ठूला माछादेखि त्रसित अख्तियार, तर प्रेम राई भन्छन्, ‘चार खम्बे रणनीति अपनाउँदै छौं'

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आयोग प्रतिवद्ध रहँदै आएको जिकिर गरेका छन् । 

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रणका लागि आएका उजुरीउपर तथ्य प्रमाणको आधारमा प्रभावकारी अनुसन्धान एवम् अभियोजनको काम भइरहेको पनि बताए । 

Advertisement

मुलुकमा भ्रष्टाचार बढेको र साना भ्रष्टाचारीको पछि लागेर अख्तियारले ठूला माछाहरुलाई उपेक्षा गरेको आरोप खेप्दै आएको बेला राईले भने भ्रष्टाचार नियन्त्रणमा आफू प्रतिवद्ध रहेको दावी गरेका हुन् । ठूला दल र नेताहरुको दाउपेच र दबाबका कारण अख्तियार निष्क्रिय जस्तो बन्दै आएको छ । ठूला दलका नेताहरुको नाममा अर्बौं रुपियाँको भ्रष्टाचार र अनियमितताका मुद्दा भए पनि उसले छानविन र कारवाही अघि बढाउन सकेको छैन् । 

राईले संविधानले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरी भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माणका लागि उपचारात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासको चार खम्बे रणनीतिलाई आयोगले अवलम्बन गरिरहेको तर्क गरे । 

भ्रष्टाचारविरुद्ध कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी निकायको समन्वयात्मक प्रयत्न हुन जरुरी रहेको औंल्याउँदै उनले भ्रष्टाचारका दृष्टिले उच्च जोखिम क्षेत्रमा विशेष निगरानी बढाउने कामलाई अघि बढाइएको बताए । राईले भने, ‘भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको नेपाल पक्ष राष्ट्र बनिसकेको सन्दर्भमा यसबाट सिर्जित दायित्व, चुनौति र जिम्मेवारी निर्वाह गर्न विद्यमान कानुन, नीति र संरचनामा समयानुकूल सुधार र परिवर्तन गर्ने गरिएको छ । भ्रष्टाचारविरुद्धको राष्ट्रिय कानुन, नीति र रणनीतिको तर्जुमा र कार्यान्वयन मूल्यांकनका लागि भ्रष्टाचारविरुद्ध कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी निकायको समन्वयात्मक प्रयत्न हुन जरुरी छ ।’ 

उनले थपे, ं‘भ्रष्टाचारको दृष्टिले उच्च जोखिमयुक्त क्षेत्रको विशेष निगरानी बढाउनका साथै जोखिममा आधारित अनुसन्धान पद्धति कार्यान्वयन गर्ने गरेको छ । जोखिमयुक्त क्षेत्रमा अग्रसरतापूर्वक निगरानी गरी भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान र अभियोजन गर्ने गरिएको छ । सार्वजनिक निकायहरुमा संस्थागत सदाचारिता अभिवृद्धि गर्ने र भ्रष्टाचारका उजुरी उपर तथ्य प्रमाणको आधारमा बस्तुगत दक्षतापूर्ण एवम् प्रभावकारी अनुसन्धान, अभियोजन गरी भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनका लागि आयोग प्रतिवद्ध रहँदै आएको छ । भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा नेपालले गर्दै आएको प्रतिवद्धता पूरा गर्न आयोग दृढ संकल्पित रहेको व्यहोरा निवेदन गर्दछु । ’

राईले भ्रष्टाचार नियन्त्रण गर्ने राज्यको नीतिलाई व्यवहारमा उतार्ने काममा तीन वटै तहको सरकार, नागरिक समाज, सञ्चारकर्मीलगायत सबैको निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको बताए । 

Advertisement

Advertisement