टरिगाउँमा हप्ताको पाँच दिन उडान

Advertisement

तुलसीपुर । दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको पाँच दिन उडान हुने भएको छ । यसअघि हप्ताको तीन दिनमात्रै उडान हुने गरेको थियो । 

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि बिहीबार, शुक्रबार र शनिबारमात्रै उडान हुँदै आएको थियो । पछिल्लो समय आइतबार र मङ्गलबार पनि उडान भर्ने गरेको उनले बताए । 

Advertisement

हवाई इन्धन डिपोबाट इन्धन ‘रिफ्युल’ गर्न थालेपछि उडान पनि थप गरिएको चौधरीले बताए । उनले भने, ‘यसअघि इन्धन डिपोबाट इन्धन हाल्न सुरु भएको थिएन । अब यहीबाट इन्धन हाल्न थालिएको छ । त्यसैले अहिले हप्तामा पाँच दिन उडान थप गरिएको छ ।’ 

यात्रुको चाप बढेमा प्रत्येक दिन हवाई उडान भर्ने गरी तयारी गरेको चौधरीले बताए । साथै निजी हवाई सेवासँग पनि समन्वय गर्ने गरी तयारी रहेको उनको भनाई छ । चोधरीले थपे, ‘नियमित भएमा हामीले निजी क्षेत्रका जहाज ल्याउने गरिरहेका छौँ । त्यसमा यात्रुको माग कस्तो आउँछ, त्यसमा भर पर्छ ।’ 

केही दिनअघिदेखि विमानस्थलमा निर्माण भएको इन्धन डिपोबाट इन्धन भर्न थालिएको हो । अहिले नेपाल वायुसेवा निगमको १९ सिटे ट्वीनअटर जहाजले सेवा दिइरहेको छ ।     
     
कुनै समय दैनिक दुईवटासम्म उडान भर्ने गरिएको भए पनि पछिल्लो समय हवाई सेवा घटेर तीन दिनमात्रै भएको थियो । यसले गर्दा यस क्षेत्रबाट हवाई सेवाका लागि भैरहवा र नेपालगञ्ज जानुपर्ने बाध्यता थियो । अब यसलाई अन्त्य गर्न थप दुई दिन हवाई सेवा थपिएको छ । यो सँगै अब पाँच दिन हवाई उडान भइरहेको छ ।     
     
विस्तार पहल     
विमानस्थलको धावनमार्ग विस्तारका लागि प्रक्रिया अगाडि बढेको छ । अहिलेको धावनमार्ग सात सय ५० मिटर लम्बाइ रहेको भन्दै यसलाई बढाउनका लागि इञ्जीनियरको टोली आएको उपप्रमुख चौधरीले बताए । 

उनले भने, ‘इञ्जीनियर आएर डिपिआरका लागि सबै हेरेर गइसकेको छ ।’ विमानस्थल विस्तारका लागि पहल गर्न तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख चौधरीको नेतृत्वमा समिति गठन गरेको छ । सोही समितिले अहिले आफ्ना गतिविधि अगाडि बढाएको छ । 

Advertisement

Advertisement