चुनाव नजिकिएको बेला उद्योग बाणिज्य महासंघका कर्मचारीहरु आन्दोलित

Advertisement

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग बाणिज्य महासंघभित्र महानिर्देशकको तलब एकै पटक दोब्बर वृद्धि गर्न लागेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् ।

हाल एक लाख २५ हजार तलब र ५० हजार भत्ता खाइरहेका महानिर्देशक गोकर्ण अवस्थीको तलब तीन लाख ५० हजार बनाउन लागेपछि उनीहरु रुष्ट भएका हुन् । 

Advertisement

विरोधका लागि कर्मचारीहरुले ट्रेड युनियन गठनको प्रक्रिया समेत अघि बढाएका छन् । युनियनसम्वद्ध एक कर्मचारीले भने, ‘संगठन दर्ताको सबै प्रक्रिया लगभग सक्किएको छ । चाँडै नै हामीले श्रम कार्यालयबाट प्रमाणपत्र पाउँछौं । त्यसपछि के कसरी आन्दोलन अघि बढाउने ? छलफल गरेर निर्णय हुन्छ ।’ 

युनियन दर्ता नगर्न आफूहरुलाई निकै दबाब आएको बताउँदै उनले थपे, ‘तर महासंघकै हितको लागि र महासंघमा काम गर्ने कर्मचारीहरुको भविश्यका लागि पनि संगठितरुपमा दबाब दिनुपर्ने परिस्थिति आएकाले हामीले ट्रेड युनियन दर्ता गर्ने निर्णयमा पुगेका छौं । यसमा कर्मचारीहरुबीच कुनै विवाद छैन् ।’ युनियनका प्रतिनिधिले महासंघको आम्दानी नबढ्ने तर फजुल खर्च भने निकै बढाउने काम भएको बताए । 

महासंघमा नयाँ नेतृत्वका लागि चुनावको मिति नजिकिएको बेला कर्मचारी आन्दोलित भएपछि पदाधिकारीहरुलाई नैतिक संकट परेको छ । महानिर्देशक अवस्थीले हाल एक लाख ७५ हजार महासंघबाट बुझ्दै आए पनि तीन लाख ५० हजारमध्येको बाँकी रकम महासंघका अध्यक्ष शेखर गोल्छाले व्यक्तिगतरुपमा उनलाई दिँदै आएका छन् । 

गोल्छाको कार्यकाल सक्किन लागेकाले उनले अवस्थीको पारिश्रमिक महासंघबाटै भराउने व्यवस्था गर्न लागेका हुन् । त्यस कुरामा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पनि सकारात्मक बनेको युनियन गठनमा लागेका महासंघका कर्मचारीहरुको भनाई छ । 

Advertisement

Advertisement