पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न भारतीय र चिनियाँ एयरलाइन्सहरुको चासो

Advertisement

काठमाडौं । आउँदो पुस १७ बाट औपचारिक सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन गर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले चासो देखाउन थालेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

पर्यटकीय नगरी पोखरामा चिनियाँ ऋण तथा अनुदानमा चिनियाँ निर्माण कम्पनीले नै तयार गरेको उक्त विमानस्थलको उद्घाटन गत बर्ष चिनियाँ विदेशमन्त्रीले नेपाल भ्रमणका क्रममा गरिसके पनि औपचारिक सञ्चालन भने पुस १७ मा हुन लागेको हो । 
 
सो विमानस्थलमा उडान सञ्चालनका लागि विभिन्न देशका एयरलाइन्स कम्पनीहरुले चासो देखाइरहेको बताउँदै प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भारतीय र चिनियाँ उड्डयन कम्पनीहरुले सम्पर्क गरिरहेको बताए । पोखरा विमानस्थलबाट नेपालका उड्डयन कम्पनीहरु बुद्ध एयर, हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्ने बताइसकेका छन् । 

Advertisement

चीनको कम्तिमा पनि एउटा उडान पोखरा विमानस्थलबाट हुने निरौलाको दावी छ । उनका अनुसार जुन कम्पनीले पोखरा विमानस्थल निर्माण गरेको हो, उनीहरुको तर्फबाट कम्तिमा एउटा उडान गर्नुपर्छ भन्दा उनीहरु सकारात्मक भएका छन् । यद्यपि निर्णय भने हुन बाँकी रहेको निरौलाले बताए । 

उनी भन्छन्, ‘चीनबाट एउटा उडान हुन्छ । उनीहरुले पोखरा विमानस्थलबाट उडान गछौं भनेको छ । तर कुन एयरलाइन्सले गर्ने ? भनेर चाहिं टुंगो लगाइहालेको छैन् ।’ त्यस्तै, जजिरा एयरवेजले पनि पोखरा विमानस्थलबाट उडान गर्ने बताएको निरौलाले जानकारी दिए । 

जजिराले उडान अनुमतिको प्रक्रिया भने अघि बढाउन बाँकी रहेको छ । पोखरा विमानस्थलमा भएको कमिसनिङ कोल्याब्रेशन (यान्त्रिक परीक्षण) उडानको प्रतिवेदन एक हप्ताभित्र आउने उनले बताए । 

यसअघि पुस १७ बाट नै पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने बताएको बुद्ध एयरले आफ्नो योजनामा केही संशोधन गर्ने देखिएको छ । उसका अनुसार पुस १७ गतेबाट उडान सुरु हुन्छ भन्न सक्ने अवस्था छैन् । व्यवसायिक उडानका लागि विमानस्थल पनि तयारी हुनुपर्ने? अध्यागमनदेखि धावनमार्ग तयारी अवस्थामा हुनुपर्छ । सबै कुरा ठिक र तयारी भएपछि योजनाअनुसार उडान सुरु गर्ने उसको भनाई छ । 

त्यस्तै, जजिरा एयरवेजका एक अधिकारीले आफूहरु यान्त्रिक परीक्षण उडानको रिर्पोटको प्रतिक्षामा रहेको बताए । उनले भने, ‘पोखराबाट पनि उडान गर्ने योजनामा छौं । हामी अहिले पोखराको बजार सर्वेक्षण गर्दैछौं ।’ 

Advertisement

Advertisement