नियामकको कडाईले मात्र उधारो बीमा रोकिन्न, कम्पनीहरुले व्यवसायको होडबाजी छोड्नुपर्छः बज्राचार्य

Advertisement

काठमाडौं । ‘संचित बज्राचार्य’ नेपाली बीमा क्षेत्रको स्थापित र परिचित नाम हो । सानैदेखि व्यवस्थापन विषयमा रुची राख्दै आएका उनले विभिन्न बैंक, वित्तीय क्षेत्रमा करिव तीन दशक लामो अनुभव संगालेका छन् । बजाचार्यले आफ्नो अनुभवको १७ वर्ष बीमा क्षेत्रबाट संगालेका छन् । उनले विगत नौ वर्षदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सम्हाल्दै आएका छन् । बीमा क्षेत्रमा पहिलो कान्छो सीईओको इतिहास बनाएका बज्राचार्यसँग कर्पोरेट नेपालले गरेको कुराकानीः 

निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय कसरी अघि बढिरहेको छ ?
– नेपालमा निर्जीवन बीमा क्षेत्र पछाडी नै छ । मात्र यसलाई परिभाषित गर्ने तरिका फरक होलान् वा भन्ने भाषा फरक होला । त्यसको दह्रो उदाहरणका लागि हेर्नुस् हामीले आफ्नो घरकै बीमा गर्दैनौं । जोखिम त सबैको घरमा व्याप्त छ । तर, तपाईंले विदेशमा हेर्नुभयो भने हरेकको मोवाईल फोन पनि बीमा गरेर मात्र बोक्ने चलन छ । यहाँ नेपालमा त भूकम्पको लागि मात्रै बीमा गर्ने चलन छ । भूकम्पभन्दा बाहेकको अवस्थामा पनि घर तथा सम्पत्तिको क्षति हुने भएकाले बीमाप्रतिको सोचाई नै परिवर्तन गर्न जरुरी छ ।

Advertisement

मर्जरपछिको बीमा बजार कस्तो हुन्छ होला ?
– मर्जरपछि बीमा कम्पनीहरु बलियो हुन्छन् । बीमा कम्पनीहरुको क्षमतामा वृद्धि आउनु निश्चय नै राम्रो कुरा हो । कम्पनीले जोखिम धारण गर्ने क्षमता बढाउनु भनेको आफैमा राम्रो कुरा हो । जोखिम जहाँ पनि छ । सोही कारण उक्त जोखिम छ भनेर नै बीमा गर्ने हो । त्यसैले मर्जरपछि बीमा कम्पनीहरु बलियो हुने पक्का छ ।

बेलाबेलामा उधारो बीमाको कुरा आउने गर्छ । किन हुन्छ उधारो बीमा ? नियामक निकायको कडाई मात्रै समाधान हो र ?
– नियामकको कडाई मात्रले उधारो बीमा रोकिँदैन् । यसको लागि बीमा कम्पनीहरु नै सुध्रिनुपर्छ । उधारो बीमालाई नै अस्वस्थ प्रतिस्पर्धा भनिएको हुनसक्छ । व्यापार बढाउने होडबाजीमा बीमा कम्पनीहरुले उधारो बीमा गर्नुहुँदैन । अब त बीमाप्रतिको दृष्टिकोण नै बदल्नुपर्ने बेला भएको छ । अरुले गरेको व्यवसाय मात्रै खोस्ने काम मात्र भइरहेको छ । नयाँ क्षेत्र पहिचान गरेर एउटै भाग खोस्ने काम रोक्कियो भने उधारो बीमा रोक्किने मेरो अनुमान छ ।

माइक्रो इन्स्योरेन्स (लघुबीमा) तपाईंहरुको प्रतिस्पर्धी हो कि सहयोगी हो ? के जस्तो लाग्छ ?
– यो त बीमाकै एउटा रुप हो । स–साना क्षेत्रलाई समेटने हिसाबले माइक्रो इन्स्योरेन्स आउनलागेको हो । समग्रमा यसले बीमा बजारमा सकारात्मक प्रभाव पार्छ ।

मर्जर र माइक्रो इन्स्योरेन्सको कारण फेरि एकपटक कर्मचारी व्यस्थापन समस्या पर्ने हो कि ?
– मैले भन्नुभन्दा पनि सबैलाई थाहा भएकै कुरा यही हो कि बीमामा दक्ष जनशक्तिको अभाव छ । पछिल्लो समय बीमा शिक्षा बढाउन नयाँ तालिम केन्द्रहरु समेत खुलेका छन् । कुनै पनि कार्य अघि बढाईसकेपछि मानव संशाधनको व्यवस्थापन गर्नैपर्छ । त्यसको लागि म के भन्छु भने कर्मचारीहरुको सन्दर्भमा मेरो केही फरक धारणा छ । मलाई पुराना तथा अनुभवीभन्दा पनि नयाँ कर्मचारीहरुलाई समेत अवसर दिनुपर्छ भन्ने लाग्छ । आजको दिनमा मेरो कम्पनीमा पनि मैले गरिरहेको त्यही हो । बरु मैले सिकाइसकेपछि केही साथीहरुलाई अन्त तानेको अवस्था छ । माइक्रो इन्स्योरेन्सलाई कर्मचारीको केही समय अभाव हुनसक्छ । तर, कर्मचारीहरु नै नपाउने भन्ने अवस्था चाहिं छैन् । अब अनुभवी कर्मचारीहरु खोज्न समय लाग्ला । तर, माइक्रो इन्स्योरेन्समा कर्मचारी व्यवस्थापनले नै समस्या पार्ने हुँदैन भन्ने मेरो अनुमान छ ।

बीमा कम्पनीहरुमा एकबाट अर्कोमा कर्मचारीहरुको आवतजावत धेरै भएको पाइन्छ नि । किन होला ? 
– यसलाई पनि फरक ढंगले सोचौं भन्ने मलाई लाग्छ । एउटा कर्मचारी अर्को कम्पनीमा जानुभयो भने बाँकी रहेको अर्को नयाँ साथीले त अवसर पाउनुहुन्छ नि । सीईओले नै सबै काम आफैले गर्न भ्याउँदैन । तपाईंहरुले हेर्नुन सीईओले पनि आफ्नै ढंग पुर्याएर काम गर्दा नयाँ कर्मचारीहरुले पनि सिक्ने मौका पाउनुहुन्छ । सिकाउने परिपाटीको पनि विकास गर्नुपर्छ । अब बीमा क्षेत्रको कुनै पनि स्रोत व्यवस्थापन गर्दा गाली होस वा कारबाही, त्यो गर्नका लागि मात्र नभई त्यसले भोलि भविष्यमा समेत सकारात्मक प्रभाव पार्ने किसिमले प्रस्तुत गर्न जरुरी देखिएको छ । भन्नका लागि मात्र भन्नुभन्दा पनि त्यसबाट कसैले शिक्षा लिएर भोलि कार्यान्वयन गर्नसक्ने हिसाबले हामीले काम गर्न जरुरी हुन्छ । कुर्सीमा बसेको मान्छे भनेको त अरुलाई सिकाउनका लागि पनि हो । आफ्नो मात्र काम चलेको छ भनेर एउटा सीईओ वा कोही आउने जाने गर्छ भने त नयाँले कहिल्यै पनि अवसर नपाउने मैले देखेको छु । अड्किएको कामलाई अघि बढाउनुपर्छ । गाली मात्रै गर्ने हो भने त काम कहिल्यै अघि बढ्नैसक्दैन । बीमा क्षेत्रमा कम्पनी र कर्मचारीको चाहना मिल्यो भने मात्रै व्यवसाय बढ्छ ।

हवाई बीमा फस्टाउन नसक्नुको कारण के हो ? 
– हवाई बीमाको नेपालमा सुरुवात नै हामीले गरेका हौं । उक्त बीमाको समर्थनमा हामी रहँदैआएका छौं । नेपालका नाम चलेका धेरै हवाई बीमा कम्पनीहरुको जोखिम हामीले लिएको अवस्था छ ।
एउटा मोटरसाइकलको तेस्रो पक्ष बीमा जम्मा एक हजार ७५०रुपियाँमा गरिन्छ र बीमा गर्ने बित्तिकै मानिसको दुर्घटनामा मृत्यु भयो भने हामीले पाँच लाख रुपियाँसम्म दिनुपर्छ । त्यसैले बीमा कम्पनीहरुले हवाई जहाज लगायतका ठूला जोखिम आफूले लिने र त्यसको पुनर्बीमा गर्ने गर्छन् । हवाई बीमा फस्टाएन भन्नुमा चाहिं केही हदसम्म यसको जोखिम धेरै हुने भएकाले पनि हो । 

प्रभु इन्स्योरेन्समा नै नागरिकले किन बीमा गर्ने ?
– जहिले पनि कुनै काम गर्दा हामीले वास्तविकता थाहा पाउनुपर्छ । मेरो भनाईको तात्पर्य के छ भने बजारमा आफ्नो सामान सबैले ठिक छ भन्ने चलन हुन्छ । तर, ग्राहकले कुन सामान रुचाउनुभएको छ ? त्यो चाहिं महत्वपूर्ण कुरा हो । यसमा फेरि मैले अरुले गरेको व्यवसाय गलत हो भन्न खोजको होइन । तर, हामीले चाहिं समयमा दाबी भुक्तानी दिएर सही गरेको कुरा चाहिं पक्का हो । हामीले अनलाइन बीमाको सुरुवाती चरणदेखि नै समर्थन गर्दैआएका छौं । त्यसैले पनि ग्राहकरुले हामीलाई रोज्दै आउनुभएको छ । म त भन्छु बीमाको गुणस्तर सुर्धान हामी दिलोज्यान दिएर लागिरहेका छौं । हाम्रो कम्पनीको सेवा प्रवाह बजार सुहाउँदो र ग्राहकको रुची अुनसारकै छ । त्यसैले उहाँहरुले प्रभु इन्स्योरेन्सलाई रोज्नु भएको अवस्था छ ।

अन्तिममा के भन्न चाहानुहुन्छ ?
– बीमा गरेपछि पैसा नपाइने भन्ने हुँदैन । तर, बीमितले आफ्नो कागजाज भने राम्रोसँग अध्ययन गर्नुपर्छ । त्यस्तै, बीमा कम्पनीहरुले पनि पैसा पाउने आधारहरुका बारेमा बीमितलाई सुरुमै स्पष्ट पार्नुपर्छ । कुनै पनि बीमा कम्पनीले बीमितहरुलाई समयमा नै सही जानकारी दिनुपर्ने उसको दायित्व नै हो ।

Advertisement

Advertisement