तीन सरकारी बैंकः राष्ट्रिय वाणिज्य बैंकको अवस्था सवल हुँदा अरु दुईको कस्तो ?

Advertisement

काठमाडौं । तीन सरकारी बैंक मध्ये राष्ट्रिय बैंकको अवस्था सवल देखिंदा अरु एकको नाफा घटेको छ भने अर्को बैंक ऋणात्मक अवस्थामा देखिएको छ । 

गत शनिबार यी बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार चालु आवको पुस मसान्तसम्म राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ७१ करोड नाफा कमाएको छ । गत वर्षको समीक्षा अवधिभन्दा यस आवमा ५२.८८ प्रतिशत नाफा घटाएको हो । 

Advertisement

त्यसैगरी नेपाल बैंकले १ अर्ब १७ करोड कमाउँदा १७.३९ प्रतिशत नाफा घटाएको छ भने कृषि विकास बैंकका १२ करोड ८९ लाख ऋणात्मक अवस्थामा देखिएको छ । उक्त बैंकले गत आवको समीक्षा अवधिमा १ अर्ब ४२ करोड नाफा कमाएको थियो । चालु आवमा १०९.०६ प्रतिशत नाफा घटेको हो । 

नेपाल बैंक र कृषि विकास बैंकमा नेपाल सरकारको शेयर स्वामित्व ५१ प्रतिशत रहेको छ भने वाणिज्य बैंकले हालसम्म सर्वसाधारणलाई शेयर बिक्री गरेको छैन । 

कस्तो छ सरकारी बैंकको वित्तीय अवस्था ? 
१. राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म २ अर्ब ७१ करोड रुपियाँ नाफा कमाएको छ । गत आवको समीक्षा अवधिमा १ अर्ब ७७ करोड नाफा कमाएको थियो । गत आव भन्दा चालु आवको समीक्षा अवधिमा बैंकले ५२.८८ प्रतिशत नाफा बढाएको हो । 

गत आर्थिक वर्ष २०७८/७९ मा लगानीकर्तालाई १२ दशमलव पाँच प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको कुल चुक्ता पुँजी रू १५ अर्ब ६३ करोड छ भने देशका सबै जिल्लामा गरी दुई सय ६५ वटा शाखा कार्यालय, दुई सय ६९ वटा एटीएम, ५१ वटा एक्स्टेन्सन काउन्टरमार्फत् सेवा प्रवाह गरिरहेको छ ।

कुल ३८ लाख ६१ हजार ग्राहक सङ्ख्या भएको बैंकका एटीएम प्रयोगकर्ता सात लाख पाँच हजार, मोबाइल बैकिङ प्रयोगकर्ता १५ लाख ७१ हजार, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ता २० हजार पाँच सय र क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने प्रयोगकर्ताको संख्या २५ हजार पाँच सय रहेको छ । 

चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक अवधिसम्ममा बैंकको निक्षेप सङ्कलन रू दुई खर्ब ७२ अर्ब, कर्जा प्रवाह रू दुई खर्ब ३४ अर्ब र नेटवर्थ रू ३४ अर्ब ३४ करोड पुगेको छ । बैंकको निष्क्रिय कर्जा दुई दशमलव ७९ प्रतिशत, आधारदर नौ दशमलव २९ प्रतिशत र कर्जा निक्षेप अनुपात ८१ दशमलव ६५ प्रतिशत छ । 

चालू आर्थिक वर्षको अन्त्यसम्ममा कुल निक्षेप रू तीन खर्ब, कुल कर्जा रू दुई खर्ब ५८ अर्ब,  मुनाफा रू चार अर्ब ९७ करोड बनाउने बैंकको लक्ष्य छ । त्यस्तै शाखा संख्या तीन सय, ग्राहक संख्या ३९ लाख ७१ हजार पुर्‍याउने पनि बैंकको लक्ष्य छ ।

२. नेपाल बैंक
नेपाल बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म १ अर्ब १७ करोड नाफा आर्जन गरेको छ । गत वर्षको समीक्षा अवधिमा १ अर्ब ४१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा नाफा १७.३९ प्रतिशतले घटेको हो  ।

बैंकको वितरणयोग्य मुनाफा १९ करोड ८३ लाखले ऋणात्मक रहेको छ । १ अर्ब ५१ करोड सञ्चालन मुनाफा आर्जन गरेको छ । बैंकले ३ अर्ब ८४ करोड रुपियाँ खुद ब्याज आम्दानी गरेको छ । 

बैंकको चुक्तापुँजी १५ अर्ब ६९ करोड रुपियाँ छ भने रिजर्भको आकार १३.३१ प्रतिशतले बढेर १९ अर्ब ९८ करोड पुगेको छ । 

बैंकले २ खर्ब १२ अर्ब निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब कर्जा परिचालन गरेको छ । बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर ३.११ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी (ईपीएस) १५.९३ रुपियाँ कायम भएको छ । बैंकको पीई रेसियो १८.३९ गुणा, प्रतिशेयर नेटवर्थ २३८.०२ रुपियाँ र तरलता अनुपात २४.६० प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ । 

३. कृषि विकास बैंक
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कृषि विकास बैंक ऋणात्मक अवस्थामा पुगेको छ । बैंकले गत शनिबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १२ करोड ८९ लाख रुपियाँ घाटा व्यहोरेको छ । 

बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६१ करोड रहेको छ । बैंकलाई ११ करोड १५ करोड सञ्चालन घाटा भएको छ । बैंकले ३ अर्ब ७२ करोड खुद ब्याज आम्दानी गरेको छ । बैंकको चुक्ता पुँजी १८ अर्ब ६२ करोड रुपियाँ रहँदा रिजर्भ बढेर ११ अर्ब ९५ करोड पुगेको छ । बैंकले १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । एनपीएल बढेर ४.५२ प्रतिशत पुगेको छ । 

सीडी रेसियो ८७.५४ प्रतिशत रहेको बैंकको आधार दर ११.०६ प्रतिशत रहेको छ। प्रतिशेयर आम्दानी (ईपीएस) ४.४३ रुपियाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ २०९.८२ रुपियाँ रहेको बैंकद्वारा सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । 

Advertisement

Advertisement