मन्त्रीहरुलाई न्यूनतम् कार्यक्रम कार्यान्वयनका लागि एक हप्ताभित्र कार्ययोजना बनाउन निर्देशन

Advertisement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । बुधबार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो । 

मन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय बैठकले गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । बैठकले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि एक हप्ताभित्र कार्ययोजना निर्माण गरी मन्त्रिपरिषद बैठकमा पेश गर्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । 

Advertisement

मन्त्रिपरिषदमा पेश भएको कार्ययोजना पारित भएपछि त्यसलाई कार्यान्वयमा लैजाने गरी सो निर्देशन दिइएको पौडेलले बताए । बैठकले सरकारले प्रदान गर्ने विभुषणको स्पष्ट मापदण्ड तय गर्नका लागि समिति बनाउने निष्कर्ष पनि निकालेको छ । 

मन्त्रीपरिषद बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी बैठकले प्रतिक्विटल उखुको मूल्य ५४० रुपिया तोकेको छ भने सरकारले व्यहोर्ने ढुवानी भाडा ७० रुपियाँ निर्धारण गरिएको छ । 

त्यसैगरी कूटनीतिक नियोगलगायतका विदेशी प्रतिनिधिहरुलाई मन्त्रीहरुले भेटदा परराष्ट्र मन्त्रालयको प्रतिनिधिको उपस्थिति अनिवार्य गर्ने पनि निर्णय गरिएको छ । सरकार गठनको एउटा महत्वपूर्ण नीतिगत आधार सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम हो भन्दै पौडेलले त्यो नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम मन्त्रिपरिषदले कार्यान्वयन गर्ने भनेर यसअघि नै निर्णय गरिसकेको बताए । 

आजको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा सरुवा गर्ने निर्णय पनि गरिएको छ । 

Advertisement

Advertisement