छ महिनामा धेरै नाफा कमाउने ‘टप फाइभ’ बैंकः कुनको वित्तीय अवस्था कस्तो ?

Advertisement

काठमाडौं । हाल सञ्चालनमा रहेका २२ वाणिज्य बैंक मध्ये २१ वटाले चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्त अर्थात दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । 

गत शनिवार प्रकाशित वित्तीय विवरण अनुसार सबैभन्दा बढी नबिल बैंकले नाफा कमाएको छ । उक्त बैंकले छ महिनामा ३ अर्ब ४१ करोड नाफा कमाएको हो । गत आवको समीक्षा अवधिभन्दा चालु आवमा ५६.६७ प्रतिशत नाफा बढाएको हो । 

Advertisement

त्यस्तै धेरै नाफा कमाउनेमा एनआईसी एशिया बैंक दोस्रो, ग्लोबल आइएमई बैंक तेस्रो, राष्ट्रिय वाणिज्य बैंक चौथो र एनएमबि बैंक पाँचौं नम्बरमा देखिएको छ । 

यी बैंकहरुले क्रमशः ३ अर्ब २७ करोड, २ अर्ब ७८ करोड, २ अर्ब ७१ करोड र १ अर्ब ९० करोड नाफा कमाउँदा गत वर्षको समीक्षा अवधिभन्दा क्रमशः ३६.२७, ४.४२, ५२.८८ र ११.०८ प्रतिशतले नाफा बढाएका छन् । 

चुक्ता पूँजीका आधारमा सबैभन्दा ठूलो ग्लोबल आइएमई बैंकले ४.४२ प्रतिशतमात्रै नाफा बढाएको हो । यी पाँच वाणिज्य बैंक मध्ये ग्लोबल आइएमईले हालैमात्र तत्कालीन बैंक अफ काठमाण्डू (बीओके) संग मर्ज गरी एकीकृत कारोबार शुरु गरेको छ । 

वाणिज्य बैंकहरुको वित्तीय विवरणः नबिलले सबैभन्दा बढी नाफा कमाउँदा कस्को कति ? (सूचीसहित)

टप फाइभ बैंकः कुनको अवस्था कस्तो ?
१. नबिल बैंक
नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म साढे तीन अर्ब खुद नाफा कमाएको छ । सो बैंकले शनिबार प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा तीन अर्ब ४१ करोड ७६ लाख रुपियाँ खुद नाफा कमाएको देखिएको छ । 

यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.६७ प्रतिशत बढी हो । गत आर्थिक बर्षको पहिलो छ महिनामा नविलले दुई अर्ब १८ करोड १४ लाख रुपियाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढेको हो । 

दोस्रो त्रैमाससम्म नविल बैंकको खुद ब्याज आम्दानी ८५.६३ प्रतिशत बढेको छ भने सञ्चालन आम्दानी ५६।९१ प्रतिशतले र सञ्चालन मुनाफा ५६.०६ प्रतिशतले बढेको छ । 

नाफासँगै नविल बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि एक रुपियाँ ६७ पैसा बढेर २५ रुपियाँ २६ पैसा कायम भएको छ । समीक्षा अवधिमा प्रतिशेयर नेटवर्थ १९९ रुपियाँ १२ पैसा रहेको छ ।

२. एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा खुद मुनाफा तीन अर्ब २७ करोड रुपियाँ आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको उक्त अवधिको अपरिस्कृत वित्तीय विवरणमा खुद नाफा ३६ प्रतिशतको वृद्धि भएको देखिएको हो । 

यस अवधिमा बैंकको स्व–पूँजीमा प्रतिफल (आरओई) २४.७५ प्रतिशत रहेको छ प्रतिशेयर आम्दानी (ईपीएस) ५६.७७ आर्जन गर्न सफल भएको छ । एनआईसी एशियाले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई दोस्रो त्रयमाससम्ममा शुन्य दशमलव ६१ प्रतिशतमा सीमित राख्न सफल भएको पनि बताएको छ । 

समीक्षा अवधिसम्ममा तीन लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३५ लाखभन्दा बढी ग्राहक पुर्याउन सफल भएको बताउँदै बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८५ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको जनाएको छ ।

साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरूभन्दा आफूहरु अग्रणी स्थानमा रहेको बैंकको भनाई छ । समीक्षा अवधिमा कुल कर्जा रकम २६६ अर्ब ६८ करोड र कुल निक्षेप संकलन ३०८ अर्ब ७० करोड पुर्याएको एनआईसी एशिया सबैभन्दा धेरै बैंकिङ सञ्जाल भएको बैंकहरुमध्येको एक हो । बैंकको मुलुकभर ३५९ शाखा, ४७३ एटिएम, १०५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल छन् ।

३. ग्लोबल आइएमई
सबैभन्दा ठूलो ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०७९÷८० को दोस्रो त्रैमाससम्ममा २ अर्ब ७८ करोड रुपियाँ खुद नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा उक्त तथ्याङ्क उल्लेख छ । 

गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ६६ करोड खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा खुद नाफा ४.४२ प्रतिशतले बढेको हो । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ११ करोड छ । बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ६ अर्ब ५४ करोड खुद ब्याज आम्दानी गरेको छ । 

बैंकको चुक्तापुँजी ३५ अर्ब ७७ करोड छ । रिजर्भ पनि ७१।१४ प्रतिशतले बढेर १८ अर्ब ३१ करोड पुगेको छ । समीक्षा अवधिसम्म बैंकले ४ खर्ब ३ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ६३ अर्ब कर्जा परिचालन गरेको छ । 

बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर २.९२ प्रतिशत पुगेको छ भने सीडी रेसियो ८९.४३ प्रतिशत रहेको बैंकको आधार दर १०.८० प्रतिशत छ । प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १८.०७ छ भने पीई रेसियो ११.६४ गुणा, प्रतिशेयर नेटवर्थ १५४.३४ रुपियाँ र तरलता अनुपात २३.०५ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ । 

बिग मर्जर’ पछि सबैभन्दा ठूलो भयो ग्लोबल आइएमई, २२ वाणिज्य बैंकमध्ये कसको चुक्ता पूँजी कति ?

४. राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म २ अर्ब ७१ करोड रुपियाँ नाफा कमाएको छ । गत आवको समीक्षा अवधिमा १ अर्ब ७७ करोड नाफा कमाएको थियो । गत आव भन्दा चालु आवको समीक्षा अवधिमा बैंकले ५२.८८ प्रतिशत नाफा बढाएको हो । 

गत आर्थिक वर्ष २०७८/७९ मा लगानीकर्तालाई १२ दशमलव पाँच प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको कुल चुक्ता पुँजी रू १५ अर्ब ६३ करोड छ भने देशका सबै जिल्लामा गरी दुई सय ६५ वटा शाखा कार्यालय, दुई सय ६९ वटा एटीएम, ५१ वटा एक्स्टेन्सन काउन्टरमार्फत् सेवा प्रवाह गरिरहेको छ ।

कुल ३८ लाख ६१ हजार ग्राहक सङ्ख्या भएको बैंकका एटीएम प्रयोगकर्ता सात लाख पाँच हजार, मोबाइल बैकिङ प्रयोगकर्ता १५ लाख ७१ हजार, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ता २० हजार पाँच सय र क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने प्रयोगकर्ताको संख्या २५ हजार पाँच सय रहेको छ । 

चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक अवधिसम्ममा बैंकको निक्षेप सङ्कलन रू दुई खर्ब ७२ अर्ब, कर्जा प्रवाह रू दुई खर्ब ३४ अर्ब र नेटवर्थ रू ३४ अर्ब ३४ करोड पुगेको छ । बैंकको निष्क्रिय कर्जा दुई दशमलव ७९ प्रतिशत, आधारदर नौ दशमलव २९ प्रतिशत र कर्जा निक्षेप अनुपात ८१ दशमलव ६५ प्रतिशत छ । 

चालू आर्थिक वर्षको अन्त्यसम्ममा कुल निक्षेप रू तीन खर्ब, कुल कर्जा रू दुई खर्ब ५८ अर्ब,  मुनाफा रू चार अर्ब ९७ करोड बनाउने बैंकको लक्ष्य छ । त्यस्तै शाखा संख्या तीन सय, ग्राहक संख्या ३९ लाख ७१ हजार पुर्‍याउने पनि बैंकको लक्ष्य छ । 

५. एनएमबि बैंक
एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ९० करोड खुद नाफा कमाएको छ । गत आवको समीक्षा अवधिमा १ अर्ब ७१ करोड खुद नाफा आर्जन गरेको थियो ।

बैंकको वितरण योग्य मुनाफा भने ६३ करोड ९७ लाख रुपियँ छ । त्यसैगरी १ खर्ब ९२ अर्ब ६३ करोड निक्षेप संकलन गरी १ खर्ब ८३ अर्ब ४३ करोड कर्जा प्रवाह गरेको छ । बैंकले चालु आवको दोस्रो त्रैमासमा ४ अर्ब ७७ करोड खुद संचालन मुनाफा आर्जन गरेको छ । 

हाल कायम चुक्ता पूँजी १८ अर्ब ३६ करोड, रिटर्न अर्निङमा १ अर्ब २३ करोड र रिर्जभमा ७ अर्ब ७ करोड मौज्दात रहेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको प्रतिशेयर आम्दानी २० रुपियाँ ७० पैसा, प्रतिशेयर नेटवर्थ १ सय ४८ रुपियाँ १० पैसा, प्रतिशेयर सम्पती १ हजार ३ सय ५७ रुपियाँ ५२ पैसा छ । 

वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा अनुपात २.२४ प्रतिशत, कर्जा निक्षेप अनुपात ८७.२७ प्रतिशत बेसरेट १०.६८ र स्प्रेडरेड ४.१९ प्रतिशत रहेको छ । 

राष्ट्रिय स्तरका विकास बैंक: तीन वटाको नाफा बढ्दा अरुको घट्यो (सूचीसहित)

Advertisement

Advertisement