विद्युत कटौती भएपछि ठूला उद्योग समस्यामाः  ‘सरकार !  हामी मरणासन्न अवस्थामा पुग्यौं’- व्यवसायी

Advertisement

काठमाडौं । भारतको विहारबाट आयात भइरहेको बिजुली रोकिंदा नेपाल प्राधिकरणले ठूला उद्योगमा लोड कटौती गरेपछि पूर्व क्षेत्रका उद्योगीहरु आक्रोशित भएका छन् । 

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नं १ ले आज विज्ञप्ति प्रकाशित गरी उद्योग व्यवसायको सञ्चालनका लागी आधारभूत वस्तुका रुपमा रहेको विद्युत आपूर्तिमा विगत केहि समयतया भएको निरन्तरको अवरोधले उद्योग व्यवसाय सञ्चालनमा भएको कठिनाई प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरेका हुन् । 

Advertisement

विगतको अस्थिर र अन्यौलताको वातावरण, शिथिल अर्थतन्त्र एवं वित्तिय क्षेत्रको विद्यमान समस्याका कारण मारमा रहेको उद्योग व्यवसाय क्षेत्रमा दैनिक १० देखि १५ पटकसम्म हुने ट्रिपिङ तथा दैनिक रुपमा ७ देखि ८ घण्टासम्म विद्युत आपूर्तिमा भएको कटौतीले मरणासन्न अवस्थामा पुगेको नेपाल उद्योग परिसंघ, प्रदेश नं १ का अध्यक्ष भीम घिमिरेको भनाई छ । 

‘बैंक तथा वित्तिय क्षेत्रमा विद्यमान समस्या समाधानका लागी आन्दोलनरत नीजि क्षेत्र नयाँ सरकारको गठन भएसंगै समस्या समाधानमा सकारात्मक पहलहुने कुरामा आशावादी रहदै पर्ख र हेरको अवस्थामा पुनः विद्युत आपूर्तिमा अवरोध भई उद्योगी व्यवसायी माथि बज्रपात थपिएको छ । यसरी वित्तिय क्षेत्र, विद्युतको क्षेत्र लगायत एकपछि अर्को समस्याहरु थपिरहने, कहिले कुन बेला कस्तो अवस्था आउछ पूर्व अनुमान गर्न नसकिने अवस्था एकातिर रहेको छ भने यस्ता समस्या समाधानमा सरोकारवाला निकायबाट खासै उल्लेख्य काम नहुने अवस्थाले औद्योगिक क्षेत्रको सञ्चालन भगवान भरोसाको अवस्थामा पुगेको छ ।’, विज्ञप्तिमा लेखिएको छ ।  

उद्योग व्यवसाय क्षेत्र विद्यमान अघोषित विद्युत कटौती तथा ट्रिपिङको समस्या अविलम्ब समाधान गर्न माग मोरङ व्यापार संघका अध्यक्ष नबिल रिजालले माग गरे ।  

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेले वित्तिय क्षेत्रमा रहेको तरलता अभाव लगायतका बिषयहरुमा सुधार हुने संकेत देखापरेको यस्लाई पूर्णरुपमा रिकभर गर्न एवं यस्लाई स्थिर बनाउन दिर्घकालिन योजना बनाई नीजि क्षेत्रलाई उद्योग सञ्चालनका लागी वित्त वा उर्जा सबै क्षेत्रमा अनुमानयोग्य औद्योगिक नीति तथा अनुमानयोग्य उद्योगमैत्री वातावरण तयार गर्न नेपाल सरकार समक्ष जोडदार माग गरे । 

विहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा विद्युत कटौती

Advertisement

Advertisement