नर्भिकमा मृगौला प्रत्यारोपण सेवा सुरु, कलेजो प्रत्यारोपण सेवा पनि बिस्तार गर्ने

Advertisement

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । विगत ३० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रवाहमा कटिबद्ध रहँदै आएको नर्भिकले मृगौला प्रत्यारोपण सेवाको समेत सुरुवात गरेको हो ।

नर्भिकले आज पत्रकार सम्मेलन गरी हालसम्म २ व्यक्तिको मृगौलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको जनाएको हो । मृगौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मृगौला सफलतापूर्वक प्रत्यारोपण गरिएको छ भने ५४ वर्षीय अर्का पुरुषमा उनकी ३० वर्षीया छोरीले दिएको मृगौलाको सफल प्रत्यारोपण गरिएको छ ।

Advertisement

आगामी दिनमा यो सेवालाई बिस्तार गर्दै लगिने नर्भिकका सीईओ अजय मिश्रले पत्रकार सम्मेलनमा जानकारी दिए । 

नर्भिक अस्पतालका विज्ञ चिकित्सकद्वय डा. राकेश बर्मा र डा. आरके अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारहरुको टिमले मृगौला प्रत्यारोपण सेवा दिँदै आएको छ । सफलतापूर्वक मृगौला प्रत्यारोपण सम्पन्न गरिएका २ वटा केशमध्ये पहिलो केही जटिल रहेको थियो । 

पहिलो पटक नर्भिकमा मृगौला प्रत्यारोपण गरिएको बिरामीमा मुटुको धमनीमा समस्या लगायतका जटिलता थियो । तर, नर्भिकमा भएको सबै खालका स्वास्थ्य समस्याको स्तरीय उपचार सेवाको सहज उपलब्धताका कारण जटिल हुँदाहुँदै पनि सफलतापूर्वक प्रत्यारोपण भएको छ । मल्टिस्पेशालिटी हस्पिटल भएका कारण मृगौला प्रत्यारोपण अघि र पछि देखिने अन्य स्वास्थ्य समस्याको समाधान पनि एउटै छानामुनि हुने र यस्ता केन्द्रहरुमा प्रत्यारोपणका क्रममा जोखिम कम हुने भएका कारण समेत नर्भिकमा सुरु भएको मृगौला प्रत्यारोपण सेवाले विशेष महत्व राख्दछ ।

साथै नर्भिकमा कलेजो प्रत्यारोपण सेवा पनि बिस्तार गर्ने उद्देश्यले अनुमति लिने प्रक्रिया पनि अगाडि बढाइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

नर्भिक अस्पताल सन् १९९३ वर्षदेखि स्वास्थ्य सेवा प्रवाह गर्दै आएको हो । हाल नर्भिकमा देशकै पहिलो र एक मात्र जेनेटिक ल्याब सहितको आइभिएफ (टेस्टट्यूब बेबी) सेन्टर समेत सञ्चालनमा छ । अत्याधुनिक उपकरणसहितको नर्भिक कस्मेटिक एण्ड डर्मा सेन्टर समेत केही महिनाअघिदेखि सञ्चालनमा आएको छ । यस्तै, नर्भिकमा विगत लामो समयदेखि प्रत्येक शनिवार यूरोलोजी टिमले निःशुल्क परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको छ । यसबाहेक सबै खालका स्वास्थ्य समस्याको उपचार हुने यस अस्पतालमा अत्याधुनिक उपकरण र देशमै चिनिएका विज्ञ चिकित्सकहरुले सेवा दिँदै आएका छन् ।

Advertisement

Advertisement