प्रधानमन्त्री दाहालले गलत गर्ने घरबेटी ठेकेदारलाई कारवाही गर्न निर्देशन दिइसक्नुभयोः श्रेष्ठ

Advertisement

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राज्यले जनतालाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने बताएका छन् । 

शुक्रवार सोह्रखुट्टे पानीपोखरी र नयाँ बजार क्षेत्रका सडक अनुगमन गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूले कसैको दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने काममा लाग्ने बताए । प्रधानमन्त्री पुष्पकमल दाहाललका घरबेटीले धेरै सडकहरुको बचिल्ली बनाएका छन्, उनलाई कारबाही गर्न सक्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा श्रेष्ठले प्रधानमन्त्रीले नराम्रो गर्ने कोहीलाई कारबाही गर्नसक्ने निर्देशन दिएको दावी गरे । 

Advertisement

उनले प्रधानमन्त्रीको निर्देशन नै आइसकेकाले प्रधानमन्त्रलाई उक्त कुरामा जोडेर नहेर्न आग्रह गरे । श्रेष्ठले सडकमा समस्या देखिएपछि भाग्ने नभई सरकारले र सम्बन्धित निकायले पूरा गर्नुपर्ने बताए । जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब नरहेको उनको भनाई छ । 

मन्त्री श्रेष्ठले भने, ‘म कोही घरबेटी, मित्र, कोही दाजुभाईसँग सम्बन्धित भएर काम गर्दिन । निरपेक्ष ढंगले काम गर्छुु । आवश्यकतालाई जो कोहीलाई पनि कारबाही गर्नुस् भन्नुभएको छ । त्यो प्रधानमन्त्रीको निर्देशन छ, त्यससँग प्रधानमन्त्रीलाई नजोडि दिनुहोला । राज्यले जनतालाई दिनुपर्ने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा हामी कसैसँग पनि सम्झौता गर्दैनाँै । समस्या देखिएपछि पूरा गर्नुपर्छ । छोड्नुभएन । के सहयोग चाहिन्छ त्यो सम्बन्धित निकायमा प्रश्ताव राखेर काम गर्नुपर्छ । हामी जनतालाई यस्तो सडक दिन सक्दैनौँ ।’

उनले सरकारले देशभरका सडकलाई चुस्त बनाउने र फुटपाथहरु पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा लागिसकेको बताए । श्रेष्ठले सडक कमभन्दा कम खन्न, सडक खन्दा निश्चित जानकारी गराउनुपर्ने र सडक भत्काइएका ठाउँमा तत्काल मर्मसंम्भार हुनुपर्ने बताए । 

उनले देशको राजधानीमा सडकको यस्तो दुरावस्था हुनु राम्रो नभएको बताए । श्रेष्ठले  सुशासन, यातायात व्यवस्था, भौतिक पार्क, पूर्वाधार आयोजनालाई व्यवस्थित र कार्यान्वयन गर्ने योजना बनाइरहेको पनि बताए ।

Advertisement

Advertisement