‘आयल निगमले हवाई इन्धनमा रु. ७८ नाफा लिँदा जहाज चढ्न जग्गा बेच्नुपर्ने अवस्था आयो’

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई इन्धनको मूल्य तत्कालै समायोजन गर्नुपर्ने बताएका छन् । 

शुक्रवार काठमाडौंमा आयोजना भएको एभिएशन मिट २०२२ कार्यक्रममा उनले नेपाल आयल निगमले हवाई इन्धनमा अधिक नाफा लिएकाले हवाई भाडा महंगिएको बताए । अधिकारीले अहिले निगमले हवाई इन्धनमा ७८ रूपियाँ नाफा लिँदै आएको बताए । 

Advertisement

उनले हुम्ला, जुम्ला, सिमिकोटमा हवाई यात्राका लागि १ रोपनी जग्गा बेच्नुपर्ने अवस्था रहेको बताउँदै यस्तो बेलामा एलपी ग्यासमा छुट दिएर हवाई यात्रुलाई मारमा पार्न नहुने तर्क अघि सारे । 

अधिकारीले नेपालको हवाई नीति विमानस्थलहरुको नम्बर बढाउने तर जहाजको नम्बर बढाउनेतर्फ भने ध्यान नगएको बताउँदै हवाई क्षेत्रको विकास सरकारको हवाई नीतिको कारण हुन नसकेको बताए । 

सरकारका मुख्यसचिव शंकरदास बैरागीले हवाई उड्डयन नीति, नियमन निकाय र स्रोत मिलाएर प्रस्ताव ल्याए प्राथमिकतासाथ अघि बढाउने बताए । 

उनले नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालयले हवाई उड्डयन नीति, नियमन निकाय र स्रोत गरी तीन विषय मिलाएर प्रस्ताव ल्याए प्राथमिकता दिएर अगाडि बढाउने प्रतिवद्धता जनाएका हुन् । 

बैरागीले हवाई उड्डयन नीति परिर्माजन गर्नुपर्ने विषय उठिरहेको बताउँदै पछिल्लो समय हवाई उडान हेर्ने निकायहरु फरक हुनुपर्छ भन्ने विषयमा धेरै बहस भए पनि निष्कर्षमा नपुगेको बताए । उनले नियमन निकाय नियम, कानूनको पालना भए, नभएको हेर्ने महत्वपूर्ण खम्बा भएको बताए । 

बैरागीले उड्डयन क्षेत्रलाई प्रभावकारी बनाउनको लागि प्राप्त दक्ष जनशक्ति र आर्थिक स्रोत आवश्यक पर्ने बताए । उनले नेपालमा हवाई उड्डयन क्षेत्रमा बनेका पूर्वाधार दीर्घकालिन सोचको साथ बनाएको बताए । 

बैरागीले नेपालमा बनेका अन्तर्राष्ट्रिय विमानस्थलहरु तत्काल चल्न सकेन भनेर चिन्ता लिन नहुने भन्दै दीर्घकालिन सोचका साथ बनाएकाले भविष्यमा राम्रो हुने बताए । उनले निजगढ विमानस्थलको विषयमा धेरै बहस भए पनि निष्कर्षमा पुग्न नसकेकाले छिटै टुङ्गो लगाएर जानुपर्ने बताए । बैरागीले पछिल्लो समय नेपालको हवाई उड्डयन क्षेत्रमा धेरै उल्लेख्य प्रगति भएको बताए । 

Advertisement

Advertisement