फिल्म महोत्सव चैत २ बाट, विश्वका धेरै चलचित्र एकै ठाउँमा हेर्न सकिने

Advertisement

काठमाडौं । अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सम्बन्धी कार्यक्रमलाई बोर्डले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक घोषणा कार्यक्रममा उनले महोत्सवलाई सफल बनाउन बोर्डले आवश्यक सहयोग गर्ने बताए । 

केसीले चलचित्र क्षेत्रका हकहीतसम्बन्धी विषयमा सरकार र सबै क्षेत्र र सम्बन्धित निकायसम्म विकास बोर्डले आफ्ना मागहरु राखिरहने बताए । उनले, ‘चलचित्र विकास बोर्डले यो कार्यक्रम सफल बनाउन शुरुदेखि नै हातेमालो गरिरहेको छ, यस पटक पनि गर्ने नै छ । चलचित्र क्षेत्रको हक,हीतलाई सुरक्षित गर्न आवाज उठाउने कुरामा बोर्ड सदैव रहनेछ ।’

Advertisement

कलाकार निर्मल शर्माले अन्तर्राष्ट्रिय जगतमा नेपालमा पनि राम्रा चलचित्रहरु बन्छन् र नेपाल पनि एउटा चलचित्रका लागि उपयुक्त स्थान हो भन्ने परिचयका लागि महोत्सवले ठूलो भूमिका खेल्ने बताए । उनले डेडिकेटेड चलचित्रहरुलाई प्लेटफर्म दिएर सुरक्षित बनाउन आग्रह गरे । 

शर्माले भने, ‘अन्तर्राष्ट्रिय जगतमा नेपालमा पनि राम्रा चलचित्रहरु बन्छन् र नेपाल पनि एउटा चलचित्रका लागि उपयुक्त स्थान हो भन्ने परिचय दिने काम गरेको छ । आफ्नो चलचित्रलाई कसरी सुरक्षित बनाउन सक्छन् ? लगानी कसरी उठाउन सक्छन् भन्नेकुरा राख्दिए हुन्थ्यो । डेडिकेटेड चलचित्रहरुलाई प्लेटफर्म दिएर उनीहरुलाई कसरी सुरक्षित गर्न सकिन्छ भन्ने हो ।’

त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले चलचित्र महोत्सव महोत्सव मात्रै नभइ कलाकर्मीहरुका लागि उर्जाको विषय भएको बताइन् । उनले भनिन, ‘फिल्मको महोत्सव, अवार्ड र सम्मान भन्नु नै कला र कलाकर्मीहरुको लागि एउटा उर्जा हो ।’

अभिनेत्री गौरी मल्लले महोत्सवमा नेपाली चलचित्रको बारेमा विदेशीहरुलाई प्रचार गर्न सक्नुपर्ने बताइन् । उनले नेपाली चलचित्र र नेपालको कला संस्कृतिको प्रचार गर्नसके नेपाली चलचित्रहरुले विदेशमा स्थान पाउने र लुकेका प्रतिभाहरुको खोजि पनि चलचित्र महोत्सवबाट हुनुपर्ने बताइन् । 

मल्लले भनिन्, ‘महोत्सव महोत्सव मात्रै नभएर बाहिरबाट आउने धेरै गन्यमान्य फिल्म क्षेत्रका व्यक्तित्वहरु हुनुहुन्छ । उहाँहरुसँग नेपाली सिनेमाका बारेमा पनि धेरै कुराहरु शेयर गर्न पाउनु हाम्रा लागि ठूलो कुरा हो । यसले हाम्रो देशमा भएका लुकेका प्रतिभाहरुले पनि राम्रो स्थान पाउँछन् । अन्तर्राष्ट्रिय स्तरमा हाम्रा सिनेमाहरुलाई लिएर जानसक्ने व्यक्तिहरुलाई उहाँहरुसँग बसेर कुराकानी गर्नसक्ने स्थान बनाइदिए धेरै राम्रो हुने थियो ।’

अभिनेता निर शाहले अन्तर्राष्ट्रिय स्तरका गुणात्मक चलचित्रहरु चयन गरेर नेपाली चलचित्रका बारेमा पनि विदेशीहरुलाई प्रचार गर्न सक्नुपर्ने बताए । उनले विश्वका धेरै चलचित्र एकै ठाउँमा बसेर हेर्न सकिने स्थान काठमाडौं रहेको बताए । शाहले नेपाल पनि राम्रा सिनेमा बनाउनसक्ने प्रशस्त सम्भावना भएको देश भएको बताए । 

उनले भने, ‘प्रत्येक वर्ष ३६५ दिन नै नेपालमा चलचित्र सम्बन्धी गतिविधिहरु हुने गर्दछन् । वर्ष कुन बेला सकियो, कुन बेला शुरु हुन्छ हेक्का नै हुँदैन । हरेक दिन केही न केही चलचित्रका नाममा भइ नै रहेको हुन्छ । अन्तर्राष्ट्रिय स्तरका गुणात्मक दृष्टिकोणले जुन प्रकारका सिनेमाहरु अन्तर्राष्ट्रिय चलचत्रि महोत्सवका दौरान दर्शकहरुले हेर्ने अवसर प्राप्त गर्छन्, त्यो गर्नका लागि एउटा मानिसले आधा जीवन खर्च गरेर करोडौं रुपैयाँ खर्च गर्दापनि प्राप्त गर्न नसक्ने खालको अवसर हो । त्यसलाई कसरी बुझेका छौँ । विश्वभरका यति धेरै गुणस्तरीय सिनेमा एकै ठाउँमा बसेर हेर्न पाइने विश्वमै थोरै ठाउँ मध्येको एउटा ठाउँ बन्नसक्यो काठमाडौं । नेपाल पनि उत्कृष्ट सिनेमा बनाउनसक्ने प्रशस्त सम्भावना बोकेको देश हो ।’

त्यस्तै निफका अध्यक्ष केपी पाठकले यसवर्ष महोत्सवका लागि राम्रा चलचित्रहरुको चयन गरेको बताए । उनले फिल्ममेकरहरुबाट अघिल्ला महोत्सवहरुमा साउण्डको समस्या आउने गरेको गुनासो आएको भन्दै यसपटक सिनेमाहरु सिनेमा थिएटरबाटै देखाउने बताए । पाठकले एउटा ठाउँमा मात्रै सिमित नगरी महोत्सवलाई उपत्यकाका तीन जिल्लामा नै प्रशारण गर्ने तयारी रहेको बताए । 

छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म हुनेछ ।

Advertisement

Advertisement