शेयर बजार नयाँ सरकारको प्रतीक्षामाः ५० लाख लगानीकर्ताको मनोबल बढाउने काम गर्न सुझाव

Advertisement

काठमाडौं । लामो समयदेखि शेयर बजारमा बहार छाउन सकेको छैन । बजार निरन्तर घट्न थालेपछि लगानीकर्ताहरुले आफूहरुको लगानी संकटमा रहेको प्रतिक्रिया दिइरहेका छन् । 

शेयर धितोकर्जामा ४-१२ को सीमामा राष्ट्र बैंकले गरेको परिवर्तन, स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन तथा पछिल्लो समय आर्थिक अवस्थामा सुधार आएको राष्ट्र बैंकको त्रैमासिक प्रतिवेदन पछि पनि बजारमा सुधार देखिएको छैन । 

Advertisement

पछिल्लो समय मुलुक नयाँ सरकार चयनको चरणमा प्रवेश गर्न लागेको छ । शेयर बजार पनि नयाँ सरकारको प्रतीक्षा गरिरहेको जस्तै देखिन्छ । नयाँ सरकार गठन पछि शेयरमा सुधार आउन सक्ने शेयर लगानीकर्ताहरुको आँकलन छ । 

यसैक्रममा नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले शेयर लगानीकर्ताहरुको जायज माग पूरा गर्नु पर्नेमा जोड दिएकी छिन् । राज्यको शेयर बजारप्रतिको गलत बुझाई र नीतिका कारण लगानीकर्ताले समस्या भोग्दै आएको उल्लेख गरिन् । 

यसैगरी नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिकाप्रसाद पौडेलले सामाजिक सञ्जाल मार्फत ५० लाख बढी लगानीकर्ताको मनोबल बढाउने काम गरौं, आधाआधी समस्या त्यही समाधान हुन्छ भनी प्रतिक्रिया जनाएका छन् । 

यस्तो रह्यो शेयर बजार 

यो साता चार दिन शेयर बजार खुल्दा तीन दिन घट्यो भने १ दिनमात्रै बजार उकालोतर्फ लम्केको थियो । साताको पहिलो दिन बजार केही माथि उक्लिए पनि बाँकी दिन दिन लगातार घटेको थियो । आज बिहीबार भने उधौली पर्वका कारण बजार बन्द रहेको थियो । 

यो साता समग्रमा ४३.७८ अंकले नेप्से तल झर्यो । समग्रमा चार अर्ब ३४ करोड ८६ लाख २१ हजार ९ सय ७६.७७ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । हिजोसम्म बजार घटेर १९१७.२८ अंकमा झरेको छ । यसअघि ३२ सय अंकमा पुगेर बजार तल झर्दै आएको हो । 

यो साताको पहिलो आइतबार बजार २.१६ अंकले बढ्दा १ अर्ब ५६ करोड १७ लाख २ हजार ९ सय ९२.०१ रुपियाँ, सोमबार २४.४६ अंकले बजार घट्दा १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४.६३ रुपियाँ, मंगलबार ४.८७ अंकले बजार तल झर्दा ९६ करोड ५२ लाख १० हजार ८ सय ९९.१४ रुपियाँ र बुधबार १६.६१ अंकले बजार घट्दा एक अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५ सय ५०.९९ रुपियाँ बराबरको कारोबार भएको थियो ।   
 

Advertisement

Advertisement