मनास्लुको जोखिमपूर्ण आरोहणका क्रममा मर्छुहोला भन्ने सोचेको थिएः स्पेनिस आरोही एलेक्स

Advertisement

काठमाडौं । निकै जटिल र जोखिमपूर्ण मानिने विश्वको आठौं अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) विन्टर सिर्जनमा सफलतापूर्वक आरोहण गर्ने प्रख्यात स्पेनिस पर्वतारोही एलेक्स टक्सिकोनले नेपाललाई आउँदा आफूलाई घर आएजस्तो महशुस भएको बताएका छन् । 

छ जना शेर्पा आरोहीसहित गत साता मनास्लु चढेका उनले अनुभव सुनाउँदै भने, ‘म धेरै खुसी छु । मेरो टिमप्रति गर्व छ । विन्टर सिर्जनमा पहिलो रियल समिट गर्नु, यो ऐतिहासिक हो ।’ आफूहरुले १० दिनको कठिन प्रयासपछि मनास्लुको चुचुरोमा पुग्न सफल भएका बताउँदै एलेक्सले आफूसँगै आएका सिमिनोको कारण सफलतापूर्वक शिखरमा पुग्न सफल भएका बताए । 

Advertisement

गत जनवरी ४ आधार शिविरबाट आरोहण सुरु गरेको र छ हजार दुई सय मिटर उचाइबाट सिमिनो एक्लै फर्किनु परेको उनले सुनाए । एलेक्सले भने, ‘यदि म सिमोनोको ठाउँमा भएको भए बेस क्याम्पमा एक्लै फर्किने थिइन् ।’ 

आरोहणका क्रममा सिमिनोले ‘म तिमीहरूसँग जान सक्दिन । मेरो पेट दुखिरहेको छ’ भनेको बताउँदै उनले सिमिनो एक्लै फर्किएकाले आफूहरुलाई मनास्लुको सफल आरोहण गर्ने मौका दिएको बताए । एलेक्सले भने, ‘यदि म तपाईंको ठाउँमा थिएँ भने दुर्घटनाको डरले एक्लै जादिन थिएँ । विन्टर एक्स्पडिशन सफलताको लागि उनले एक्लै जोखिम लिए र आज हामी मनास्लुको आरोहण गर्न सफल भयौं ।’

यदि सिमिनो पनि मनास्लु चुचुरोमा पुग्न सफल भएको भए त्यो अझ ठूलो सफलता हुने थियो भन्दै उनले भने, ‘किनभने पर्वतारोहणमा हामीले मित्रता निर्माण गर्न आवश्यक छ ।’ एलेक्सले आफ्नो कारणले मात्रै मनास्लुको आरोहण सफल भएको होइन भन्दै छ जना शेर्पाहरूको ठूलो भूमिका रहेको बताए । 

शेर्पाहरू र सेभेन समिट ट्रेक कम्पनीको कारण विन्टर एक्स्पडिशन सफल भएको बताउँदै उनले हिमाल आरोहणको क्रममा शेर्पा किचेन स्टाफहरुले ठूलो मेहनत गरेको बर्णन गरे ।  एलेक्सले भने, ‘शेर्पाहरुले आरोहीहरुको लागि यति मेहनत गर्छन् र हामी आरोहीलाई महत्व दिन्छन् । शेर्पा गाइडलगायत खटिने सबै शेर्पाहरु बिना यो आरोहण संभव थिएन् ।’

शेर्पाहरूले आफ्नो जीवन जोखिममा राखेर आफूहरुलाई आरोहण गराउने गरेको बताउँदै एलेक्सले थपे, ‘मनास्लु हिमाल आरोहण कै क्रममा हामी करिब सात हजार दुई सय मिटरको उचाइमा थियौं । छ जना शेर्पा गाइडहरुमध्ये एक जनाले रोप फिक्सिङ गर्दैजाँदा करिव सय मिटर तल खसे । त्यसपछि हामीले देख्यौं कि उनको त्यो क्षण निकै डरलाग्दो थियो । भगवानको कृपाले करिव १० मिनेटपछि उनलाई होस आयो । उनी उठेपछि मनमा राहत भयो । यस्तो अनुभव पार गर्दै हामी सकुशल बेस क्याम्पसम्म फर्किन सफल भयौं ।’

आरोहणपछि ओर्लिने क्रममा आफू हिंड्न नसकेको अनुभव सुनाउँदै एलेक्सले भने, ‘म हिंड्न सकिन् । उभिन पनि सकिन । मैले एकजना शेर्पा गाइडलाई भने कि म यहीं मर्छु होला । उद्दारको लागि बोलाउनुस् । त्यही क्रममा एक शेर्पा गाइडले पानीको बोतल भाँच्नुभयो जुन पूरै बरफ जमेको थियो । त्यो जमेको बोतलको पानीको सानो थोपा थोपा पिएर बल्ल म निको भएर बेस क्याम्पमा सुरक्षित झर्न सकें । 

उनले सेभेन समिट ट्रेकले राम्रो काम गरेको बताए । एलेक्सले सेभेन समिटले मनास्लु बेस क्याम्पमा यसअघि शरद ऋतुमा गएको हिउँ पहिरोका कारण जम्मा भएको करिव पाँच सय किलो फोहोर खर्चको प्रवाह नगरी सङ्कलन गरेको बताउँदै यसको प्रसंशा गरे । यसअघि दुई पटक मनास्लु बेसक्याम्पसम्म उनी पुगेका थिए । पहिलो पटक मनास्लुमा भएको विन्टर एक्सपेडिसनको ३९ वर्षपछि अहिले एलेक्सको टिमको विन्टर एक्स्पडिशन सफल भएको हो ।

एलेक्सको आरोहण टिममा तेन्जेन शेर्पा (लामा), पासाङ नुर्बु शेर्पा, मिङ्तेम्बा शेर्पा, छेपाल शेर्पा, पेम्बा टासी शेर्पा र ग्यालु शेर्पा थिए । 

Advertisement

Advertisement