अर्थमन्त्रीमा पौडेलको इन्ट्रीपछि समग्रमा १६१.८२ अंकले बढ्यो नेप्से, लगानीकर्ताहरु उत्साहित

Advertisement

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा नयाँ सरकार बनेको यो साता शेयर बजारमा उछाल आएको छ । 

शेयर बजारले रुचाएका अर्थमन्त्री विष्णु पौडेलको अर्थमन्त्रालयमा पुनः इन्ट्री हुनुले शेयर लगानीकर्ताहरु उत्साहित भएका छन् । गत सोमबार पौडेलले पुनः अर्थमन्त्रीमा सपथ लिंदै कार्यभार सम्हालेका हुन् । 

Advertisement

विगतमा अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच सम्बन्ध सुमधुर हुन सकेको थिएन र त्यसको असर शेयर बजारमा समेत देखिएको विश्लेषकहरुको धारण छ । नयाँ सरकार बने लगत्तै लगानीकर्ताहरुले अब बजारमा सुधार आउने प्रतिक्रिया जनाइरहेका छन् । 

लगानीकर्ता अम्बिकाप्रसाद पौडेल, राधा पोखरेल लगायतका शेयर लगानीकर्ताहरुले सामाजिक सञ्जाल मार्फत उत्साह प्रकट गरेका हुन् । प्रधानमन्त्रीमा चयन भए लगत्तै प्रधानमन्त्री प्रचण्डले समेत वर्तमान सरकारको मुख्य उद्देश्यनै अर्थतन्त्रलाई सुधार गर्नु रहेको प्रतिक्रिया दिएका छन् भने अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायी र शेयरलगानीकर्ताहरुको भेटमा अर्थतन्त्र र शेयर बजारको सुधारका लागि विशेष कार्य गर्ने प्रतिक्रिया जनाएपछि लगानीकर्ताहरु झनै उत्साहित भएको देखिन्छ । अब बिस्तारै बजार सुधार हुँदै जाने लगानीर्ताहरुको आंकलन छ । 

यसैक्रममा यो साता ४ दिन बजार खुल्दा तीन दिन नेप्से उच्च अंकले बढ्यो भने एक दिन दोहोरो अंकले घटेको थियो । साताको पहिलो दिन आइतबार भने क्रिममसको बिदाका कारण बजार बन्द रहेको थियो ।  

यो साताको विश्लेषण गर्दा लामो समयपछि बजार २००० अंक माथि उक्लिएको छ । समग्रमा बजार १६१.८२ अंकले बढेर २०२९.०३ अंकमा पुगेको छ । कारोबार रकम पनि यो साता ह्वात्तै बढेको छ । चार दिनमा ११ अर्ब १ करोड ५६ लाख ३९ हजार ९ सय २८.९२ रुपियाँ बराबरको कारोबार भएको हो । 

चार दिनको काराबार कस्तो रह्यो ?  
गत सोमबार बजार ५६.८८ अंकले बढ्दा २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९ सय ४१.३५ रुपियाँ,  मंगलबार ५९.८७ अंकले बजार बढ्दा ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९ सय ९७.९८ रुपियाँ, बुधबार ११.८१ अंकले बजार घट्दा २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २ सय ७.९१ रुपियाँ र हिजो बिहीबार ५६.८८ अंकले बजार बढ्दा २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७ सय ८१.६८ रुपियाँ बराबरको कारोबार भएको थियो । 

Advertisement

Advertisement