ग्लोबल-बीओकेको एकीकृत कारोबार सोमबार, प्रभु-सेञ्चुरी पनि मंगलबार एक हुँदै

Advertisement

काठमाडौं । आगामी साता छ वटा वाणिज्य बैंक एक आपसमा गाभिएर तीन भई एकीकृत कारोबार गर्ने भएका छन् । 

ग्लोबल आईएमई–बीओके, प्रभु–सेञ्चुरी र नेपाल इन्भेष्टमेण्ट–मेगाले राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाई एकीकृत कारोबार शुरु गर्ने भएका हुन् । 

Advertisement

यसैक्रममा ग्लोबल आईएमई र बीओकेको एकीकृत कारोबार आगामी सोमबारबाट हुने भएको हो । दुई बैंक मर्जरपछि आइएमई बैंकको नाममा एकीकृत कारोबार हुने भएको छ । 

एकीकृत कारोबार शुभारम्भ गरिने भएपछि डा माइग्रेशन प्रयोजनका लागि शनिबार र आइतबार ग्लोबल आइएमईको सम्पूर्ण शाखाबाट हुने सेवा बन्द रहने भएको छ । मोबाइल/इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्य, एटीएम, एजेण्ट मार्फत हुने रेमिट्यान्स सेवा भने यथावत सञ्चालनमा रहने छ ।  त्यसैगरी शुक्रबार, शनिबार र आइतबार बीओकेको सम्पूर्ण शाखाबाट हुने कारोबार बन्द रहने छ । बैंकको डेबिट कार्ड, अन्तराष्ट्रिय कार्ड, ई–कम कार्ड, एटीएम, बीओके स्मार्ट बीओके क्लिकबाट हुने कारोबार पनि अबरुद्ध रहने सूचना प्रकाशित गरी जनाएको छ । 

त्यसैगरी प्रभु र सेञ्चुरी बैंकको एकीकृत कारोबार आगामी मंगलबारबाट हुने भएको छ । प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुन लागेकाले आज शुक्रबार राति १० बजेबाट मंगलबार बिहान ९.४५ बजेसम्म कोर बैंकिङ सिस्टममा आवश्यक डाटा माइग्रेशनको लागि बैंकको प्रधान कार्यालय, शाखा कार्यालय तथा एक्सटेन्सन काउन्टरहरुबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु (एटीएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ समेत) बन्द रहने प्रभु बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ । साथै प्रभुले सेञ्चुरी बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार शुरु हुने भएकाले आज शुक्रबार राति १० बजेदेखि मंगलबार बिहान ९ः४५ बजेसम्म सम्पूर्ण कारोबार बन्द रहने सूचनामा उल्लेख छ । 

ग्लोबल र बीओके १ः१ को शेयर स्वाप रेसियामा मर्ज हुन लागेका हुन् भने मर्जरपछि कूल चुक्ता पूँजी ३४ अर्ब ४१ करोड हुनेछ । त्यस्तै प्रभु र सेञ्जुरी पनि १ः१ स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । दुई बैंक गाभिएपछि कूल चुक्ता पूँजी २२ अर्ब २५ करोड हुनेछ । 

मर्जर प्रक्रियामा रहेको इन्भेष्टमेन्ट र मेगाबीचको एकीकृत कारोबार पनि पुस मसान्तभित्र शुरु गर्ने तयारी छ । त्यस्तै मर्जर प्रक्रियामा रहेको हिमालयन र सिभिल बैंकबीच भने माघ महिनाको दोस्रो सातापछि मात्रै एकीकृत कारोबार हुने भएको छ । दुबै बैंकले पुस २८ गतेमात्रै वार्षिक साधारण सभा गर्न लागेको छन् । उक्त साधारण सभाबाट मर्जर सम्बन्धी प्रस्ताव पारित भएपछि र राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेपछि एकीकृत कारोबारका लागि बाटो खुल्नेछ । 

यसअघि नै पुस १७ गतेबाट कुमारी र एनसीसी बैंक मर्ज भई कुमारी बैंकको नामबाट एकीकृत कारोबार शुरु भइसकेको छ । यसैबीच लक्ष्मी र सनराइज बैंक मर्जरमा जाने सञ्चालकहरुबीच छलफल शुरु भएको छ ।  

छ वाणिज्य बैंक तीनवटा भई एकीकृत कारोबार पुसभित्रै, हिमालयन र सिभिलको कहिले ? 

Advertisement

Advertisement