प्रधानमन्त्री दाहालद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् ,। पोखरामा आज आयोजित भव्य कार्यक्रमकाबीच उहाँले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन् 

विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल आज बिहान राजधानी काठमाडौँबाट पोखरा पुगेका हुन् । उनका साथमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि कार्यक्रममा छन् ।

Advertisement

कर्जालाई अनुदानमा परिणत गर्न मुख्यमन्त्री पोखरेलको चीन सरकारसमक्ष आग्रह
यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सराकारसमक्ष आग्रह गरेका छन् ।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई यहाँ आज सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनको एक्जिम बैंकबाट विमानस्थल निर्माणका लागि लिइएको करिब रु २२ अर्बमध्ये ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गरेका हुन् । “म नेपालस्थित चिनियाँ राजदूतावासमार्फत् चीन सरकारसमक्ष ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गर्दछुँ”, उनले भने ।  

विमानस्थल निर्माणका लागि कुल लगानी करिब रु २२ अर्बमध्ये  २५ प्रतिशत अनुदान र बाँकी ७५ प्रतिशत ऋण लिइएको थियो । मुख्यमन्त्री पोखरेलले ४७ वर्षदेखिको पोखरावासीको सपना बल्ल साकार भएको बताए । सो अवसरमा उनले सम्पूर्ण पोखरेली, परिकल्पनाकार शङ्करराज पाठक तथा विमानस्थल निर्माणमा खट्ने सबैलाई हार्दिक धन्यवादसमेत दिए ।  

विमानस्थलबाट पहिलो चरणमा दक्षिण एसिया र दोस्रो चरणमा पश्चिमी देशमा हवाई उडान हुनुपर्ने उनको भनाइ थियो । विमानस्थल सञ्चालनमा आएपछि पोखरामा पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढ्ने मुख्यमन्त्री पोखरेलले विश्वास व्यक्त गरे । “पोखरामा अब कम्तीमा दुई साता बस्ने र दुई हजारभन्दा बढी डलर खर्च गर्ने पर्यटक ल्याउन सक्नुपर्छ”, उनले भने ।  

मुख्यमन्त्री पोखरेलले अन्तर्राष्ट्रिय सभाहल र क्रिकेट मैदान पनि पोखराका लागि आवश्यक भएको उल्लेख गर्दै यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष आवश्यक बजेटक विनियोजनका लागि आग्रह गरे । 

पोखरा अन्तर्राष्ट्रिय  विमानस्थल सञ्चालनमा सरकारले सघाउने
यता, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताएका छन् ।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विमानस्थलमा आवश्यक अन्य पूर्वाधार निर्माणका लागि सरकारले भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रको आजको आवश्यकता राजनीतिक स्थायित्व र सामाजिक न्याय भएको उनको भनाइ थियो ।  

“विकास, समृद्धी र सुशासन आजको आवश्यकता हो”, मन्त्री पौडेलले भने । अर्थतन्त्रमा केही समस्या भए पनि काबूभन्दा बाहिर नरहेको उल्लेख गर्दै उनले यसलाई लयमा फर्काउने विश्वास व्यक्त गरे । मन्त्री पौडेलले नवनिर्मित विमानस्थललाई चितवन, भैरहवालगायतका गन्तव्यसँग जोड्नुपर्ने बताए ।  

 

Advertisement

Advertisement