कोरोना र डेगु संक्रमण घटेसँगै टेकु अस्पतालमा बिरामीको चाप न्यून

Advertisement

काठमाडौं । कोरोना महामारीको प्रभाव न्यून भएसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको संख्यामा निकै कमी आएको छ । 

पहिला कोभिड महामारी संक्रमणको समयमा र पछि डेंगु संक्रमण फैलिएको बेलामा निकै व्यवस्त र भीडभाडयुक्त बनेको टेकु अस्पताल अहिले भने शुन्य प्रायः देखिन्छ । 

Advertisement

वि.सं. १९९० सालको भूकम्पपछि देशभर फैलिएको हैजा महामारी रोकथाम तथा न्युनीकरण गर्न यो अस्पताल सञ्चालनमा ल्याइएको थियो । सरुवा रोगका विरामीहरुको उपचार गर्ने नेपालको धेरै सुविधा सम्पन्न स्वास्थ्य संस्थाको रुपमा चिनिएको टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले सामान्यतयाः गर्मीमा भन्दा जाडोमा सरुवा रोगका बिरामीको चाप कम हुने बताए । 

उनले भने, ‘कुनै महामारी फैलिएको समयमा भन्दा बाहेक गर्मीमा भन्दा जाडोमा बिरामी कमै हुन्छन् । मौसमअनुसार सरुवा रोग पनि फेरबदल हुन्छ र जाडो मौसमको तुलनामा गर्मीमा सरुवा रोग तीब्र फैलिने हुँदा अस्पतालमा बिरामीको चाप जाडो कमै हुने हो । 

पछिल्लो समय सरुवा रोग न्यून भए पनि जनावरको टोकाइले खोप लगाउन आउने बिरामीको संख्या दैनिक आठ सयदेखि हजारसम्म हुने गरेको उनले बताए । धेरै ठाउँमा फार्मेसी, क्लिनिक र अस्पतालहरु थपिएकाले पनि टेकु अल्पतालमा बिरामीको संख्या घटेको हुनसक्ने पुनको भनाई छ । 

साथै, उनले सरकारले वितरण गरेको खोपले मात्रै नभई सर्वसाधारण जनता आफै पनि सचेत भएकाले कोरोना भाइरसको जोखिम कम हुँदै गएको हुनसक्ने बताए । 

अस्पतालको एक्सरे विभागमा २८ बर्षदेखि कार्यरत सुदर्शन दाहालले सरुवा रोग तथा जनावर र लामखुट्टेको टोकाइका कारण उपचार गर्न आउने न्यून आयस्तरका बिरामीलाई सर्वसुलभ सेवा दिने भएकाले पनि टेकु अस्पतालमा अरुमा भन्दा धेरै बिरामी हुने बताउँदै तर पछिल्लो समयमा जाडो मौसम र कोभिड, डेंगु जस्ता सरुवा रोग फैलिने क्रम रोक्किएकाले पनि चाप कम भएको बताए । 

Advertisement

Advertisement