‘महालक्ष्मी र प्रभुको मर्जर भाँडिएको छैन, दुई महिनामै एकीकृत कारोबार सुरु हुन्छ’

Advertisement

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीचको मर्जर प्रक्रिया भाँडिएको हल्लामा सत्यता नरहेको सम्वन्धित कम्पनीका सीईओहरुले बताएका छन् । उनीहरुले मर्जर प्रक्रियामा कुनै बाधा अवरोध नरहेको बताउँदै दुई महिनाभित्र एकीकृत कारोबार गर्ने बताए । 

प्रभु लाइफ सीईओ सन्तोष प्रसाईंले कर्पोरेट नेपालसँग भने, ‘अहिले मर्जर प्रक्रियाकै काम भइरहेको छ । मर्जरका लागि विभिन्न चरणमा काम गर्नुपर्छ । यो सबै कम्पनीले पूरा गर्नुपर्ने प्रक्रिया हो । नौलो कुरा भएन । त्यही प्रक्रिया पूरा गर्ने काम भइरहेको छ । नेपाल बीमा प्राधिकरणले पनि हामीलाई मर्जरका लागि अघि बढ्नु भनेको अवस्था छ । हाम्रो मर्जर सही प्रक्रियामा रहेको छ । यसमा कुनै समस्या उत्पन्न भएको मलाई थाहा छैन ।’

Advertisement

प्रभु र महालक्ष्मीको मर्जर प्रक्रिया अवरुद्ध हुन लागेका हल्लामा कुनै सत्यता नरहेको बताउँदै उनले जीवन बीमा कम्पनीहरु मर्जरमा जान धेरै कुराहरुको समायोजन अपरिहार्य हुने र सोही समायोजनका क्रममा आफूहरु रहेको बताए । यस्ता कुरामा हतार गरेर काम नहुने प्रसाईंको भनाई छ । 

एक्चुरीको अभावका कारण प्रभु लाइफको मर्जर प्रक्रिया लम्बिने आशंका गरिएको थियो । उनले एक्चुरीकै कारण मर्जरमा जान बाधा नपर्ने बताए । प्रसाईंले मर्जरका लागि आफ्नो प्रक्रिया हुने र त्यो पूरा गर्न धेरै काम गर्नुपर्ने दोहोर्याउँदै आफूहरुको मर्जर प्रक्रिया अवरुद्ध नहुने स्पष्ट पारे । 

यता महालक्ष्मी लाइफका सीईओ रमेश भट्टराईले पनि मर्जरमा कुनै पनि समस्या नरहेको बताए । उनले भने, ‘मर्जरमा कुनै पनि समस्या भएको छैन् । मर्जर प्रक्रियाको समय चाहिं अल्ली लम्बिएको अवस्था छ । हामीले बनाउनुपर्ने बाईलज, विभाग तथा शाखाहरु तय गर्ने, संस्थागत संरचनाका विषयमा निर्णय भइसकेको छ ।’

एक्चुरीले गर्ने कामका लागि पनि आफूहरुले पहल गरिरहेको बताउँदै भट्टराईले त्यसमा प्राधिकरण पनि सकारात्मक रहेको बताए । उनले एक्चुरीले मूल्यांकन गर्न ढिलाई गरे पनि यही पुसभित्रै मर्जरको सबै काम सक्किने र आफूहरु मर्जरमा जाने स्पष्ट पारे । आगामी दुई महिनाभित्र एकीकृत कारोबार गर्ने तयारीमा रहेको उनको भनाई छ । 

Advertisement

Advertisement