वर्ल्डलिङ्कले कार्टेलिङ गर्नखोज्दा समस्या सिर्जना

नेपालमा स्टार इण्डियाको दादागिरी, लाखौं उपभोक्ता प्रभावित, सञ्चार मन्त्रालय मुकदर्शक

Advertisement

काठमाडौं । टेलिभिजनका लाखौं दर्शकहरुको अधिकार कुण्ठित हुनेगरी भारतीय टेलिभिजन कम्पनी स्टार ग्रुपअन्तर्गतको स्टार इण्डिया प्राइभेट लिमिटेडले डिश मिडिया नेटवर्क (डिशहोम)लाई उपलबध गराउँदै आएको टेलिभिजन सिग्नल बन्द गरिदिएको छ । 

नेपालमा सबैभन्दा धेरै ग्राहकलाई डाइरेक्ट टू होम (डीटीएच) प्रविधिमार्फत टेलिभिजन सेवा प्रदान गर्दै आएको डिशहोमले नियमितरुपमा रकम भुक्तानी गर्दै आएको र पछिल्लो किस्ता पनि भुक्तानीका लागि प्रक्रिया अघि बढिसकेको अवस्थामा उक्त कम्पनीमार्फत उपलब्ध हुँदै आएका ३३ वटा स्टार च्यानलहरु एक्कासी बन्द गरिदिँदा डिशहोमका लाखौं उपभोक्तालाई मार परेको हो । 

Advertisement

स्टार प्याकेजअन्तर्गतका धेरै च्यानल नेपाली दशकमार्फत लोकप्रिय रहँदै आए पनि विगत एक सातादेखि ती च्यानलहरु डिशहोममा प्रसारण हुन सकेका छैनन् । यसको प्रमुख कारण इन्टरनेट सेवामा समेत आक्रामकरुपमा सेवा विस्तार गर्दै आएको डिशहोम समूहलाई रोक्न उसका प्रतिस्पर्धीहरुले सिर्जना गरेको अस्वस्थ प्रतिस्पर्धा र कार्टेलिङबाट सिर्जित भएको देखिन्छ । 

नटकीय ढंगबाट डिशहोमलाई उपलब्ध गराउँदै आएको स्टार च्यानलहरुको सिग्नल बन्द गर्ने काम भएपछि विवाद सतहमा आएको छ । स्टार ग्रुपअन्तर्गतका च्यानलहरुको नेपालको एजेन्सी (डिष्ट्रिब्युटर) वर्ल्डलिंकलाई दिइएपछि नयाँ समस्या सिर्जना भएको हो । यस प्रकरणमा सरकारी निकायका अधिकारीहरुको समेत संलग्नता र ठूलो आर्थिक चलखेल भएको सहजै अनुमान लगाउन सकिन्छ । 

डिशहोमले आफ्नो भिन्न शैलीको भेण्डर मोडालिटि र सेल्स नेटवर्कबाट आक्रामकरुपमा सेवा विस्तार गरेसँगै उसका प्रतिस्पर्धीहरु झस्किँदै आएका थिए । इन्टरनेट सेवा प्रदायक (आईसपी)हरुबीच अस्वस्थ र गैरव्यवसायिक प्रतिस्पर्धा चल्दा त्यसको मार आम उपभोक्ताले झेल्नुपरेको छ । स्टार च्यानलहरुको सिग्नल रोक्न सफल भएको मौका छोपेर डिशहोमविरुद्ध नेपाल दूरसञ्चार प्राधिकरणमा थुप्रै उजुरीहरु दर्ता गरिएको छ ।

यस प्रकरणमा स्टार इण्डिया र वर्ल्डलिङ्कले आफ्नो व्यवसायिक नैतिकताको समेत ख्याल नगरी बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना गर्ने र लाखौं दर्शकहरुलाई टेलिभिजन हेर्नबाट बन्चित गर्ने काम गरेको छ । नेपाली व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धाको फाइदा उठाउँदै स्टार इण्डियाले गरेको गैरव्यवसायिक संस्कृतिलाई रोक्न सरकारले कुनै पहल गरेको छैन् । एकले अर्कोलाई सिध्याउन खोज्दा स्टार इण्डियालाई बढी रकम दिएर नेपालको एजेन्सी लिने र भोलि त्यसको लागत उपभोक्ताबाट अशुल गर्ने कुरा अझ ठूलो गैरजिम्मेवार र कसुरजन्य कार्य हुने एक टेलिभिजन सेवा प्रदायकका सञ्चालकले बताए । 

भएको के हो ? 
गएको आइतबार राति १२ बजे डिशहोमलाई उपब्ध हुँदै आएको स्टार इण्डियाका सबै च्यानलहरु एक्कासी बन्द गरियो । बन्द गरिएलगत्तै डिश मिडिया नेटवर्कले पैसा तिर्न नसकेकोले स्टार इण्डियाले लाइन काटेको भनेर व्यापक मात्रामा प्रचारप्रसार सुरु भयो ।  

भुक्तानी नदिएको भनेर बाहिर प्रचार गरिए पनि वास्तवमा त्यसको अन्तर्य नेपालका प्लेयरहरुलाई भिडाएर अधिकतम् फाइदा उठाउने स्टार इण्डियाको रणनीति थियो । त्यही क्रममा करिव तीन साताअघि उसले आफ्नो डिष्ट्रिब्युटरसिप वर्ल्डलिङ्कलाई दिने र डिशहोमका च्यानलहरु बन्द गर्ने काम गर्यो । यसअघि उसले नेपालका एक दर्जन टेलिभिजन सेवा प्रदायक आईएसपीहरुलाई सिधै सिग्नल बिक्री गर्दै आएको थियो । 

डिशहोमबाट सुरु भएको उसको बार्गेनिङ र कार्टेलिङ अब अन्य प्लेयरहरुसँग पनि हुने देखिन्छ । पछिल्लो घटनामा पनि डिशहोमले स्टार इण्डिया प्रा.लि.लाई रकम भुक्तानीका लागि प्रक्रिया अघि बढाइसकेको थियो । जानकारी दिइएअनुसार गएको जुन महिनादेखि सबै आईएसपीहरुले स्टार इण्डियालाई रकम दिन बाँकी थियो । अरुले पछिल्लो किस्ता भुक्तानीका लागि प्रक्रिया सुरु गर्नुअघि नै डिशहोमले मंसिर २८ गते सुचना तथा सञ्चार मन्त्रालयबाट स्वीकृति लिइसकेको थियो । 

उक्त स्वीकृतिपछि नेपाल राष्ट्र बैंक विदेशी मुद्रा भुक्तानीको अनुमति प्राप्त गरेर कम्पनीले रकम पठाउनुपर्ने हुन्छ । त्यस क्रममा शनिबार र आइतबार (पुस १ र २ गते) नेपाल र भारतमा सार्वजनिक विदा भएकाले रकम पठाउन संभव थिइन् । तर आइतबार राति नै स्टार इण्डियाले सबै च्यानलहरु बिना सुचना बन्द गरेपछि डिश मिडिया नेटवर्कका लाखौं उपभोक्ता स्टार च्यानलहरु हेर्नबाट बन्चित हुन पुगे । 

यसरी लाइन नै काट्ने हो भने पनि सार्वजनिक विदाको दिन स्टारले कहिल्यै लाइन काट्दैन्थ्यो । यसअघि एक पटक मात्रै स्टार इण्डियाले डिशहोमको सिग्नल बन्द गरेको इतिहास देख्निछ । त्यसबाहेक कुनै पनि अरु कन्टेन्ट प्रोभाइडरले पैसा नतिरेको वा अन्य कुनै कारणले डिशहोमलाई लाइन काटेको छैन् । तर अहिले रकम पठाउने मौका समेत नदिई आइतबार राति च्यानलहरु रोक्ने काम हुँदा समेत सञ्चार तथा सुचना प्रविधि मन्त्रालय मुकदर्शक बनेर बस्यो । 

जबकी यसअघि यसरी मन्त्रालयबाट स्वीकृति लिएको दुई हप्ताभित्र रकम पठाउँदा उनीहरुले प्रश्न उठाउन मिल्दैन्थ्यो । यस कार्यको अन्य आईएसपीहरुले समेत विरोध गरे पनि मन्त्रालय भने जनताको सुचनाको हक हनन भनेको कुरामा र स्टार इण्डियाको अनधिकृत गतिविधि रोक्ने कुरामा मौन रहँदै आएको छ । नियोजित ढंगले गरिएको यी गतिविधिको उद्देश्य डिशहोमको इमेज बिगार्ने र डीटीएच सेवालाई प्रभावित गर्ने कुराबाट प्रेरित भए पनि मार भने उपभोक्तालाई परेको छ । यस परिदृश्यले भोलि स्टारका च्यानल हेर्न नेपाली उपभोक्ताले थप तिर्नुपर्ने र अझै धेरै रकम मुलुक बाहिर जाने स्थिति देखिएको छ । 

अर्कोतर्फ ‘पे टिभी’का ग्राहक पहिला झण्डै १२–१३ लाख रहेकोमा अहिलेमा अहिले प्रविधिको विकासका कारण सात–आठ लाखमा झरेको छ । तर स्टारभने भने पूरानै दरमा पैसा माग्ने र रेट बढाउने काम गरेर नेपालका कम्पनीहरुलाई पेल्ने काम गर्दै आएको छ । डिशहोमबाट स्टार इण्डियालाई जाने रकम अन्य प्लेयरहरुको तुलनामा निकै धेरै छ । यदि सबैको सिग्नल काटिएको भए पनि तर्क गर्ने ठाउँ रहनेमा डिशहोमलाई मात्रै लक्षित गरेर सिग्नल काट्नुले बदनियत देखिन्छ ।

यस विषयमा सञ्चार मन्त्रालयका प्रवक्ता सेवन्तक पोखरेलले आफूलाई यस प्रकरणबारे धेरै जानकारी नरहेको भन्दै प्रतिक्रिया दिनबाट पन्छिए । उनले सुचना तथा प्रसारण विभागले यो विवादलाई हेर्दै आएकाले विभागमा फोन गर्न आग्रह गरे । तर विभागका कुनै पनि अधिकारी प्रतिक्रियाका लागि उपलब्ध भएनन् । विदेशी मुद्रा भुक्तानीका लागि स्वीकृति दिएलगत्तै स्टार इण्डियाले सिग्नल बन्द गर्ने र टेलिभिजनका लागि दर्शकलाई स्टार च्यानलहरु हेर्नबाट बन्चित गर्ने कुरा गर्दा मन्त्रालयले हेर्नुपर्दैन ? भन्दै पोखरेलले यस विषयमा आफू धेरै जानकार नरहेको दोहोर्याए । 

Advertisement

Advertisement