आत्मदाह गर्ने उद्यमी आचार्यको न्यायका लागि सरकारबिरुद्ध प्रदर्शन, ‘यो देश हो कि बधशाला ?’

Advertisement

काठमाडौं । मंगलवार संसद भवन अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यको माग पूरा गर्न दबाब दिँदै सरकारबिरुद्ध बुधबार प्रदर्शन भएको छ । स्व.आचार्यको २५ बुँदै माग पूरा गर्न माग गर्दै उनीहरुले विरोध प्रदर्शन भएका हुन् ।

माईतीघर र बानेश्वर क्षेत्रमा आत्मदाह गर्ने आचार्यको माग पूरा गर्न उनीहरुले आग्रह गरेका थिए । विभिन्न पेशा, व्यवसायमा लाग्दा विकृत र भ्रष्ट राज्य प्रणाली, समाजमा रहेको बेथितिबाट असफलता पाई निराश भएका उनले मंगलबार आफूमाथि पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका थिए । 

Advertisement

इलामका ३७ वर्षीय आचार्यको बुधवार बिहान मृत्यु भएपछि उनका माग सम्बोधन हुनुपर्ने माग राख्दै युवाहरूले सरकारबिरुद्ध प्रदर्शन गरेका हुन् । विभिन्न व्यवसाय गर्नखोज्दा राज्य व्यवस्था र नीति नियम बाधक बनी आफूले काम गर्न नसकेको र आफूले काम गरेको ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएका कारण ठूलो ऋणभार बोक्नुुपरेको भन्दै आचार्यले ऋण तिर्नसक्ने अवस्था नभएकाले आत्मदाह गर्नुपरेको सामाजिक सञ्जालमा लेखेको लामो लेखमा उल्लेख छ । 

प्रदर्शनमा उत्रिएकी एक आन्दोलनकारीले मतदाताहरुले नयाँ शक्तिको रुपमा सत्तामा पुर्याएकाहरुले यो अवस्थाको सिर्जना गर्नहरुलाई कारबाही गरेर अघि बढ्न नसके देशले अझै ठूलो दुर्घटना भोग्नुपर्ने बताए । उनले बैंकहरुले उद्योगीहरुलाई दिने लोनहरुमा सहुलियत दिनुको ठाउँमा उल्टै कमिसन खाने जस्ता कुराहरुले उद्योगी, व्यवसायीहरु झनै पीडामा परेको बताइन् । 

आत्मदाह गरेका आचार्यलाई न्याय दिनुपर्ने माग गर्दै युवाहरूले सरकारबिरुद्ध विभिन्न नाराबाजीसमेत गरेका थिए । ‘यो देश हो कि बधशाला ?, अर्काे जल्दो शरीर मेरो नहोस्, अद्यमशील नेपाल नारा मात्रै हो ? प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दे, देशमै केही गर्छु भन्नु अपराध हो सरकार ? यो आत्महत्या होइन हत्या हो ? ठूला व्यापारी कसको आश्रयमा ? स्व.आचार्यका २५ बुँदे माग पूरा गर्’ लगायतका पम्प्लेट बोकेर बिरोध जनाएका थिए ।   

Advertisement

Advertisement