लथालिङ्ग खेल क्षेत्र, संरचनाहरु जिर्ण बन्दै (फोटो फिचर)

Advertisement

काठमाडौं । पछिल्लो समय नेपालको खेलकुद क्षेत्र निरन्तर खस्किरहेको छ । एकपछि अर्को खेलहरुमा पराजय भोगिरहेको नेपाल उत्कृष्ट जित निकाल्न असक्षम छ । क्रिकेट होस् वा फुटबल, उत्कृष्ट नतिजा निकाल्न नेपाल असक्षम भएको केही समय यताका खेलहरुबाट स्पष्ट हुन्छ । 

नेपालमा सबैभन्दा धेरै फ्यान भएको फुटबलमा समेत गुट, उपगुटका कारण विभिन्न समस्या पैदा हुँदै आएका छन् । यद्यपी मुख्य प्रशिक्षक परिवर्तनपछि भएका दुई मैत्रीपूर्ण खेल भने नेपालले जितेको छ । तर फ्यानहरुका लागि त्यो पनि सन्तोषजनक छैन । दोस्रो धेरै मन पराइने क्रिकेटमा पनि पछिल्लो समय जित निकाल्न नेपाली टिमले सकेको छैन् । 

Advertisement

हालै नामिबियामा सम्पन्न आईसीसी क्रिकेट लिग डिभिजन २ अन्तर्गत भएका सबै खेलमा नेपाल पराजय व्यहोर्न बाध्य भयो । साथै अन्य समूह चरणका खेलमा पनि नेपालले सन्तोषजनक नतिजा निकाल्न सकेको छैन । खेल मात्रै कमजोर होइन, खेल सँगसँगै नेपालका खेलकुद संरचनाहरु पनि कमजोर र जिर्ण बन्दै गइरहेका छन् । 

खेलको अभ्यासका लागि राम्रा र सुविधायुक्त भौतिक संरचना नभइरहेको भन्ने गुनासो बढिरहेको नेपालमा भएका केही संरचनाहरुको समेत उचित संरक्षण र संवद्र्धन हुन नसक्नु दुःखद् हो । यिनै जिर्ण र संरचनामा अभ्यास गर्न खेलाडीहरु बाध्य बनेका छन् । भत्केका संरचनाहरु बनाउन र भएका खेल संरचनाको विकास गर्न लाग्नेतर्फ सम्बन्धित निकायहरु चनाखो देखिँदैनन् । 

संरचनालाई सुविधायुक्त बनाउनु त टाढाको कुरा संरचनाको व्यवस्थापन गर्न पनि कठिन बनेको छ । सरसफाइ र नियमनका कुरा त फोटोमै कसरी भएको छ ? भन्ने स्पष्ट हुन्छ । खेलका संरचनाहरु बिग्रिँदै गएका छन् । सातदोबाटोस्थित स्विमिङ पुलको दर्शक बस्ने कुर्सी, काठमाडौंको मुलपानीको क्रिकेट रंगशाला लगायत अधिकांश काठमाडौं उपत्यकाका खेलकुद संरचनाहरु जिर्ण बनिरहेका छन् । 

त्रिपुरेश्वरस्थित स्विमिङ पुल त भूकम्पले भत्केपछि अलपत्र नै छ । रंगशालामा फ्याँकिएका नवौं साफ खेलकुद प्रतियोगिताको मस्कट, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा च्यातिएको झण्डाहरु तस्बिर हेर्दा नै कस्तो अवस्था रहेछ भन्नेकुरा स्पष्ट बुझिन्छ । तस्वीर स्रोतः नान

Advertisement

Advertisement