Advertisement

काठमाडौं । बरमझियाको पेडा भनेपछि नचिन्ने कमै मानिस होलान । महेन्द्र राजमार्गमा यात्रा गर्दा सप्तरीको बरमझियामा रोक्किएर पेडा खानेहरुको ठूलो भीड लाग्ने गर्छ । 

राजा महेन्द्रले समेत तराई जाँदा बरमझियामा पेडा खाने गरेको इतिहास छ । त्यही समयदेखि चर्चामा आउन थालेको बरमझियाको बाजेको पेडा सो ठाउँमा मात्रै लोकप्रिय नभएर राजधानी काठमाडौंमा समेत विस्तार भएको छ । 

Advertisement

काठमाडौंमा करिव दुई बर्षदेखि बरमझियाको बाजेको पेडा बिक्री हुँदै आए पनि यसको जानकारी कमैलाई छ । पुतलीसडकमा सप्तरीका आनन्दप्रसाद साहले दुई बर्षदेखि स्वादिलो पेडा बिक्री गर्दै आएका छन् । उनले सप्तरीबाट ल्याएको पेडा पसलबाट मात्रै नभएर अनलाइनबाट समेत बिक्री गर्छन् । 

पुतलीसडकमा ‘बरमझिया बाजेको पेडा’ नामक पसल सञ्चालनमा छ । पसल सञ्चालक साहसँग गरिएको छोटो कुराकानीः 

पेडामा के–के कुरा मिसाएर बनाउनुहुन्छ ?
पेडामा कुनै किसिमको मिसावट हुर्दैन् । पेडा शुद्ध दुध र चिनीको मिश्रणबाट बन्ने हो । यसमा अशुद्ध र अखाद्य कुनै पनि वस्तुहरु मिसाइएको हुन्न ।   

तपाईंले काठमाडौं ल्याएर बिक्री गर्दै आएको पेडा कहाँ उत्पादन गरेर ल्याउनुहुन्छ ? 
पेडा हामी सप्तरीकै बरमझिया भन्ने ठाउँबाट ल्याउँछौं । त्यही भएर ‘बरमझिया बाजेको पेडा’ भनेर नाम राखेको । काठमाडौंमा दर्ता गरेर संचालन गरिरहेका छौं । बरमझियाको कोशी छेउमा एउटा बजार हो । त्यहींबाट ल्याएर बिक्री गर्ने हो । काठमाडौंमा यसरी पसल राखेर सञ्चालन गरेको यो पहिलो हो । एक महिना बढी भयो हामीले पसल सञ्चालन गरेको । 

यो पेडा कहाँ–कहाँ बिक्री गर्नुहुन्छ ? 
हामीले काठमाडौंभरी बिक्री गछौं । हाम्रो पसलबाट बरमझियाको पेडा किनेर अमेरिका, क्यानाडा, अष्टे«लियालगायत विभिन्न देशमा लैजाने गरेका छन् । 
 
पेडा बिक्री गरेर मासिक कति कमाउनुहुन्छ ? लगानी कति गर्नुभएको छ ? 
मैले पेडाको व्यापार काठमाडौंबाटै सुरु गरेको हुँ । मासिक करिब ४० देखि ५० हजार जति कमाइ हुन्छ । एकदेखि डेढ लाखबाट सुरु गरेको हो यो व्यवसाय । तर अहिले पसल नै खोलेर संचालन गर्दा अल्ली बढी खर्च भयो । तर पनि व्यापार राम्रै छ । 

यो व्यवसाय कसरी सुरु गर्नुभयो ? यो व्यापारमा आकर्षण कस्तो छ ?
हामीले अनलाइनबाट सुरु गरेको हो यो व्यवसाय । उपभोक्ताको माया, बरमझियाको पेडाप्रति विश्वास मिठोपनाले हामीलाई राम्रै भएको छ । हामी सन्तुष्ट छौं । 

बरमझियामै लोकप्रिय थियो पेडा । काठमाडौंमा पसल खोल्नुको कारण के हो ? 
हामी छोराछोरीको पढाइको सिलसिलामा सबै जना विभिन्न ठाउँमा छरिएर बस्यो । हामी चाहिं गाउँमा बुडाबुडी मात्र भयौं । यो भन्दा पहिला हामीले गरिरहेको व्यवसाय भन्नेको मसलाको पसल हो । काठमाडौंमा करिब ९ वर्ष पहिला आएर मसला पसल सुरु गरेको । पछि हुँदाहुँदै पेडा अनलाइनबाट बिक्री गर्न थाल्यौं । अहिले पसल खोलेर नै बिक्री गरेका छौं ।  

अरु व्यवसायबाट पनि फाइदा हुन्थ्यो होला । पेडाको व्यवसाय नै रोज्नुको कारण के हो ? 
मेरो छोरीले एक चोटी बरमझियाको पेडा भनेर काठमाडौंमा किनेर खाएको थियो । सोही क्रममा यो बरमझियाको पेडा काठमाडौंमा पनि आपूर्ति गर्न मिल्ने रहेछ भनेर उनलाई लाग्यो । त्यसपछि छोरीले फेसबुकमा ‘बरमझिया बाजेको पेडा’ नाम राखेर एउटा पेज बनाइन् । त्यसपछि हामीले यो व्यवसाय सुरु गरेको हो । हामीले पाँच किलोबाट सुरु गरेको व्यवसाय फेसबुक पेज बनाएपछि अर्डर आउन थाल्यो । त्यसपछि अर्डर पनि राम्रो आउन थाल्यो । 

पेडा काठमाडौंमै बनाउनुहुन्छ कि कताबाट ल्याउनुहुन्छ ?
काठमाडौंमा बनाउँदा यहाँको दूधको पेडाले स्वाद दिँदैन । बरमझियामा बनेको पेडाले स्वाद दिन्छ । त्यति मात्र फरक हो । हामीले त्यहाँको एक पसलेसँग कन्ट्याक्ट गरेका छौं । त्यहाँ अर्डर गरेर काठमाडौं ल्याएर बिक्री गर्ने हो । 

Advertisement

Advertisement