नेपालमा उत्पादित विजुली नेपालमै खपत गर्ने वातावरण बनाइने

लगानीकर्ताको सम्पूर्ण सुरक्षाको जिम्मा लिन्छौं, अब ढुक्कसँग लगानी गर्नुस्ः उर्जामन्त्री

Advertisement

काठमाडौं । उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङदेनले सार्वजनिक कार्यक्रममा लामो समय पलेंटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट र समय आफूलाई नरहेको बताएका छन् । 

शुक्रवारबाट राजधानीको भृकुटीमण्डपमा शुरु भएको नेपाल इलेक्ट्रिक्स पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उनले प्रदर्शनीले नेपालमा राम्रा प्रविधिहरु भित्रााउन, नेपालको व्यापार प्रवद्र्धन र नेपालको विद्युत नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढंगका क्रियाकलापहरुमा सहयोग पुग्ने आशा व्यक्त गरे । 

Advertisement

लिङदेनले सरकारले लगानीमैत्री वातावरण बनाउने उल्लेख गर्दै अब उद्योग दर्तासम्बन्धी कुनै पनि प्रक्रियाहरुका फाइल घुमिराख्ने लालफित्ता साहीको अन्त्य हुने र रेड ट्यापिजमको अन्त्य गर्दै एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रियाको थालनी गर्ने बताए । 

उनले देशभित्रका उद्योगी, व्यापारीहरुलाई ढुक्कसँग लगानी गर्न र विदेशी उद्योगीहरुलाई पनि नेपालमा लगानीमैत्री वातावरण रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह गरे । लिङदेनले सरकारले लगानीकर्ताको सम्पूर्ण सुरक्षाको जिम्मा लिने र लगानीको पूर्ण ग्यारेन्टी गर्ने प्रतिवद्धता जनाए । 

उनले भने, ‘नेपालमा राम्रा प्रविधिहरु भित्र्याउन, नेपालको व्यापार प्रवद्र्धन र नेपालको विद्युत नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढंगका क्रियाकलापहरु यो एक्स्पोले अझै सहयोग गर्नेछ । कुनैपनि सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर, उपरखुट्टी लाएर बस्ने छुट र समय मलाई छैन । संक्षिप्त समय निकालेर म आएको छु । यो सरकारले लगानीमैत्री वातावरण बनाउँछ, अब उद्योग दर्ता र कुनैपनि कामहरु, प्रक्रियाहरु लामो जानुपर्ने फाइल घुमिराख्ने लालफित्ता साहीको अन्त्य हुन्छ, रेड ट्यापिजमको अन्त्य हुन्छ, एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रिया हामीले निर्धारण गर्न लागेका छौँ । देशभित्रका उद्योगी, व्यापारीहरुलाई ढुक्कसँग लगानी गर्न आग्रह गर्छु, नेपालमा लगानी गरौँ भन्ने विदेशी उद्योगीहरुलाई यहाँ आउनुहोस् नेपालमा लगानीमैत्री वातावरण छ, सरकारले सबै प्रकारको सुरक्षा गर्छ । सरकारले सबै जिम्मा लिन्छ, लगानी खेर जाँदैन, लगानीको पूर्ण ग्यारेन्टी हामी लिन्छौँ ।’
मन्त्री लिङदेनले नेपालको उर्जा नेपालमा नै खपत गर्ने कुरामा लाग्नुपर्ने बताए । उनले विद्युतीय सामग्रीहरुको बढी प्रयोग गरेर विद्युत खपत बढाउनुपर्ने बताए । लिङदेनले विद्युतीय सामग्रीको प्रयोग बढाउन सरकारले वातावरण बनाउनुपर्ने बताए । उनले देशभित्रै उद्योगधन्दा बढी भन्दा बढी खोल्ने वातावरण सरकारले बनाउने बताए । लिङ्देनले आगामी दिनमा देशमा उद्योगधन्दाको व्यापक बिस्तार हुनुपर्ने बताए । 

उनले भने, ‘नेपालको उर्जा नेपालमा नै खपत गर्ने कुरामा हामी सबै लाग्नुपर्छ, छिमेकीहरुसँग व्यापारको कुरा त छँदैछ तर देशभित्रै पनि यसको खपत बढाउनुर्छ । इलेक्ट्रिकल भेकलहरु चलाउनुपर्छ । त्यसलाई सरकारले सजिलो बनाउनुपर्छ । ग्याँसको ठाउँमा बिजुलीबाट खाना पकाउन थाल्नुपर्छ । अहिले पनि म भन्छु, ग्यासबाट खाना पकाउने खर्चको आधा खर्चमा बिजुलीले पाक्छ । इण्डक्शन चलाउनुपर्छ । देशभित्रै उद्योगधन्दाको स्थापना हुनुपर्छ । उद्योगीहरुलाई सरकारले लगानीको सुरक्षित हामी गर्छौं भन्ने वातावरण बनाउनुपर्छ । त्यसतर्फ हामी उन्मुख हुन्छौँ र देशमा व्यापक रुपमा उद्योगधन्दाको बिस्तार हुनुपर्छ ।’

मन्त्री लिङदेनले सरकारमा आफ्नो पार्टी प्रवेश गरेसँगै विभिन्न शंका र उपशंकाहरु गरिएको भन्दै सरकारमा बसेर शंकाहरु चिर्ने बताए । उनले थपे, ‘हामीप्रति अनेकप्रकारका शंका, उपशंकाहरु गरिएको छ । यो हाम्रो अग्निपरीक्षा हो । हामी खरो उत्रिएर उत्तिर्ण गर्छौं ।’ प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी सयभन्दा बढी स्टलहरु रहने बताइएको छ ।
 

Advertisement

Advertisement