सामाजिक सुरक्षामा अनौपचारिक क्षेत्रका श्रमिक, स्वरोजगार र वैदेशिक रोजगार श्रमिक पनि

Advertisement

काठमाडौं । सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक क्षेत्रको सामाजिक सुरक्षा योजना सञ्चालनका लागि नयाँ कार्यविधि सार्वजनिक गरेको छ । 

कोषले ‘असल श्रम सम्बन्धको आधार समाजिक सुरक्षा र रोजगार’ भन्ने मुल नाराका साथ उक्त योजना सार्वजनिक गरेको हो । कोषले औपचारिक क्षेत्रका श्रमिकहरुका लागि सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७५ कार्यान्वयन गर्दै आफ्नो दायरा बढाउने निर्णय गरेको हो । 

Advertisement

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र कोषको अध्यक्षसमेत रहेका सोही मन्त्रालयका सचिव एक नारायण अर्यालले मंगलबार संयुक्तरुपमा यस सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गरे । कोषले अनौपचारिक क्षेत्रका श्रमिक, स्वरोजगार र वैदेशिक रोजगारीमा गएकाहरुको समेत सामाजिक सुरक्षा गर्ने लक्ष्य सुरुदेखि नै लिए पनि सो कुरा कार्यान्वयन गर्न ढिलाई गर्दैै आएको थियो । 

अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगार श्रमिकहरुका लागि सामाजिक सुरक्षा योजना संचालन कार्यविधि २०७९ र वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७९ गत मंसिर २५ गते सम्वन्धित मन्त्रालयबाट स्वीकृत भएको थियो । 

कोषले आज उक्त कार्यविधि सार्वजनिक गर्दै आफ्नो दायरा बढेको जानकारी दिएको हो । नयाँ कार्यविधिअनुसार अनौपचारिक क्षेत्रका श्रमिकहरुले सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको २० दशमलव ३७ प्रतिशत रकम भन्नाले न्यूनतम मासिक रुपमा एक हजार ९१२ रुपियाँ महिनावारी रुपमा कोषमा योगदान गर्नुपर्ने हुन्छ । 

आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम कोषमा योगदान गरी यस सुविधामा सहभागी हुन सक्ने छन् । त्यस्तै, स्वरोजगार रहेका व्यक्तिहरुले सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३१ प्रतिशतका दरले अधिकतम् यसको तीन गुणासम्म कोषमा योगदान गरी कार्यविधि बमोजिमको सुविधा उपयोग गर्न मिल्ने छ । 

यी कार्यविधिअनुसार नियमित योगदान गर्ने योगदानकर्ताले ओषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योगदान, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी विभिन्न योजनाहरु संचालनमा ल्याएको छ । त्यस्तै, अनौपचारिक र स्वरोजगार क्षेत्रको कार्यविधि आगामी वैशाख एक गतेबाट र बैदेशिक क्षेत्रको कार्यविधि स्वीकृत भएको मितिले ९० औं दिनबाट प्रारम्भ हुने कार्य विधिमा उल्लेख गरिएको छ । 

Advertisement

Advertisement