः नाडाका अध्यक्ष थापा

Advertisement

काठमाडौं । अटोमोवाइल व्यवसायीहरुको संगठन नाडा एशोसियशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले सरकारले अटो व्यवसायीहरुलाई गरिखान नदिएकाले बाध्य भएर सडकमा आउनु परेको बताएका छन् । 

सरकारीको नीतिको विरोधमा एशोसियशनको आव्हानमा बिहीबार माइतीघरमा भएको विरोध कार्यक्रममा उनले आफूहरुले गरेर खाने सहज वातावरण बनाउन आग्रह गर्दा पनि सरकारबाट सुनुवाई नभएकाले बाध्य भएर विरोधमा उत्रिनुपरेको बताए । 

Advertisement

थापाले भने, ‘तपाईंहरुलाई लाग्ला व्यवसायीहरु किन यसरी सडकमा आए ? तर, तपाईंहरुले थाहा पाउनुस्, यो त हाम्रो धर्म हो । धेरै कुरा मिडियामा समेत आएकै छन् । मलाई केही साथीहरुले भन्नु पनि हुन्छ ‘आफ्नो अनुकुलमा जे जस्तो छ त्यसैमा व्यवसाय चलाउनु’ भनेर । तर, हामी त्यस्तो गर्दैनौं । हामी पनि जनताप्रति उत्तरदायी नै छौं । हामीले जनतालाई अहित हुने हिसाबले व्यवसाय गर्दैनौ र गर्न सक्दैनौं । त्यसैले हाम्रो मागहरु पूरा हुनुपर्छ । राष्ट्र बैंक, मन्त्रालयहरु, प्रधानमन्त्री कार्यालयमा पनि हामी पुग्यौं । एक वर्षसम्म हाम्रो माग सम्बोधन भएन् बाध्य भएर सडकमा आउनु परेको हो ।’

उनले गाडीको आयात खोल्ने सरकारको निर्णय सकारात्मक भए पनि गाडी बेच्ने वातावरण नरहेको बताए । थापाले थपे, ‘अब त आयात खुल्यो, आन्दोलन रोकिन्छ भन्ने धेरैले सोच्नु भएको रहेछ । तर कुरा त्यस्तो होइन् । हामीले आयात खुलेको कुरालाई सकारात्मक नै लिएका छौं । तर, आयात खुले पनि बेच्ने साधन, बेच्ने वातावरण त हुनुपर्यो नि ।’ 

उनले राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जासम्वन्धी व्यवस्था स्थगन गर्नुपर्ने सत प्रतिशत मार्जिन अझै कायम रहेकाले अटो व्यवसायमा नगद मार्जिन ५० प्रतिशत राख्नुपर्ने बताए । थापाले भने, अहिले अवस्था सहज छैन् । चालु पुँजी कर्जाको नीति दुई वर्षलाई स्थगन गर्दा हुन्छ भन्ने हाम्रो माग हो । सत प्रतिशत मार्जिनको व्यवस्था अझै पनि छ । गाडी व्यवसायमा नगद मार्जिन ५० प्रतिशत राख्नुपर्छ भन्ने हाम्रो माग हो ।’

विरोध प्रदर्शनका क्रममा अटोमोवाइल व्यवसायीहरुले बैंकको चर्को ब्याजदर व्यवसायीमैत्री नभएको, आयात खुला भए पनि शोरुममा राखेको गाडी नबिक्ने अवस्था रहेको, सरकारलाई पटक पटक आग्रह गर्दा पनि सुनुवाई नगरिएको बताएका थिए । 

व्यवसायीहरुको आक्रोस बढी नेपाल राष्ट्र बैंकप्रति देखिन्थ्यो । उनीहरुले वर्षौनी ठूलो कर तिर्ने व्यवसायीहरुप्रति सरकार अनुदार भएको गुनासो गरेका थिए । देशको अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने, ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने क्षेत्र अटोमोवाइल भएको बताउँदै उनले जनताको जनजीवनसँग अटोमोवाइल क्षेत्र जोडिन थालेको बताएका थिए । 

Advertisement

Advertisement