काठमाडौं । अदालतले नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ ।
मंगलवार काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न यस्तो आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अस्पतालबाट जन्म दर्ताको कागजात झिकाउन आदेश दिएको सन्दीप पक्षका अधिवक्ता सरोज घिमिरेले बताए ।
उनले सन्दीपविरुद्धको मुद्दाको बारेमा काठमाडौं जिल्ला अदालतले सम्बन्धित पक्षलाई बुझ्न पीडित भनिएकी किशोरीको जन्मको बारेमा कागजातहरु सम्बन्धित कार्यालयहरुबाट मगाउनु भन्ने आदेश दिएको बताए । घिमिरेले अदालतले क्रिकेटर देव खनाललाई सन्दीप र पीडित भनिएकी किशोरीबीच सम्पर्क गराएकोमा वकपत्र दिन बोलाइएको र किशोरीको मेडिकल टेस्ट गर्ने डाक्टरलाई पनि वकपत्रका लागि बोलाउन आदेश दिएको बताए ।
उनले अदालतले पीडित भनिएकी युवतीको दाजुले किशोरी वीरगञ्जमा जन्मिएको भनेपछि सम्बन्धित अस्पतालबाट कागजात झिकाउन आदेश दिएको बताउँदै भने, ‘सन्दीप लामिछानेविरुद्धको मुद्दाको बारेमा काठमाडौं जिल्ला अदालतले सम्बन्धित पक्षलाई बुझ्न, पीडित भनिएकी युवतीको जन्मको बारेमा सम्बन्धित कागजातहरु सम्बन्धित कार्यालयहरुबाट मगाउनु भन्ने आदेश भयो । आदेशपछि वकपत्र पनि शुरु भयो । मागिएका कागजातहरु पनि सम्मानित अदालतमा दिन भनिएको छ । वकपत्रको क्रममा सबै साक्षीहरु जाहेरवालको तर्फबाट सरकारी साक्षीहरु र प्रतिवादी सन्दीप लामिछानेको साक्षीहरुको वकपत्र भयो ।’
घिमिरेले थपे, ‘दुई जनाको हुन सकेन । २ जना उपस्थित रहनुभएन । क्रिकेटर देव खनाल, मेडिकल टेस्ट गर्ने डाक्टर उपस्थित हुनुभएको थिएन । उहाँहरु २ जनाको वकपत्र नभएको हुनाले आज पेशीमा चढेको छ । दुई जनालाई बोलाउन र पीडित भनिएकी युवतीको दाजुले वीरगञ्जको अस्पतालमा जन्मिएको भन्नेकुरा गरेकाले उहाँ सम्बन्धित अस्पतालबाट जन्ममिति पठाउन आदेश भएको अवस्था छ । देव खनालसँग वकपत्र गर्ने, दोस्रो डाक्टरसँग वकपत्र गर्ने, सम्बन्धित अस्पतालबाट विवरण ल्याउने आदेश भएको छ ।’
अधिवक्ता घिमिरेले सन्दीप लामिछानेविरुद्धको जाहेरीलाई जतिसक्दो चाँडो टुंगोमा पुर्याउने बताए । उनले अबको करिव ३ महिनासम्ममा सबै विषय टुंगिने दाबी गरे । घिमिरेले क्रिकेटर संदीपमा आफू निर्दोष छु भन्ने आत्मविश्वास रहेको बताए ।
उनले उमेरका कारण केस नलम्बिएको भन्दै आफ्नो पहिलो प्राथमिकता उमेर भन्दा पनि सन्दीपको निर्दोष छु भन्ने आत्मविश्वासलाई साबित गर्ने कुरामा रहेको बताए । घिमिरेले नेपालले पछिल्लो समय क्रिकेटमा पराजय व्यहोरिरहेकोमा सन्दीप चिन्तित रहेको पनि बताए ।