पर्यटन व्यवसायका तीन भाईको तीन व्यवसायः कसरी सुरु भयो ‘एट-के’ ?

Advertisement

काठमाडौं । तीन जना शेर्पाहरुको साझेदारीमा ‘एट–के’ एक्सपिडिसनबाट सुरु गरेको कम्पनी अहिले सोही ब्राण्डमा ‘एट–के’ ट्राभल सञ्चालनमा आइसकेको छ । अब ‘एट–के’ बार एण्ड किचेन पनि सञ्चालनमा आउने भएको छ । पेम्बा शेर्पा, लाक्पा थेण्डु शेर्पा र लाक्पा शेर्पा मिलेर सुरु गरेको व्यवसायिक अभियानअन्तर्गत ‘एट–के’ बार एण्ड किचेन पेम्बाको अवधारणा हो । उनै पेम्बा शेर्पासँग गरिएको कुराकानीः 

‘एट–के’ एक्सपेडिसन, ‘एट–के’ ट्राभल र सञ्चालनको तयारीमा रहेको ‘एट–के’ बार एण्ड किचेनको अवधारणा कसरी आयो ?
तीन वटै व्यवसाय हामी तीन जना मिलेर ल्याएको अवधारणा हो । रेस्टुरेन्टको अवधारणा खास मैले ल्याएको हो । म आफै पनि धेरै रेस्टुरेन्टहरुमा थरि थरिका खानाहरु खान मन लाग्नेमा पर्छु । रेस्टुरेन्टमा गणस्तर कसरी ल्याउन सकिन्छ ? स्वस्थ भोजन कसरी बनाउने ? लगायतका कुरा छ । अर्को कुरा भनेको मेरो आफ्नै रहर पनि हो । यो पैसा कमाउने कुरा मात्र होइन् । यो क्षेत्र मेरो रुचीको कुरा पनि हो । रेस्टुरेन्ट गरेर साथी भाईलाई, विदेशीहरुलाई खुवाउन पाउँदा पीआर (जनसम्पर्क) बन्ने भयो । बढ्ने पनि भयो । 

Advertisement

कति लगानी हुँदैछ रेष्टुरेन्टमा ? 
करिब दुई करोड खर्च हुने भयो । यो किचेन हाम्रो पहिलो आउटलेट हो । अबको आउने दिनहरुमा हामीले अर्को आउटलेटहरु खोल्ने योजना छ । हामी यहाँ सफल भयौं, राम्रो सञ्चालनमा आयो भने अरु आउटलेटहरु खोल्ने छौं । यो हाम्रो पहिलो प्रयास हो । हाम्रो विशेषगरी विदेशी ग्राहकहरुलाई अरु रेस्टुरेन्टहरुमा लगेर खुवाउँदा कहिले टेवल नपाउने, कहिले भनेको जस्तो खाने कुरा नपाउने समस्या रहँदै आएकाले पनि राम्रो र गुणस्तरीय आफ्नै रेस्टुरेन्ट भयो उनीहरुलाई सन्तुष्ट बनाउन सकिन्छ भनेर लगानी गरेको हो । 

रेष्टुरेन्टमा पनि ‘एट–के’ नाम किन राख्नुभएको ? किन यही व्यवसायमा रुची भयो तपाईंलाई ?  
सबै ‘एट–के’ ब्रान्ड बनाउन खोजेका हो । हामी अझ गियर (टे«किङसम्बन्धी कपडाहरु) पनि ल्याउने तरखरमा छौं । कोरोना महामारीको अझै याद छ । नेपालमा पर्यटन क्षेत्र फेरि ठप्प भयो भने के गर्ने ? भन्ने कुरामा हामी सचेत छौं । कपडा त एक दिन किनेपछि वर्षौंसम्म लगाउन सकिन्छ । खानेकुरा आज खाए पनि भोलि पनि खानुपर्छ । त्यही कारण एउटा टिकाउ हुनको लागि रेस्टुरेन्ट सञ्चालनमा ल्याउन खोजेको हो । भोलिको दिनमा व्यवसाय गर्दै जाँदा सफल पनि हुन सकिन्छ । असफल पनि हुन सकिन्छ । हाम्रो ‘एट–के’ एक्सपेडिसन कम्पनीमा १८ जना कर्मचारी काम गर्छ । भोलि कोरोना जस्तै केही समस्या आयो भने त मैले मेरो कर्मचारीहरुलाई तलब दिनुपर्यो । उनीहरुलाई जाउ, म तलब दिनसक्दिन भन्न भएन् । त्यस कारण करिब दुई वर्ष टिकाउने गरी ब्याकअप हुनुपर्यो । यो मेरो कोभिड–१९ महामारीको पाठ पनि हो । रेस्टुरेन्ट भोलिको दिनमा विदेशी पर्यटकहरु नआए पनि सञ्चालन गर्न सकियोस भनेर योजना बनाएका छौं । 

खानाका परिकारहरु के के राख्ने योजना बनाउनु भएको छ ?
हाम्रो रेस्टुरेन्टमा बिहानको खाजा, दिउसोको खाना र रातिको खाना गरी तीन थरीको खानाहरु राख्ने योजना छ । रेस्टुरेन्टमा खानेकुरा स्वस्थ र स्वादिष्ट ल्याउने हो । मैले हस्पिटालिटि क्षेत्रमा धेरै वर्षको अनुभव भएको कुकको टिम रोजेको छु । हामीले संचालनमा ल्याएको रेस्टुरेन्टमा कन्टिनेन्टल फुडहरु पाइने छ । जुन थकाली सेट हामीले राख्न लागेका छौं, त्यो शुद्ध थकाली सेट हुनेछ । म अरुसँग प्रतिस्पर्धा गर्न खोजेको चाहिं होइन । म धेरै ठाउँमा गएर थकाली सेट खाना खाएको छु । तर त्यो भन्दा अझ राम्रो बनाउने सोच छ । त्यसमा के हुन्छ भने, चामलको गुणस्तर राम्रो हुनुपर्छ । लोकल ताजा चामल हुनुपर्यो । चामलमा मिठास आउनुपर्यो । जैविक हुनुपर्यो । मौलिक नेपाली खानामा मिठास हुनुपर्पो । अर्को कुरा भनेको स्वच्छ हुनुपर्यो । गुणस्तरीय हुनुपर्यो । शाकाहारी खानासँग मासु मिसाउनु भएन् । खुला भान्छा हुन्छ । सबैले पकाएको देख्नसक्छ । 

रेष्टुरेन्टमा पेय पदार्थहरु पनि राख्नुहुन्छ कि ? 
बारमा सबै प्रकारको ह्विस्की पाउने व्यवस्था गछौं । नेपालमा चलेको सबै प्रकारका ह्विस्की राख्छौं । त्यसमा बारटेन्डर हुन्छ । बरिस्ता छुटै हुन्छ । प्राइभेट रुपमा चाहिं १५ देखि २० जना ग्राहक अटाउने छन् । हामी हाम्रो एक्सपेडिसन विदेशी ग्राहकहरुलाई प्रत्येक पटक वेलकम डिनर्, फेयरवेल डिनर् खुवाउनुपर्छ । 

किन यति धेरै व्यवसायमा हात हाल्नुभएको ? 
कुनै एउटा व्यवसाय डुब्यो भने अर्कोबाट कभर गर्ने हाम्रो हेतु हो । फिल्डमा हामीसँग दुई सयभन्दा बढी स्टाफहरु छन् । ‘एट–के’ बार एण्ड किचेनमा पनि १५ जना स्टाफ हुनेछन् । यो रेष्टुरेन्ट आउँदो फेब्रुअरी १५ बाट औपचारिक सञ्चालन गर्ने योजना छ । त्यसअघि नै हामी स्टाफहरु राख्ने र तालिमहरु दिनेछौं । हामीले राखेका स्टाफहरुले बनाएका खानाको स्वाद लिन्छौं । औपचारिक उद्घाटन १५ दिनसम्म मनाउने योजना छ । किनभने एकै दिनमा बोलाउन सक्दैनौं सबैलाई । एयरलाइन्सको साथीहरुलाई एक दिन, बैंकिङका साथीहरु, होटल व्यवसायीहरु लगायत गरी विभिन्न दिनमा बोलाउने योजना छ । एकै समयमा ५० देखि ६० जना अटाउनसक्ने ठाउँ हुनेछ । 

पर्यटन क्षेत्रमा लाग्ने, यही क्षेत्रमा लगानी गर्ने सोच कसरी आयो ? 
म मकालु गाउँपालिका–२ मा जन्मेर करिब ७ वर्ष जति गाउँमा बिताए । सानोमा गाई वस्तु हेर्थें । पढ्न पनि पाउँदैन्थ्यो । २०५५ सालतिर काठमाडौं आयो ।  गाउँमा अली अली पढ्र्दैथियो । काठमाडौं आएर युकेजीदेखि पढाइ सुरु गरें । पछि कक्षा १० मा मेरो ७७–७८ प्रतिशत नम्बर आयो । त्यो बेलामा मेरो आर्थिक अवस्था राम्रो थिएन् । मलाई पढ्न मन थियो । संघर्ष गर्दै गर्दा टे«किङ गए २००७ मा । थोरङ ला पास गरे पोर्टल गाइडको रुपमा इजरायलीहरुसँग । उनीहरुले मलाई ५० हजार टिप्स पनि दिए । त्यो ५० हजार टिप्सले मैले आइडियल कलेजमा कक्षा ११ मा भर्ना गरे । कक्षा ११ मा पढ्दैगर्दा मलाई शिक्षण पेशा गर्ने अवसर मिल्यो । कक्षा ११ मा पढ्दै गर्दा मैले कक्षा १० का विद्यार्थीहरुलाई गणित पढाउँथे । कक्षा ११ र १२ मा मैले ट्राभल टुरिजम् विथ बुम पढाइ गरे । त्यसपछि मैले हेरिटेज एकेडेमीमा पाँच वर्षभन्दा बढी विद्यार्थीहरुलाई पढाए । कक्षा ६ देखि १० सम्म गणित र अंग्रेजी । त्यस्तै, २०१२ मा अहिले हाम्रो प्रबन्धक योगेन्द्रजी हुनुहुन्छ, त्यो बेला सेभेन समिट टे«कमा प्रबन्धक हुनुहुन्थ्यो । त्यहाँ छोडेर उहाँ जर्मनी जानुभएछ । त्यसपछि सेभेन समिट टे«कको दाईले मलाई योगेन्द्रजीको ठाउँमा बोलाउनुभयो । तर मलाई कम्प्युटरमा त्यति सीप थिएन् । पीआर बनाउँदै गए र कम्प्युटर चलाउन पनि सिकें । एक महिना कम्प्युटरको क्लास पनि लिउ । म पर्यटन क्षेत्रमा त्यसरी छिरेको हुँ । २०१४ मा म पहिलो पटक पाकिस्तान एक्सपेडिशनको लागि गएको थिए । त्यतिखेर मेरो ब्याचलर तेस्रो वर्षको परीक्षा थियो । त्यसपछि त्यो वर्षको पढाइ छोडें । सोही बर्ष मैले विवाह पनि गरें । अहिले बच्चाबच्ची भइसक्यो । 

जागिरे मान्छे, व्यवसायतिर किन लाग्नुभएको ? 
अब म जागिर गर्दिन । आफ्नै व्यवसाय गर्छु । मेरो आफ्नो छुटै ब्रान्ड बनाउँछु भनेर २०१८ मा सेभेन समिट छोडेको हो । कोरोनाले सबै बिगारिदियो । २०२१ मा आफ्नै नामबाट करिब १४ वटा ग्रुप चलाए । कोरोना महामारीको बेला मेरो दुई जना पार्टनरहरु मोनिङ् वाक जाने गर्थे । त्यही क्रममा सल्लाह भएर हामी तीन जना मिलेर नयाँ अवधारण लिएर यी व्यवसायहरु सुरु गरेको हो । ‘एट–के’ एक्सपेडिसनको अवधारण ल्याउने लाक्पा शेर्पा हो । हामी तीन जनाले २०२१ मै ‘एट–के’ एक्सपेडिसन नामक कम्पनी दर्ता गरेको हो । लाक्पाले नै नाम पनि राखेको हो । हामीले यो कम्पनी सञ्चालनमा ल्याएको एक वर्ष मात्र भयो । पहिलो पटक १६ जनाको ग्रुप चलाएको थिएँ मनास्लु हिमालमा । सबै जनालाई सफलतापूर्वक आरोहण गराउन सफल भएँ । त्यसपछि हिमलुङमा पनि १४ जना विदेशी पर्यटकहरुलाई सफलतापूर्वक आरोहण गराएको थिएँ । सबै हिमालहरुको एक्सपेडिसन गरेका छौं । १४ वटै पिकहरुको एक्सपेडिसन चलाउँछौं । ‘एट-के’को अर्थ आठ हजार एक्सपेडिसन भनेको हो । यो कम्पनी एकै वर्षमा यसरी हाइलाइट भएर यति धेरै ग्रुप चलाउने नेपालको पहिलोमा पर्छ होला । हाम्रो कम्पनीले नेपाल पर्वतारोहण संघलाई रोयल्टी भुक्तानी गर्नेमा टप ३ मा पर्छ होला । किनभने यति धेरै हामीले संघबाट पिकपर्मिट काटेको छों । ‘एट–के’ ट्राभल संचालनमा ल्याएको करिब आठ महिना जति भयो । 

 

Advertisement

Advertisement