स्की खेलको प्रवर्द्धनमा लागेका शेर्पा भन्छन्– नेपालमा संभावना राम्रो तर नियम झन्झिटिलो छ

Advertisement

नेपाल साहसिक पर्यटनका लागि लोकप्रिय छ । स्की पनि एक साहसिक खेल हो । यसलाई नेपालमा प्रवर्द्धन गर्न सकिए पर्यटन क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने पर्यटन व्यवसायीहरुको विश्वास छ । विशेषगरी हिउँदलाई स्कीको महिनाको रुपमा प्रवर्द्धन गर्न सकिने हिमाली पथप्रदर्शक (माउन्टेन गाइड) छिरिङ जाङबु शेर्पा बताउँछन् । पछिल्ला दिनमा नेपालमा पनि स्की खेलबारे चर्चा हुन थालेको छ । यस खेलको विकासले नेपालका हिमाली पथप्रदर्शकहरुलाई अन्तर्राष्ट्रिय प्रथप्रदर्शकको अनुमति प्राप्त (लाइसेन्स होल्डर) हुन् मद्दत पुग्ने उनले बताए । ​शेर्पाले नेपालमा विन्टर टुरिजम (जोडो यामको पर्यटन)को सम्भावना धेरै रहेको बताए । उनीसँग कर्पोरेट नेपालले गरेको कुराकानीको सारः 

नेपालमा स्कीको सम्भावना कस्तो छ ?
नेपालमा स्कीको सम्भावना निकै राम्रो छ । हिउँ परेको ठाउँहरुमा जहाँ पनि लैजान सकिन्छ । हामीले स्कीको तालिम कालिञ्चोक, सैलुङ, मुक्तिनाथ, मुस्ताङ, मेरापिक र लाङटाङ, खप्तड लगायतका ठाउँहरुमा दिइसकेका छौं । कालिञ्चोकमा स्कीको लागि भनेर विशेष ठाउँ नै बनेको छ । नजिकको क्षेत्र कालिञ्चोक, सैलुङ चाहिं स्कीको लागि राम्रो ठाउँ हो । गत वर्ष हामीले २० जनालाई तालिम दिएका थियौं । स्कीको माध्यमबाट नेपालमा ‘विन्टर टुरिजम’ प्रवर्द्धन गर्न सकिन्छ । सगरमाथा क्षेत्र अथवा अग्ला–अग्ला ठाउँहरुमा होटलहरु सञ्चालनमा आएको अवस्था छ । तर ती होटल, रेस्टुरेन्टहरु अरु बेला सञ्चालन भए पनि हिउँदमा बन्दा गर्ने । बर्खामा पहिरोका कारण पर्यटन प्रवर्द्धन गर्न त्यति सकिँदैन्, सुरक्षाको हिसाबले । विन्टर सिर्जनमा हामीले स्कीलाई प्रवर्द्धन गयो भने विन्टर टुरिजम प्रवर्द्धन गर्न सकिन्छ । सोहीअनुसार जनवरी र फेब्रुअरीलाई हामीले स्कीको महिना भनेर प्रवर्द्धन गर्ने योजना बनाएका छौं । 

Advertisement

स्कीको विकासका लागि तालिम दिएर पर्याप्त जनशक्ति पनि विकास गर्नुपर्यो नि । होइन् र ?  
भोलिका दिनमा तालिमका लागि पचासदेखि सय जना फारम भर्न आयो भने लट लट (चरण चरण) गरेर तालिम दिने योजना बनाएका छौं । सबैलाई तालिम लिने रुची हुन्छ । सबैको इच्छा हुन्छ । पहिलो लटमा २०–२५ जना, दोस्रो लोडमा २०–२५ जना र तेस्रो लटमा २०–२५ जना गरी जनवरी र फेब्रुअरीमा स्की गराउनसक्ने हिसाबले अवधारणा बनाएका छौं । अहिले ३० देखि ४० जनाले लेभल– १ र लेभल– २ को स्की सिकिसकेको अवस्था छ । उनीहरुलाई अझै तालिम दिएर नेपालमा जनशक्ति उत्पादन गर्नु जरुरी छ । जो कोही स्की गर्न चाहानेलाई कुराहरु सिकाउनुपर्यो । हामीलाई अहिले जनशक्ति नै चाहिने भएकाले जनशक्ति उत्पादनमा फोकस गरिरहेका छौं ।अहिले गियरहरु (स्की खेल्दा प्रयोग गरिने सामान)को पनि कमी छ हामीसँग । त्यही कारण हरेक वर्ष हामी गाइडहरुलाई यूरोप लान्छौं । विदेशीहरुसँग अनुरोध गरी एक जोर, दुई जोर गरेर बुट्स्, स्की संकलन गर्दैछौं । अहिले हामीसँग करिब २५ जोर मात्र गियर छ । त्यसैले हरेक वर्ष २५ जनासम्मलाई मात्र तालिम दिन सकिएको छ । भविष्यमा एक–दुई सय जोर भयो भने उपयुक्त ठाउँ जहाँ हुन्छ, त्यहाँ तालिम दिनेछौं । 

स्की तालिम कहिलेदेखि सुरु गर्नुभयो । अहिले कुन–कुन ठाउँमा तालिम दिने गर्नुभएको छ ? 
सन् २०१४ बाट हामीले अवधारण तयार गरी २०१५ बाट तालिम दिन सुरु गरेको हो । हरेक वर्ष सरकारको सहयोगमा नेपाल माउन्टेन एकेडेमीअन्तर्गत यो तालिम दिन थालेका हौं । स्कीको लागि अनुसन्धान चाहिं धेरै ठाउँहरुमा गरेका छौं । काठमाडौंबाट नजिक कालिञ्चोक, सेलुङमा हामीले दुई वर्ष तालिम गराइसकेका छौं । विन्टर सिर्जनको समयमा नेपालमा के गर्न सकिन्छ ? भन्दा स्की छ भन्न र गर्न पनि सकिन्छ । जब हामीले स्कीको तालिम दिन सुरु गयौं, नेपालमा त्यो बेलाको मान्छेहरुको सोच र अहिलेको मान्छेहरुको सोचमा धेरै परिर्वतन आएको छ । अहिले सबैले म पनि स्की खेल्छु, सिक्छु भन्न थालेको छ । त्यो बेलामा स्की भनेको के हो ? भन्ने थियो । अहिले स्की खेल्ने र सिक्नेहरुको संख्या बढेको छ । 

Advertisement

सन् २०१५ मा हामीले करिब १० जनाबाट तालिम दिन सुरु गरेका थियौं । त्यसरी हरेक वर्ष हामीले तालिम दिँदै आएका छौं । दुई वर्ष विन्टर सिर्जनमा लगभग सुख्खा भयो । हिउँ नै राम्रोसँग परेन । काम गर्न सक्किएन् । कुनै बेला १८ देखि २० जनालाई तालिम दिइसकेका छौं । यस वर्ष चाहिं २० जोर जति गियर छ । त्यही आधारमा तालिम दिन्छौं । अहिले जनवरी र फेब्रुअरीको लागि भनेर फारम खुल्ला गरेका छौं । छनोट गरिसकेपछि र हिउँ पर्ने बित्तिकै निर्णय गरेर स्कीको लागि जानेछौं । स्की खेल्न धेरै जनाले चासो देखाइरहेका छन् । करिब ६० भन्दा बढीले चासो देखाइरहेका छन् । 

स्की गराउन समस्याहरु के के छन् ?
मुल समस्या त गियर कै हो । । अहिले २५ जोर मात्र छ । सोही कारण सीमित संख्यालाई मात्रै तालिम दिन सकेका छौं । पहुँचको कुरा पनि छ । स्की गराउने ठाउँसम्म जाने बाटो भयो भने नेपालको जुनै ठाउँमा पनि लान सकिन्छ । जहाँ पनि प्रवर्द्धन गर्न सकिन्छ । स्कीको लागि जनशक्ति कम भएको छ । जनशक्ति नै उत्पादन गर्नुपर्ने भएकाले हाम्रो फोकस अलिकति हिमालमा खेलिरहेका व्यक्ति, हिमाल र हिउँसँग सम्बन्धित व्यक्तिलाई फोकस गरिरहेका छौं । तर भविष्यमा सय जोर जति गियर ल्याउन सक्यो भने अरुलाई पनि स्की खेलाउन सक्छौं । अहिले हामी तालिम दिने र जनशक्ति उत्पादन गर्नेमा छौं । नेपालमा स्कीको लेवल वान कार्यक्रम एक हप्ताको हुन्छ । त्यस अवधिमा थेउरी र प्राक्टिकल हुन्छ । स्कीको तालिमको लेवल वान नेपालमा हुन्छ । माउन्टेन गाइड जो प्रमाणित छन्, अन्तर्राष्ट्रिय लाइसेन्स होल्डर, उनीहरुले विदेशबाट लेवल टू सिकेको हुन्छ । उनीहरुलाई विदेशबाट तालिमको लागि बोलाउँछ । लेवल टूको लागि बोलाएर पढाउने प्रविधि, पढाउने तरिका फरक हुन्छ । स्विट्जरल्याण्ड र फ्रान्समा लेपल टू सिकिसकेपछि नेपालमा लेवल वानलाई पढाउन सक्षम हुन्छ । त्यसरी हामी जनशक्ति विकास गर्छौं । हामीले तालिम दिएर सक्षम बनाएका करिब ४५ जनाले लेवल टू सकिसकेको छ । हामीसँग एक जना महिला र ४४ जना पुरुष छन् । 

स्कीको लागि राम्रो ठाउँ कुन हो ? अगामी दिनमा नयाँ ठाउँ कहाँ स्कीको तालिम दिने योजना बनाउनु भएको छ ? 
तपाईंसँग प्रविधि, कला र ज्ञान छ भने स्की जहाँ पनि सिक्न सकिन्छ । एउटा उदाहरण ल्होत्सेको कुलर प्रख्यात कुलर हो । त्यहाँ त मान्छेहरुले स्की खेलिसकेका छन् । पाकिस्तानस्थित केटु हिमालमा मान्छेहरुले स्की खेलिसक्यो । यदि तपाईंसँग कला छ । स्कीसम्बन्धी प्रविधि छ भने जहाँ पनि खेल्न सकिन्छ । गोसाइकुण्ड आसपासमा अहिले हामीले अध्ययन गरेका छौं । सिन्धुपाल्चोकको आमायङ्ग्री कुनातिर पनि हेरिरहेका छौं । स्कीको लागि नजिक नजिकको ठाउँहरु हेर्दैछौं । गोरखातिर पनि हेर्दैछौं । भर्खर भर्खर सिक्दैगरेकालाई नजिकको ठाउँहरु हेर्दैछौं । अलिकति आधुनिक स्की खेल्नसक्नेलाई  पिकहरुमा प्रवर्द्धन गरौं कि भन्ने अवधारण तयार गर्दैछौं । मेरा पिकमा हामीले स्की गरिसकेका छौं । सात हजार मिटर उचाइको पिकहरुमा गर्न सकिन्छ । बरुन्टसे पिकमा पनि गर्न सकिन्छ । स्कीको लागि पुथा हिमचुली राम्रो हो । हिमलुङ हिमाल पनि राम्रो छ । बर्खे गाइड साथीहरुले स्की पनि खेलिसक्यो । आठ हजार मिटर उचाइमा रहेका हिमालमा पनि गर्न सकिन्छ । मनास्लु, मकालु हिमाल स्कीको लागि राम्रो क्षेत्रमा पर्छ । अरु पनि छन् । 

अहिलेसम्म यसको आसै प्रवर्द्धन गर्न नसक्नुको कारण के हो ? 
स्कीसम्बन्धी पूरै ज्ञान नभएर पनि हो । अहिले स्की कस्तो खेल हो ? के हो ? मान्छेहरुलाई थाहा छैन् ।खासमा स्कीले प्रदुर्षण गर्दैन् । खाली चारदेखि १० सेन्टिमिटर हिउँ पर्यो भन्ने त्यसमा स्की खेल्न सकिन्छ । परेको हिउँमा स्की खेल्ने हो । त्यसले केही असर गर्दैन् । यो राम्रो खालको विन्टर टुरिजमको माध्यम हो । 

स्की कुन उमेरकाले खेल्न मिल्ने खेल हो ?
जुनसुकै उमेरकाले पनि खेल्नसक्छ । मैले यसबारे धेरै अध्ययन गरेको छु । यूरोपबाट स्की सिकेको हुँ । त्यहाँ मैले दुई वर्षको बच्चादेखि लिएर ८० वर्षकाले पनि खेलिरहेको देखेको छु । त्यो भनेको कला हो । कला सिकिसकेपछि सबैले खेल्न सक्छ ।

तपाईं कसरी स्की क्षेत्रमा लाग्नु भयो ? पहिलो पटक स्की कहाँ खेल्नुभयो ?
पुथा हिमचुलीमा सन् २०१३ मैले एउटा एक्स्पेडिसन चलाको थिएँ । त्यसमा म गाइड थिए । गाइड गर्दैगर्दासम्म मलाई थाहा थिएन् स्की पनि खेल्न मिल्छ भनेर । अलिअलि मान्छेहरुले स्की खेलिरहेको देखेको थिएँ । मेरो विदेशबाट तीन जना विदेशीहरु (ग्राहकहरु) स्की खेल्न भनेर नेपाल आयो । उनीहरुमा एक जना चाहिं स्की नखेल्ने थियो । उनीहरुले स्की खेल्ने योजना बनाएर आएको रहेछ । स्की नखेल्ने समेत हामी सबै आरोहणमा गयौं । आरोहण गरिसकेपछि दुई जना खेल्नेहरु १५–२० मिनेटमा खेल्दै डाँडा कटेर गहिहाल्यो । स्की नखेल्ने मसँगै रह्यो । त्यसपछि यो राम्रो खालको खेल रहेछ भन्ने लाग्यो । यसलाई प्रवर्द्धन गरुँ भनेर अध्ययन गर्न थालें । स्कीमा फोकस गरेर हामीले २०१४ मा अवधारण बनाएर २०१५ देखि सुरु गर्यौं । जबकी नेपालमा स्कीको कुनै संस्कृति नै थिएन् । त्यसपछि हामीले योजना बनाएर यूरोपबाट विज्ञ बोलाएर इण्डियाको मनाली लग्यौं । दुई वर्ष त्यहाँ स्की चलायौं । त्यसपछि नेपालमै स्की सुरु गछौं भनेर सुरुवात गर्यौं । मैले स्विट्जरल्याण्ड गएर स्की खेलें । त्यहींबाट सिकें । मैले १० जना गाइडलाई तालिम दिने भनेर गियरको भाडादेखि यातायात र आवाससम्मको प्रयोजक खोजेको हो । अहिले हरेक वर्ष यूरोपमा गाइडहरुको स्की तालिमको लागि प्रायोजकको निमन्त्रणा आउँछ । त्यो निमन्त्रणा अनुसार मैले हरेक वर्ष तालिमको लागि लिएर जान्छु । सन् २०१५ देखि सुरु गरेर २०१८ बाट लेवल टूको लागि संलग्न गराइयो । त्यसरी निमन्त्रण गरेर ५२ दिनसम्म हरेक दिन बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म तालिम लिँदा त्यहाँका मानिसहरुले मलाई छुटै तिरिकाले हेर्ने गर्थे, नेपालीहरुसँग यस्तो खालको उर्जा हुँदो रहेछ भनेर । 

अहिलेसम्म तपाईंले कति उचाइसम्म स्की गर्नुभएको छ ? 
छ हजार चार सय मिटरसम्म, जस्तैः मेरा पिकसम्म गरेको छु । अहिले म सिकाउने काममा व्यस्त छु । भविष्यमा एकचोटी आठ हजार मिटर अग्ला हिमालमा प्रयास गरुँ कि ? भन्ने विचार छ । आठ हजार मिटरभन्दा अग्ला हिमाल १५ पटक आरोहण गरिसकेको छु । 

हिमाल आरोहण र साहसिक खेलका लागि भनेर धेरै पर्यटक नेपाल आउँछन् । तर स्की प्रवर्द्धन गर्न सकिएको छैन् । प्रवर्द्धन गर्न के गर्नुपर्ला ?
सरकारले एउटा नीति बनाउनुपर्छ । अहिलेसम्म नीति नियम छैन् । पहिला स्की गर्नको लागि योजना बनाउनुपर्यो । अहिले हिमाल आरोहणको एउटा अनुमति र स्कीको एउटा अनुमति गरेर दुई वटा अनुमति लिनुपर्ने अवस्था छ । त्यो कुराले विदेशीहरु अफ्यारो मानेर स्की गर्न खोज्दैन् । नेपालका हिमाल आरोहण गर्दा निश्चित रोयल्टी तिर्नैपर्यो । आरोहण मात्र गर्ने कि स्की पनि गर्ने ? भनेर दुई वटा टिक लगाएर अनुमति लिने व्यवस्था मिलायो भने झन्झट कम हुन्छ । हिमाल आरोहणको लागि छुटै फाइल बनाउनुपर्छ । छुटै प्रक्रिया छ । त्यहाँ पनि स्की पनि गर्छु भन्दा फेरि अर्को फाइल बनाउनुपर्छ । स्कीमा पनि ‘गार्बेज डिपोजिट’ (हिमालमा फोहोर गरेवापत राखिने धरौटी) राख्नुपर्छ । अर्को कुरा ‘लेजेन्ट अफिसर’ चाहिन्छ । त्यसमा अर्को खर्च गर्नुपर्छ । मेरो विचारमा एउटै व्यक्तिले स्की पनि गर्ने हिमाल आरोहण पनि गर्ने हो भने किन दुई वटा अनुमति ? आरोहण नगरी स्की गर्न मिल्दैन् । स्की गर्नको लागि आरोहण गर्नैपर्यो । आरोहण मात्र होकी स्की पनि हो ? भनेर टिक गर्ने व्यवस्था मिलायो भने राम्रो हुन्छ । विदेशीहरु मात्र नेपाल बोलाएर भएन् । त्यो भन्दाअघि प्रणाली राम्रो बनाउनुपर्यो । उनीहरुलाई सजिलो बनाउनुपर्यो । सहज बनाउनुपर्यो । मैले पो स्कीसम्बन्धी केही अध्ययन गरें । सुरुवात गरें । त्योसम्बन्धी बढी कुरा थाहा छ । नेपालमा धेरैलाई स्की थाहा नहुनसक्छ । सजिलो बनायो भने यसको प्रवर्द्धन गर्न सकिन्छ । धेरै पर्यटक स्कीको लागि भनेर भित्राउन सक्छौं । 

विदेशतिर कस्तो छ चलन ? 
विदेशतिर स्की धेरै प्रख्यात छ । हामीले नेपालमा हाइ स्की माउन्टिनिरिङ भनेर प्रवर्द्धन गर्नुपर्छ । विदेशीतिर स्कीलाई खेलकुदको रुपमा मान्छन् । उच्च हिमाली क्षेत्रमा स्की प्रवर्द्धन गर्न सक्यो भने भविष्यमा विदेशीहरुले धेरै मन पराउन सक्छन् । सारिबुङ पिक जस्तै आन्तर्राष्ट्रिय रुपमा छ हजार मिटर अग्लो उचाइमा स्की दौडको आयोजना गर्न सक्यो भने विश्वभर ठूलो प्रचार हुन्छ । विदेशीहरु दुई वर्षको उमेरदेखि स्की खेलेको हुन्छ । तर उनीहरुको इक्छा छ हजार मिटर अग्ला उचाइमा गएर खेल्छु भन्ने हुन्छ । नेपालको सरकारले त्यस खालको खेल आयोजना गर्नसक्यो भने विश्वभर राम्रो प्रचार हुन्छ । 

अब नेपालमा थप गियरहरु कसरी ल्याउनु हुन्छ ?
स्विट्जरल्याण्डमा साथीहरुलाई हरेक वर्ष एक–दुई वटा गियर सङ्कलन गर भन्छु । नयाँ चाहिं दिँदैन् । प्रयोग गरेको र अझ् ८–१० वर्ष काम लाग्ने राम्रै गियर साथीहरुले सङ्कलन गर्छन् । हरेक वर्ष आठ–नौ जना स्की तालिममा जाँदा उनीहरुले एउटा एउटा लिएर नेपाल ल्याउँछन् । विदेशबाट नेपालमा गियरहरु ल्याउन सजिलो बनाइदियो भने हाम्रोमा एक सय भन्दा बढी स्की र बोर्डहरु स्की गर्नेहरुलाई दिन सक्यो भने त्यसले स्कीलाई अझ् राम्रोसँग प्रवर्द्धन गर्न सकिन्छ ।