वैदेशिक रोजगारीलाई शुन्यमा झार्ने बताएका श्रममन्त्रीले आफ्नो भनाई सच्याए

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न असम्भव भएको बताएका छन् । 

शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं वार्षिक साधरण सभामा उनले यसअघिको आफ्नो भनाई सच्याउँदै वैदेशिक रोजगारीलाई रोक्न नसकिने बताएका हुन् । यसअघि अर्यालले वैदेशिक रोजगारीलाई शुन्यमा झार्न आफू लागिपर्ने बताएका थिए । 

Advertisement

विश्वव्यापारीकरणको वर्तमान समयमा वैदेशिक रोजगारीलाई रोक्न असम्भव रहेको भन्दै उनले सुरक्षित, मर्यादित, व्यवस्थित तथा पारस्परिक लाभको क्षेत्र बनाउन प्रयास गर्न आवश्यक रहेको बताए । अर्यालले सरकारले वैदेशिक रोजगारबाट प्राप्त पुँजी, सीप र ज्ञानलाई आन्तरिक उत्पादन र उत्पादकत्व अभिवृद्धिमा परिचालन गर्ने बताए । 

मन्त्री अर्यालले बाध्यतात्मक वैदेशिक रोजगारीको वर्तमान यथार्थलाई सुखद् तस्बीरमा बदल्न प्रयास गर्ने बताए । उनले वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित व्यवस्थित बनाउँदै भविष्यमा वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई बाध्यात्मक नभएर स्वेच्छिक बनाउने वर्तमान सरकारको लक्ष्य रहेको बताए । 

अर्यालले सीप बिना वैदेशिक रोजगारीमा जाने अवस्थालाई परिवर्तन गर्दै प्राप्त ज्ञान सीपयुक्त र दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने गरी काम गर्ने बताए । उनले विदेश जानुअघि वा नेपालमा नै रोजगारी खोज्दै गर्दा जुन क्षेत्रमा जान चाहेका हौ त्यसमा सीप हासिल गर्न आवश्यक रहेको बताए । 

अर्यालले वैदेशिक रोजगार व्यवसायीहरुले विधिसंगत रुपमा व्यवसाय चलाउन आग्रह गरे । उनले विधिसंगत रुपमा व्यवसाय सञ्चालन गर्दा सरकारले वैदेशिक रोजगार व्यवसायलाई समान्नजनक व्यवहार गर्ने बताए । 

श्रमसचिव एकनारायण अर्यालले नेपाल सरकारले वैदेशिक रोजगारीको क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको बताए । उनले नेपालको वैदेशिक रोजगारी खाडी मुलुकमा मात्रै केन्द्रित भएको बताए । अर्यालले वैदेशिक रोजगार ऐन २०६४ को कारणले श्रमिकहरुले दुःख भोग्नुपर्ने अवस्था रहेको बताए । उनले अहिले नेपालले एक सय जना श्रमिक विदेश पठाउनैपर्ने विश्वमा कही नभए पनि नेपालको कानूनमा रहेको भन्दै वैदेशिक रोजगार ऐन तत्काल सुधार गर्नुपर्ने बताए । 

सचिव अर्यालले वैदेशिक रोजगारीमा गएका श्रमिकहरु सबैलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने तयारी रहेको बताए । 

Advertisement