काठमाडौं । कर्पाेरेट नेपालमा नियमित राशिफल लेख्ने ज्योतिषी गुरु दिवाकर पन्तको नयाँ पुस्तक दिव्य वास्तु विज्ञान प्रकाशित भएको छ । उनको यो दोस्रो पुस्तक हो ।
यसअघि पन्तको दिव्य ज्योतिष विज्ञान नामक पुस्तक बजारमा आएको थियो । दिव्य वास्तु विज्ञान पुस्तकलाई गुडविल प्रकाशनले प्रकाशन गरेको हो । यो पुस्तक काठमाडौं उपत्यकाका प्रमुख प्रमुख धार्मिक पुस्तक पाइने पुस्तक पसलहरुमा उपलब्ध गराइएको प्रकाशक संस्था गुडबिल प्रकाशनले बताएको छ ।
उसले केही साताभित्रमा काठमाडौँ उपत्यका बाहिरका प्रमुख शहरहरुमा पनि पुस्तक वितरण हुने बताएको छ । यस पुस्तकमा वास्तुका विविध आयामलाई सुक्ष्म तरिकाले सामग्रीका रुपमा समावेश गरिएको लेखक पन्तले जानकारी दिए । नेपाली भाषामा एक आधिकारिक र विस्तृत वास्तु विषय समावेश गरी पुस्तक तयार पार्ने उद्देश्यले यस पुस्तक बजारमा ल्याइएको उनको भनाई छ ।
‘पाँच बर्षको मिहिनेतबाट यो पुस्तक तयार गरिएको हो’ लेखक पन्तले भने ‘विभिन्न वैदिक तथा ओमकार परिवारका धार्मिक साहित्यमा रहेका वास्तुबारेमा जानकारी सहित नेपाली दृष्टिकोण सहित यो पुस्तक तयार भएको छ ।’
पुस्तकमा हिमाली, पहाडी तथा तराई–मधेश क्षेत्रमा सदियौंदेखि रहेका वास्तुका विविध परम्परागत अभ्यासका बारेमा समेत बेग्लै शीर्षकमा चर्चा गरिएको छ । साथै वास्तु विषयमा गरिएको विस्तृत गहन अनुसन्धान समेत बेग्लै खण्डमा विशेष रुपमा समावेश गरिएको छ ।
लेखक पन्तले देशमा नै पहिलो पटक आधुनिक अनुसन्धान पद्दतिबाट वास्तु विषयमा सम्भवतः पहिलो पटक यति विस्तृत रुपमा अनुसन्धान भएको बताए । पुस्तकमा विभिन्न सात वटा मामिला अध्ययन अर्थात केस स्टडि पद्दतिबाट अनुसन्धान गरि समावेश गरिएको छ । ‘व्यावहारिक जीवनमा वास्तुदोष, परिणाम, उपाय र नतिजा’ शीर्षकमा यो अध्ययन गरिएको छ ।
पुस्तकको भाषा सम्पादन संस्कृत भाषाका ज्ञाता तिलकप्रसाद लुइटेलले गरेका हुन् । नौ खण्डमा विभक्त पुस्तकको खण्ड एकमा वास्तु परिचय शीर्षकमा विविध उपशीर्षक सहित जानकारी समावेश गरिएको छ भने खण्ड दुईमा नेपालमा वास्तु शीर्षकमा सामग्रीहरु रहेका छन् ।
त्यसैगरी, खण्ड तीनमा भूमि र वास्तु, खण्ड चारमा वास्तु र गृह, खण्ड पाँचमा वास्तु विविध, खण्ड छमा वर्तमान सन्दर्भमा वास्तु शीर्षकमा सामग्रीहरु समावेश गरिएका छन् । त्यसैगरी खण्ड सातमा व्यावहारिक जीवनमा वास्तु दोष, परिणाम, उपाय र नतिजा विषयमा अनुसन्धान समावेश छ ।
खण्ड आठमा वास्तुसम्बन्धी विविध जानकारी समावेश छ भने खण्ड नौमा परिशिष्ट शीर्षकमा लेखकका विषयमा जानकारीदेखि सन्दर्भ सामग्रीहरु राखिएका छन् ।
नेपाली भाषामा यस्तो वृहद् पुस्तक पहिलो पटक प्रकाशित भएको गुडविल प्रकाशनका कार्यकारी निर्देशक शिवसागर शर्माले बताए । उनले यस पुस्तक छिट्टै देशभर वितरण गरि पाठक समक्ष उपलब्ध गराइने पनि बताए । शर्माले ३२२ पृष्ठको यस पुस्तकको मूल्य ५९० रुपियाँ राखिएको जानकारी दिए ।
पुस्तकका लेखक ज्योतिषी गुरु चर्चित युवा ज्योतिषी, वास्तुविद्, पण्डित, हस्तरेखाविद्, आध्यात्मिक उत्प्रेरक तथा रत्नविद् हुन् । उनले नियमित रुपमा कर्पाेरेट नेपालमा पनि राशिफल दैनिक रुपमा लेख्दै आएका छन् । पन्तले स्वदेशी मात्र नभई पाश्चात्य देशका नागरिकहरुलाई समेत ज्योतिषीय सेवा दिँदै आएका छन् ।
अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त एजेन्सीले औपचारिक रुपमा अन्तर्राष्ट्रिय रुपमा बजारीकरण गरेका उनी पहिलो नेपाली ज्योतिषी हुन् । पन्तले दुई बर्षदेखि जापानीहरुलाई सेवा दिँदै आएका छन् भने कोरोनापछि नेपाल भ्रमणमा आएका अमेरिकी, वेलायती, क्यानेडाली, अष्ट्रलियाली लगायत विभिन्न युरोपेली देशका नागरिकहरुलाई सेवा दिएका छन् ।
युवा ज्योतिषी पन्तले आफ्नो पारिवारिक परम्परामा १५ औँ ज्योतिषीका रुपमा कार्यरत रहेको जानकारी दिए । उनको परिवारमा हरेक पिँढीको जेठो छोराले ज्योतिष तथा धर्म अध्यात्मकको क्षेत्रमा कार्यरत रहने परम्परा रहेको र आफू पनि सोही बाटोमा अनुशरित रहेको पन्तको भनाई छ ।